अगस्टमा नेपालमा ८५ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिए

काठमाडौं । सन् २०२६ को अगस्ट महिनामा नेपालमा ८५ हजार ४४४ जना विदेशी पर्यटक भित्रिएका छन् । यो संख्या गत वर्षको सोही महिनाको तुलनामा केही कम हो । सन् २०२५ को अगस्टमा नेपालमा ८८ हजार ६८० जना अन्तर्राष्ट्रिय पर्यटक आएका थिए । नेपाल पर्यटन बोर्डले अध्यागमन विभागबाट प्राप्त तथ्यांक सार्वजनिक गर्दै अगस्टमा भारतबाट सबैभन्दा धेरै पर्यटक नेपाल आएको जनाएको छ । तथ्यांकअनुसार अगस्टमा भारतबाट २६ हजार ३७३ जना पर्यटक नेपाल आएका छन् । यो कुल पर्यटक आगमनको ३०.८७ प्रतिशत हो । भारतपछि चीनबाट १० हजार ३०४ जना पर्यटक नेपाल आएका छन् । गत वर्षको अगस्टमा चीनबाट ७ हजार ५३३ जना पर्यटक आएकोमा यस वर्ष ३६.७८ प्रतिशत वृद्धि भएको बोर्डले जनाएको छ । त्यस्तै, श्रीलंकाबाट ८ हजार ७१० जना पर्यटक नेपाल आएका छन् । यो संख्या गत वर्षको तुलनामा ४६.२४ प्रतिशत बढी हो । अमेरिकाबाट ६ हजार २९३ जना, बंगलादेशबाट ४ हजार ४८७ जना र बेलायतबाट ३ हजार ४७६ जना पर्यटक नेपाल आएका छन् ।   क्षेत्रगत रूपमा हेर्दा अगस्टमा दक्षिण एसियाबाट ४१ हजार ४२२ जना पर्यटक नेपाल आएका छन् । अन्य एसियाली मुलुकबाट १८ हजार २७५ जना, युरोपबाट १० हजार ८७५ जना र ओसियानिया क्षेत्रबाट २ हजार ५२९ जना पर्यटक आएका छन् । ओसियानियाबाट आउने पर्यटक संख्या गत वर्षको तुलनामा ३.८६ प्रतिशत बढेको छ । त्यस्तै, अमेरिकी महादेशबाट ७ हजार ४७३ जना पर्यटक नेपाल आएका छन्, जुन गत वर्षको तुलनामा २.४७ प्रतिशत बढी हो । मध्यपूर्वबाट १ हजार १० जना पर्यटक आएका छन् भने यो क्षेत्रमा ६.९९ प्रतिशत वृद्धि भएको छ। अफ्रिकाबाट ३३८ जना पर्यटक नेपाल आएका छन्, जुन गत वर्षको तुलनामा ४.९७ प्रतिशत बढी हो ।  नेपाल पर्यटन बोर्डका अनुसार अगस्ट २०२६ मा केही प्रमुख बजारबाट पर्यटक आगमन उल्लेख्य रूपमा बढेको छ । रुसबाट ७६९ जना पर्यटक आएका छन्, जुन गत वर्षको तुलनामा ५१.३८ प्रतिशत वृद्धि हो । युक्रेनबाट २१६ जना पर्यटक आएका छन्, जहाँबाट आगमन ८३.०५ प्रतिशत बढेको छ । त्यस्तै, कम्बोडियाबाट ६८ जना पर्यटक आएका छन्। यो संख्या गत वर्षको तुलनामा २७७.७८ प्रतिशत बढी हो । भुटानबाट १ हजार २८८ जना पर्यटक नेपाल आएका छन्, जहाँबाट आगमन ४९.२५ प्रतिशत बढेको छ । मलेसियाबाट १ हजार ६१८ जना र थाइल्यान्डबाट ६८१ जना पर्यटक आएका छन् । यी दुई बजारबाट क्रमशः १३.०७ प्रतिशत र १९.८९ प्रतिशत वृद्धि भएको पर्यटन बोर्डले जनाएको छ ।

अदालतको आदेश बेवास्ता गर्दै वीरगञ्जको टेलिकम भवन भत्काएको भन्दै नेपाल टेलिकमको आपत्ति

