एनसेलले बढायो निःशुल्क सञ्चार सेवा, १८ मोबाइल टावर पुनः सञ्चालनमा
काठमाडौं । एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको अवधि थप सात दिन बढाएको छ। शनिबारदेखि लागू हुने गरी सेवा अवधि थपिएसँगै प्रभावित क्षेत्रका ग्राहकले थप एक सातासम्म यी सेवा निःशुल्क प्रयोग गर्न पाउने भएका छन्। यसअघि कम्पनीले बाढी प्रभावित क्षेत्रमा तीन दिनका लागि निःशुल्क डेटा, सबै नेटवर्कमा भ्वाइस कल र १०० वटा एसएमएस उपलब्ध गराउने घोषणा गरेको थियो। उक्त अवधि शुक्रबार सकिने भएपछि सेवा निरन्तरता दिँदै थप सात दिन विस्तार गरिएको एनसेलले जनाएको छ। कम्पनीका अनुसार विपद्को समयमा सञ्चार सेवा सूचना आदानप्रदान, उद्धार तथा राहत वितरण र आपसी समन्वयका लागि अत्यन्त महत्वपूर्ण हुने भएकाले प्रभावित समुदायलाई परिवार, आफन्त र उद्धार टोलीसँग सम्पर्कमा रहन सहज होस् भन्ने उद्देश्यले सेवा अवधि बढाइएको हो। एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले कठिन परिस्थितिमा सञ्चार पहुँच कायम राखेर प्रभावित समुदायलाई सहयोग पुर्याउने प्रयास जारी रहने बताए। उनले यसले परिवारसँग सम्पर्क कायम राख्न र उद्धार तथा राहतमा खटिएका टोलीलाई आवश्यक समन्वय गर्न सहज हुने विश्वास व्यक्त गरे। १८ मोबाइल टावर पुनः सञ्चालनमा बाढीका कारण प्रभावित क्षेत्रमा अवरुद्ध भएका १८ वटा मोबाइल टावर एनसेलले पुनः सञ्चालनमा ल्याएको जनाएको छ। कम्पनीका अनुसार अझै प्रभावित रहेका अन्य ९ वटा टावर सञ्चालनमा ल्याउन प्राविधिक टोली निरन्तर खटिएको छ। यसअघि एनसेल फाउन्डेसनमार्फत कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग पनि उपलब्ध गराएको थियो। साथै बाढी प्रभावित क्षेत्रमा सर्वसाधारणलाई सुरक्षित रहन सम्बन्धित निकायले जारी गरेका सुरक्षा निर्देशन पालना गर्न एसएमएस र सामाजिक सञ्जालमार्फत आवश्यक सूचना प्रवाह गरिरहेको जनाएको छ।
नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सुचारु
काठमाडौं । नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत आयोजनासँगै रहेको टावरमार्फत सेवा सुचारु गरेको छ । यसबाट उक्त जलविद्युत आयोजनाको सुरुङ मार्गमा भइरहेको उद्दार कार्यका लागि आवश्यक सञ्चार सम्पर्क थप सहज हुने भएको छ । टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर तथा इन्धन कम्पनीकै सवारी साधनको प्रयोग गरी तथा झन्डै एक घण्टा दुरीसम्म मानव ढुवानीमार्फत टावर सम्म पुर्याइएको थियो । कम्पनीका प्राविधिकहरुले आवश्यक प्राविधिक परीक्षण गरी टावर सञ्चालनमा ल्याएका हुन् । यसैगरी रसुवा जिल्लाकै तुप्चे बीटीएस पनि आजैदेखि सञ्चालनमा आएको छ । उक्त टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर र इन्धन लिई प्राविधिकहरु त्रिशुलीबाट साइट सम्म हेलिकप्टरमार्फत पुगेका र साइट सञ्चालन गरेका हुन् । उक्त साइटबाट त्रिशूली थ्रीबी आयोजना स्थल आसपास, बेत्रावती तथा कालिकास्थानको केही भागमा सेवा पुनः सुचारु भएको छ ।
बाजेको सेकुवाको आम्दानी साढे ४५ करोड, विदेशसहित २६ शाखा विस्तार
