काठमाडौं । नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल र चर्चित मोडल तथा अभिनेत्री नीति शाहलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।
कम्पनीले ब्रान्ड प्रवर्द्धन, बजारीकरण र व्यवसाय विस्तारलाई थप प्रभावकारी बनाउने उद्देश्यले खेलकुद र मनोरञ्जन क्षेत्रका दुई चर्चित व्यक्तित्वलाई ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त गरेको जनाएको छ ।
नेपाल टेलिकमका अनुसार कुशल भुर्तेललाई २०८३ साउन २० गते आयोजित कार्यक्रममा ब्रान्ड एम्बेसडर नियुक्त गरिएको थियो भने नीति शाहलाई बिहीबार (२०८३ भदौ २५ गते) आयोजित कार्यक्रममा नियुक्त गरिएको हो ।
कार्यक्रममा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले खेलकुद र मनोरञ्जन क्षेत्रका स्थापित व्यक्तित्वसँगको सहकार्यले युवा पुस्तासहित आम नागरिकसँग कम्पनीको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरिन् ।
उनले यस्तो साझेदारीले कम्पनीको सामाजिक छवि अभिवृद्धि गर्न, सेवासुविधाको प्रचारप्रसारलाई प्रभावकारी बनाउन र व्यवसाय प्रवर्द्धनमा नयाँ ऊर्जा थप्ने अपेक्षा रहेको बताइन् ।
नवनियुक्त ब्रान्ड एम्बेसडरद्वयले देशकै ठूलो स्वदेशी लगानीको दूरसञ्चार कम्पनीसँग जोडिन पाउँदा आफूहरू गौरवान्वित र उत्साहित भएको प्रतिक्रिया दिएका छन् । उनीहरूले नेपाल टेलिकमको सामाजिक छवि सुदृढ बनाउन, सेवासुविधाको प्रचारप्रसार गर्न र ब्रान्ड प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपाल टेलिकमका अनुसार ब्रान्ड एम्बेसडरका रूपमा कुशल भुर्तेल र नीति शाहले स्वदेश तथा विदेशमा रहेका ग्राहकबीच कम्पनीका विभिन्न सेवा–सुविधाको प्रचारप्रसार र ब्रान्ड प्रवर्द्धनका गतिविधिमा सक्रिय भूमिका खेल्नेछन् ।