नेपालका आईटी कम्पनी र प्रतिनिधिहरू एपीआईसीटीए अवार्डमा सहभागी हुन ताइवान प्रस्थान

काठमाडौं । नेपाल सफ्टवेयर तथा सूचना प्रविधि सेवा कम्पनी संघ (नास-आईटी) ले एशिया प्यासिफिक सूचना प्रविधि एलायन्स (एपीआईसीटीए) अवार्ड २०२५ का लागि नेपालका आइटी कम्पनी  र प्रतिनिधिहरू ताइवान प्रस्थान गरेको जनाएको छ । सूचना प्रविधि अवार्ड २०२४ का श्रेणी विजेता तीन कम्पनीहरूले डिसेम्बर ५ देखि ८ सम्म आयोजना हुने यस प्रतिष्ठित अन्तर्राष्ट्रिय कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्ने जनाइएको छ ।  कार्यक्रममा उनीहरूसँगै तीन निर्णायक र अर्थ संयोजकसमेत रहेका चार प्रतिष्ठित व्यक्तिहरू पनि सहभागी छन् जसले अन्तर्राष्ट्रिय निर्णायक प्यानल र कार्यक्रम समन्वयमा आफ्नो विशेषज्ञता र नेतृत्व प्रदान गर्नेछन् । नेपाल प्रतिनिधित्व गर्ने कम्पनीहरू क्रिमसन टेक प्रालि, अल्पस टेक्नोलोजी प्रालि, र एड्रेसग्राफ नेपाल प्रालि रहेका छन् । यसैगरी निर्णायक प्रतिनिधिहरूमा रिचन श्रेष्ठ, संस्थापक अध्यक्ष, एनएएस–आईटी र प्रमुख कार्यकारी अधिकृत, क्विकफक्स टेक्नोलोजीज प्रालि, दीपन चापागाईं, उपाध्यक्ष, एनएएस–आईटी र देश निर्देशक, लगपोइन्ट नेपाल प्रालि, नारायण कोइराला, कार्यसमिति सदस्य, एनएएस–आईटी र प्रबन्ध निर्देशक, एमिनेन्स वेज प्रालि, सोनिया श्रेष्ठ, अर्थ संयोजक, एपीआईसीटीए अवार्ड र सचिवालय, एनएएस–आईटी रहेका छन् । संघले सहभागी कम्पनी, निर्णायक र प्रतिनिधिहरूलाई सफलताको शुभकामना व्यक्त गर्दै नेपाललाई प्रविधि र नवप्रवर्तनको विश्वव्यापी केन्द्र बनाउने प्रतिबद्धता दोहोर्‍याएको छ ।

बजारमा दुई दर्जन इन्टरनेट कम्पनी, कसको वर्चस्व कति ?

