बाढी प्रभावित १२० साइटमध्ये ११३ साइट पुनः सञ्चालनमा

काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रमा थप तीनवटा दूरसञ्चार साइट सञ्चालनमा ल्याएको छ । मंगलबार धादिङको कल्लेरी तथा नुवाकोटका भद्रटार थप्रेक र पुसनटार साइट पुनः सञ्चालनमा आएका हुन् ।

टेलिकमका अनुसार कल्लेरी साइट सञ्चालनमा आएपछि आदमघाट, पिपलटार, सुनौलाबजार, घुमाउने डाँडा, कल्लेरी र बेल्टार आसपासका सेवाग्राही लाभान्वित हुनेछन् ।

त्यस्तै, भद्रटार थप्रेक साइटबाट पञ्चकन्या, थप्रेक, महाकाली, समुद्रादेवी र रालुकादेवी क्षेत्रका सेवाग्राहीले दूरसञ्चार सेवा पाउनेछन् ।

पुसनटार साइट सञ्चालनमा आएपछि पिपलटार, देवीघाट, माझीगाउँ, सिरखाली र भुवानीबेंसीलगायत क्षेत्रका सेवाग्राहीमा नेटवर्क सेवा पुगेको टेलिकमले जनाएको छ ।

यी तीन साइट सञ्चालनमा आएसँगै बाढीबाट प्रभावित १२० साइटमध्ये ११३ साइट पुनः सञ्चालनमा आएका छन् । यससँगै प्रभावित अधिकांश क्षेत्रमा दूरसञ्चार नेटवर्कको पहुँच पुनःस्थापित भएको नेपाल टेलिकमले जनाएको छ ।

टेलिकमले आंशिक क्षमतामा सञ्चालन भइरहेका साइटलाई पनि क्रमिक रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने काम जारी रहेको जनाएको छ ।

Share News