काठमाडौं । वीरगञ्जस्थित दूरसञ्चार कार्यालयको भवन एकपक्षीय रूपमा भत्काइएको भन्दै नेपाल टेलिकमले गम्भीर आपत्ति जनाएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले दूरसञ्चार कार्यालयको भवन भत्काएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको टेलिकमले जनाएको हो । टेलिकमका अनुसार उक्त भवनमा दूरसञ्चार सेवा स्थापना कालदेखि नै अन्तरदेशीय सञ्चार सम्बन्ध स्थापित गर्ने संवेदनशील उपकरणसमेत रहेका छन् । यस्तो संवेदनशील सार्वजनिक पूर्वाधारमा क्षति पुर्‍याइएको कम्पनीको भनाइ छ । टेलिकमले भवन भत्काउने विषयसम्बन्धी मुद्दा उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा विचाराधीन रहेको जनाएको छ । अदालतबाट भएका आदेशलाई समेत पूर्ण रूपमा बेवास्ता गरी भवन भत्काइएको कम्पनीको आरोप छ । सडकको मध्यविन्दु निर्धारण गर्दा घण्टाघरलाई आधार मानिनुपर्ने दाबीसहित अदालतमा रिट निवेदन विचाराधीन रहेको टेलिकमले जनाएको छ । अदालतले भदौ ४ गते अन्तरिम आदेशसम्बन्धी छलफलका क्रममा साविकको २५ मिटर मापदण्डअनुसार संरचना यथास्थितिमा राख्नुपर्ने कानुनी स्थिति स्पष्ट पारेको कम्पनीको भनाइ छ । अदालतको अन्तिम निर्णय र कानुनी प्रक्रिया पूरा हुनुअघि नै भवन भत्काइनु कानुनी शासन र प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएको टेलिकमले जनाएको छ । कम्पनीले स्वीकृत मापदण्डभित्र रहेर आफ्ना संरचना आफैं व्यवस्थित तथा पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाउँदै आएको पनि विज्ञप्तिमा उल्लेख छ । त्यसका बाबजुद पूर्वाग्रहपूर्ण ढंगले भवन भत्काइएको टेलिकमको आरोप छ । त्यस्तै, सडकको मध्यबिन्दुबाट दायाँ–बायाँ २५–२५ मिटरभित्र पर्ने संरचना हटाउने सम्बन्धमा सडक डिभिजन कार्यालयले वैशाख २२ गते गरेको नापजाँचसमेत पालना नगरेको टेलिकमले जनाएको छ । कार्यालयले टेलिकम भवनतर्फ मापदण्डभन्दा बढी भाग भत्काएको र थप संरचना भत्काउन लागेको विषय गम्भीर रहेको कम्पनीको भनाइ छ । दूरसञ्चारजस्तो अत्यावश्यक तथा संवेदनशील सार्वजनिक पूर्वाधारमा भएको क्षतिप्रति सम्बन्धित निकाय जिम्मेवार हुनुपर्ने टेलिकमले जनाएको छ । साथै, आगामी दिनमा सम्बन्धित निकायले कानुनी मर्यादा पालना गर्दै थप समन्वय र जिम्मेवार सहकार्य गर्ने अपेक्षा कम्पनीले गरेको छ । नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेद्वारा जारी प्रेस विज्ञप्तिमा यस्तो जानकारी दिइएको हो ।