काठमाडौं । नेपाली बजारमा इन्टरनेट कम्पनीहरूको बाढी नै छ । करिव दुई दर्जन बढी कम्पनीहरू प्रतिस्पर्धामा छन् । उनीहरुले सेवा प्रवाहलाई गुणस्तरीय बनाउन भन्दा पनि ग्राहक संख्या बढाउन होडबाजी गरिरहेका हुन्छन् । वर्ल्डलिंक, डिसहोम, नेपाट टेलिकमसहित करिव दुई दर्जन कम्पनीको अहिले बजारमा हालिमुहाली छ । बजारमा प्रतिस्पर्धा गर्नेमध्ये सबैभन्दा बढि बजार हिस्सा वर्ल्डलिंकको रहेको नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।  प्राधिकरणकाअनुसार असोजसम्ममा बजार हिस्साको  हिसाबले वर्ल्डलिंकका सबैभन्दा ग्राहक छन् । वर्ल्डलिंकका ग्राहक १० लाख ३६ हजार पुगेका छन् भने इन्टरनेट कम्पनीहरूमा सबैभन्दा बढी बजार हिस्सा कायम गर्न सफल वल्र्डलिंक पछिको डिस होम हो । डिसहोमका ग्राहक ३ लाख ७७ हजार पुगेका छन् । बजार हिस्साको हिसावले तेस्रो नम्बरमा सरकारी लगानी रहेको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) रहेको छ । टेलिकमका ग्राहक ३ लाख ६० हजार पुगेका छन् । बजार हिस्साको रुपमा चौथो नम्बरमा भायनेट रहेको छ । बजार विस्तारमा आक्रामक देखिएको भायनेटका ग्राहक ३ लाख २५ हजार पुगेका छन् भने पाँचौ नम्बरमा क्लासिक टेक रहेको छ । क्लासिक टेकले असोज मसान्तसम्मा २ लाख ५९ हजार ग्राहक संख्या पुर्याएको छ । बजार हिस्साका रुपमा छैटौं नम्बरमा सुबिसु इन्टरनेट देखिएको छ । सुबिसुका ग्राहक २ लाख ५४ हजार पुगेका छन् भने सातौँ नम्बरमा वेभसफर देखिएको छ । अहिले बजारमा वेभसफरका ग्राहक १ लाख ७६ हजार रहेका छन् । यस्तै बजार हिस्साको हिसाबले आठौँ नम्बरमा टेकमाइन्सले देखिएको छ । टेकमाइन्सका ग्राहक १ लाख १५ हजार रहेका छन् भने नबौँ नम्बरमा वाइफाई नेपाल, दशौँ नम्बरमा सिजि कम्युनिकेशन रहेको छ ।  इन्टरनेट कम्पनीहरूले यसरी ग्राहक तानातानमा उत्रिएका छन् । अहिले पनि उपभोक्ता भने इन्टरनेट प्रयोगमा सन्तुष्ट देखिँदैनन् । इन्टरनेट प्रदायक कम्पनीहरूले इन्टरनेटमा देखिएका समस्याहरू समाधानमा समयमै समाधान गर्न चासो नदेखाउने गरेको गुनासाहरू गर्ने गरेका छन् । 

इन्फ्लुएन्जा ‘फ्लू’बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इन्फ्लुएन्जा (फ्लू)बाट बच्न आग्रह गरेको छ । मन्त्रालयले चिसो बढेसँगै इन्फ्लुएन्जा (फ्लू) सङ्क्रमण बढ्ने भएकाले बच्न आग्रह गरेको हो ।      जाडोमा धेरै सक्रिय हुने यो भाइरसले शिशुदेखि जवान, अधबैँसे र वृद्धवृद्धासमेत सबै उमेरका व्यक्तिलाई फ्लू लाग्न सक्छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले विशेष गरि बालबालिका, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसमा इन्फ्लुएन्जा भाइरस सङ्क्रमणको सम्भावना बढी हुने गरेको बताए ।  उनका अनुसार फ्लू भएका अधिकांश व्यक्तिलाई चिकित्सकको हेरचाह वा एन्टिभाइरल औषधि आवश्यक नपर्ने हुन्छ । तर दीर्घ रोगी, गर्भवती, वृद्धवृद्धा तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई फ्लूले धेरै असर गर्ने र अवस्था जटिल बनाउने भएकाले त्यस्ता व्यक्तिलाई स्वास्थ्यकर्मीको निगरानीमा राख्नुपर्ने हुन्छ । कसरी सर्छ ?      फ्लू भएका व्यक्तिले बोल्दा, खोक्दा, हाच्छिउँ गर्दा निस्किएका छिटा नजिकको व्यक्तिको नाक वा मुखमा परेमा भाइरस सर्न सक्छ । ती छिटा सासबाट फोक्सोमा पनि जान सक्छन् । भाइरस भएको कुनै सतह छोएर आफ्नो मुख वा नाक हुँदा पनि फ्लू लाग्न सक्छ । लक्षण      ज्वरो आउनु, टाउको दुख्नु, खोकी लाग्नु र घाँटी दुख्नु, नाक बन्द हुनु वा सिँगान बग्नु, जिउ र मांसपेशी दुख्नु, थकान महसुस हुनु हो ।  रोकथाम    बिरामी भएका व्यक्तिहरुसँग भौतिक दूरी राख्ने, खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्ने, शारीरिक रुपमा सक्रिय हुने र प्रशस्त तरल पदार्थ र पौष्टिक खाना खाने, सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्ने गर्नुपर्दछ । यस्तै बेलाबेलामा साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, आफ्नो आँखा, नाक वा मुख नछुने गर्नुपर्दछ । रासस