नेपाल टेलिकमको अध्यक्षमा राजेन्द्रकुमार पौडेल नियुक्त

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को सञ्चालक समिति अध्यक्षमा राजेन्द्रकुमार पौडेल नियुक्त भएका छन् ।

नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ भदौ ३ गतेको निर्णयअनुसार कोशी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव पौडेल सूचना तथा सञ्चार मन्त्रालयमा सरुवा भएसँगै नेपाल टेलिकमको सञ्चालक समिति अध्यक्षमा नियुक्त भएका हुन् ।

नेपाल टेलिकमले कम्पनी रजिष्ट्रारको कार्यालयलाई पठाएको पत्रमार्फत सञ्चालक समिति अध्यक्ष परिवर्तन भएको जानकारी दिएको हो ।

कम्पनीको नियमावलीअनुसार नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयका सचिव नेपाल टेलिकमको सञ्चालक समिति अध्यक्ष रहने व्यवस्था छ । सोही व्यवस्थाअनुसार पौडेल अध्यक्ष बनेका हुन् ।

यसअघि नेपाल टेलिकमको सञ्चालक समिति अध्यक्षको जिम्मेवारी लक्ष्मी कुमारी बस्नेतले सम्हाल्दै आएकी थिइन् ।

पौडेलले २०८३ भदौ ११ गते गोपनीयता र इमान्दारिताको शपथसमेत लिएका छन् ।

नेपाल टेलिकमले कम्पनी ऐन, २०६३ को दफा ९२(३) बमोजिम अध्यक्ष परिवर्तन भएको जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई समेत गराएको छ ।

Share News