काठमाडौं । सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)को नयाँ आङ्गिक क्याम्पस स्थापना गर्ने तयारी अघि बढाएको छ ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेश प्रदेशमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न र इन्जिनियरिङ अध्ययनका लागि विद्यार्थी अन्य प्रदेशमा जानुपर्ने बाध्यता अन्त्य गर्न नयाँ क्याम्पस स्थापना गर्न लागिएको बताएका छन् ।
मधेस प्रदेशबाट हरेक वर्ष ठूलो संख्यामा विद्यार्थी इन्जिनियरिङ अध्ययनका लागि काठमाडौंलगायत अन्य प्रदेश जाने गरेका छन् ।
यसका कारण विद्यार्थी तथा अभिभावकमाथि अतिरिक्त आर्थिक भार पर्नुका साथै बसाइँ र अन्य व्यावहारिक समस्या समेत सिर्जना हुँदै आएको छ ।
मन्त्री पोखरेलका अनुसार नयाँ क्याम्पस स्थापनाका लागि उपयुक्त स्थान छनोट गर्ने प्रक्रिया अघि बढाइएको छ ।
स्थान छनोटका लागि विशेष अध्ययन समिति गठन गरिने र समितिको प्रतिवेदनका आधारमा क्याम्पस स्थापनाको स्थान तय गरिनेछ ।
क्याम्पस निर्माण तथा सञ्चालनको निश्चित समयसीमा तय भइनसके पनि आगामी तीन वर्षभित्र पठनपाठन सुरु गर्ने लक्ष्यसहित आन्तरिक तयारी भइरहेको मन्त्री पोखरेलले जानकारी दिए ।
सरकारले नयाँ क्याम्पसलाई परम्परागत शिक्षामा मात्र सीमित नराखी अनुसन्धान र नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्ने योजना बनाएको छ ।
आधुनिक प्रविधि, वैज्ञानिक अनुसन्धान, आविष्कार तथा त्यसको व्यावहारिक प्रयोगलाई प्राथमिकता दिइनेछ ।
मधेसमा आईओईको क्याम्पस स्थापना भएपछि यस क्षेत्रका विद्यार्थीले आफ्नै प्रदेशमा गुणस्तरीय प्राविधिक शिक्षा हासिल गर्ने अवसर पाउने सरकारको अपेक्षा छ ।
साथै स्थानीयस्तरमै अनुसन्धान र प्राविधिक नवप्रवर्तनको वातावरण निर्माण हुने विश्वास गरिएको छ ।
हाल त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानका आङ्गिक क्याम्पस पुल्चोक, थापाथली, धरान, चितवन र पोखरामा सञ्चालनमा छन् ।