बाढी प्रभावित क्षेत्रमा रोग फैलिने जोखिम उच्च

काठमाडौं । उत्तर–पूर्वी सीमावर्ती तिब्बत क्षेत्रबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित हिमाली तथा पहाडी भेगमा दोस्रो ठूलो विपद्का रूपमा स्वास्थ्य सङ्कट देखिने खतरा बढेको छ ।  बाढीका कारण ठूलो संख्यामा जनधनको क्षति हुनुका साथै मृत मानव शव र पशुचौपायाहरू कुहिन थालेपछि समुदायस्तरमै महामारी फैलिने उच्च जोखिम सिर्जना भएको हो ।  परिस्थिति गम्भीर बनेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्भावित जोखिम न्यूनीकरणका लागि आफ्ना सबै मातहतका निकाय तथा महाशाखाहरूलाई परिचालन गरेको छ ।   स्वास्थ्य अधिकारीहरूका अनुसार बाढी प्रभावित क्षेत्रमा पानीका मुहानहरू तीव्र रूपमा प्रदूषित बनेका छन् । दूषित पानी र वातावरणमा फैलिएको दुर्गन्धका कारण झाडापखाला, हैजा, हेपाटाइटिस ‘ए’ जस्ता पानीजन्य रोगका साथै फोहोर र जमेको पानीबाट लामखुट्टेको वंशवृद्धि भई डेंगु र औलो जस्ता कीटजन्य रोग फैलिने खतरा बढेको छ ।   बाढी प्रभावित क्षेत्रमा आकस्मिक तथा अन्य स्वास्थ्य सेवाको मन्त्रालयबाटै समन्वय गरिरहेका डा. समीरकुमार अधिकारीले अबको मुख्य चुनौती भनेको विस्थापितहरूको स्वास्थ्य सुरक्षा, पोषण, खोप, खानेपानी र मनोसामाजिक परामर्श रहेको बताए । ‘बाढीका कारण धेरै नागरिक विस्थापित भएका छन्,’ डा. अधिकारीले भने, ‘उनीहरूमध्ये धेरैले उच्च रक्तचाप, मधुमेहजस्ता दीर्घ रोगको नियमित औषधि सेवन गरिरहेका हुन सक्छन् ।’ ‘यस्तो अवस्थामा उनीहरूको नियमित स्वास्थ्य सेवा र औषधिको निरन्तरतामा ध्यान दिनु आवश्यक छ । यसका साथै सर्वस्व गुमाएका प्रभावितहरूका लागि यतिबेला मनोसामाजिक परामर्श अति अत्यावश्यक छ, जसका लागि हामीले मन्त्रालयका सबै संयन्त्रलाई द्रुत गतिमा खटाएका छौं,’ उनले भने ।  सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले पनि बाढीपछि समय बित्दै जाँदा शवहरू कुहिएर ब्याक्टेरिया तथा भाइरसको सङ्क्रमण फैलिने जोखिम झनै बढ्ने चेतावनी दिएका छन् ।  बाढीबाट जोगिएका र शिविरहरूमा बसेका नागरिकहरूलाई सुरक्षित खानपान र सफा पानीको व्यवस्थापन गर्नु राज्यको पहिलो दायित्व हुने डा. पुनको भनाइ छ ।  रसुवाको लिङलिङमा सेना र ट्रमा सेन्टरको संयुक्त टोली   उद्धार र उपचारलाई चुस्त बनाउन नेपाली सेना र राष्ट्रिय ट्रमा सेन्टरको संयुक्त चिकित्सकीय टोली दुर्गम प्रभावित क्षेत्रसम्म पुगेको छ ।  नेपाली सेनाका क्याप्टेन डा. कुलदिप त्रिपाठीको नेतृत्वमा राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ चिकित्सकहरू डा. सरोजकुमार गोहिवार र डा. राजीव खड्का सम्मिलित टोली रसुवाको गोसाईंकुण्ड गाउँपालिका–३ स्थित लिङलिङ पुगेर बिरामीको उपचारमा जुटिसकेको छ । टोलीले हालसम्म ५० भन्दा बढी स्थानीय नागरिकको प्रत्यक्ष उपचार गरिसकेको छ । उपचारमा खटिएका डा. सरोजकुमार गोहिवारका अनुसार स्थानीय तहमा झाडापखालाका प्रारम्भिक बिरामीहरू देखिन थालेका छन् ।  ‘विपद्को ठूलो झट्काका कारण धेरैजसो स्थानीयमा डर र त्रास पैदा भई ‘पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर’ अर्थात् गम्भीर मानसिक आघातको समस्या पाइएको छ,’ डा. गोहिवारले भने । यसैगरी, उच्च रक्तचाप, मधुमेह र हाडजोर्नी दुख्ने पुराना बिरामीहरू औषधि अभावका कारण थप समस्यामा परेका छन् । बाढीका कारण विद्युत् सेवा अवरुद्ध हुँदा सञ्चार सम्पर्कका लागि मोबाइल चार्ज गर्ने सुविधा, खाद्यान्न र नियमित औषधिको चर्को अभाव खड्किएको छ । स्वास्थ्य जोगाउन सावधानी अपनाउन अपिल बाढीपछि महामारीको जोखिमबाट जोगिन स्वास्थ्य मन्त्रालय र विशेषज्ञहरूले प्रभावित क्षेत्रका नागरिकलाई व्यक्तिगत र वातावरणीय सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेका छन् ।  उमालेको वा पीयूष/क्लोरिन हालेर शुद्धीकरण गरिएको पानी मात्र पिउने,  बाढीको दूषित पानीको सम्पर्कमा आएको वा बासी–कुहिएको खाना पूर्ण रूपमा बर्जित गर्ने, खाना खानुअघि, बालबालिकालाई खवाउनुअघि र शौचालय प्रयोग गरेपछि साबुनपानीले अनिवार्य हात धुने, घर र अस्थायी शिविर वरपर पानी जम्न नदिने, बालबालिकालाई बाढीको धमिलो पानी र फोहोर ठाउँमा खेल्न नदिनेजस्ता उपाय अपनाउन आग्रह गरेका हुन् । स्वास्थ्य मन्त्रालयले प्रभावित क्षेत्रमा कुनै पनि व्यक्तिमा झाडापखाला, उच्च ज्वरो वा हैजा जस्ता लक्षण देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य चौकी वा खटिएका चिकित्सकसँग सम्पर्क गर्नसमेत भनेको छ ।  साथै स्वास्थ्यसम्बन्धी कुनै पनि जानकारी, परामर्श वा आपत्कालीन सहयोगका लागि सरकारको निःशुल्क हेल्पलाइन १११५ मा २४ सै घण्टा सम्पर्क गर्न सकिने जनाइएको छ ।