काठमाडौं । बाजेको सेकुवा लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा ४५ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १४.६० प्रतिशत अर्थात् ५ करोड ८० लाख रुपैयाँ बढी हो । कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ३९ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो । आफ्नै स्वामित्वमा सञ्चालित शाखाबाट भएको कारोबार, साझेदारीमा आधारित शाखा सञ्जालको विस्तार तथा साझेदार शाखाबाट प्राप्त शुल्क आम्दानीमा भएको वृद्धिले कम्पनीको समग्र आम्दानी बढेको जनाएको छ । स्थापित ब्रान्ड पहिचान, भौगोलिक क्षेत्रमा बढ्दो पहुँच तथा नेपालमा व्यवस्थित भोजनालयप्रतिको बढ्दो आकर्षणले पनि आम्दानी वृद्धिमा सहयोग गरेको कम्पनीको भनाइ छ । यसअघि कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा ३३ करोड ७० लाख रुपैयाँ र आर्थिक वर्ष २०७९/८० मा १९ करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो । पछिल्ला वर्षमा कम्पनीको आम्दानी निरन्तर बढ्दै गएको देखिन्छ । सन् २००९ नोभेम्बरमा स्थापना भएको बाजेको सेकुवाले विभिन्न स्वाद र रुचिलाई लक्षित गर्दै दुई सयभन्दा बढी परिकार उपलब्ध गराउँदै आएको छ । परम्परागत नेपाली सेकुवा परिकार बिक्री गर्ने एउटा भोजनालयबाट सुरु भएको कम्पनी संस्थापक परिवारको मार्गदर्शनमा विस्तार हुँदै देशकै परिचित रेस्टुरेन्ट शृंखलामध्ये एक बनेको छ । बाजेको सेकुवा सञ्चालक समितिको अध्यक्षमा चेतनाथ भण्डारी रहेका छन् । उनले बाजेको सेकुवाको नेतृत्वसँगै सवारीसाधन, खुद्रा व्यापार, सूचना प्रविधि तथा घरजग्गालगायत विभिन्न क्षेत्रमा रहेका व्यवसायको समेत अध्यक्षता गर्दै आएका छन् । कम्पनीकी प्रबन्ध निर्देशक नितिमा भण्डारी रहेकी छिन् । उनी बैष्णो इन्टरप्राइजेज प्रालि, अमेरिकास्थित बाजेको सेकुवा एलएलसी तथा चेनी क्यापिटल प्रालिलगायत विभिन्न व्यावसायिक संस्थाकी संस्थापक तथा सञ्चालकसमेत हुन् । हाल बाजेको सेकुवाका कुल २६ वटा शाखा सञ्चालनमा रहेका छन् । तीमध्ये २० वटा शाखा साझेदारीमा आधारित सञ्चालन प्रणालीअन्तर्गत छन् भने ६ वटा शाखा कम्पनीको आफ्नै स्वामित्वमा सञ्चालन भइरहेका छन् । यसअनुसार कुल शाखामध्ये करिब ७७ प्रतिशत साझेदारीमा र २३ प्रतिशत कम्पनीको प्रत्यक्ष स्वामित्वमा रहेका छन् । विदेशमा सञ्चालनमा रहेका सबै ६ वटा शाखा साझेदारी प्रणालीमार्फत सञ्चालन भइरहेका छन् । कम पुँजीमा तीव्र रूपमा नयाँ बजारमा विस्तार गर्न साझेदारी प्रणालीलाई प्राथमिकता दिएको कम्पनीले जनाएको छ । साथै, रणनीतिक रूपमा महत्वपूर्ण स्थानमा आफ्नै स्वामित्वका शाखा सञ्चालन गरी बजारमा बलियो उपस्थिति कायम गर्ने नीति कम्पनीले लिएको छ । खाद्य व्यवसायको प्रकृतिका कारण कम्पनीले ताजा मासु, मसला तथा छिट्टै बिग्रन सक्ने अन्य खाद्य सामग्रीको पर्याप्त मौज्दात राख्नुपर्ने हुन्छ । खानाको गुणस्तर र परिकारको स्वादमा एकरूपता कायम गर्न कम्पनीले सामान्यतः एकदेखि दुई महिनासम्मको खाद्य सामग्री मौज्दात राख्ने गरेको छ । गत आर्थिक वर्षमा कम्पनीको मौज्दात राख्ने अवधि ४० दिन रहेको थियो भने अघिल्लो आर्थिक वर्षमा यस्तो अवधि ३६ दिन थियो । कम्पनीले अधिकांश कच्चा पदार्थ विभिन्न आपूर्तिकर्ता तथा वितरकमार्फत खरिद गर्दै आएको छ । त्यस्ता आपूर्तिकर्ताबाट सामान्यतः एकदेखि दुई महिनासम्मको उधारो सुविधा प्राप्त गर्ने गरेको छ । कम्पनीको खुद सञ्चालन चक्र गत आर्थिक वर्षमा १७ दिन रहेको थियो । अघिल्लो आर्थिक वर्षमा यस्तो चक्र २ दिन मात्र रहेको थियो । शाखा सञ्जाल विस्तार हुँदै जाँदा आपूर्ति व्यवस्थापन, केन्द्रीकृत खाद्य प्रशोधन तथा वितरण सुविधामा थप लगानी आवश्यक पर्ने भएकाले आगामी दिनमा चालु पुँजीको आवश्यकता बढ्न सक्ने देखिएको छ । बढ्दो प्रतिस्पर्धा चुनौती बाजेको सेकुवा नेपालमा अत्यधिक प्रतिस्पर्धात्मक तथा धेरै साना व्यवसाय रहेको रेस्टुरेन्ट क्षेत्रमा सञ्चालन हुँदै आएको छ । पछिल्ला वर्षमा बहुराष्ट्रिय छिटो सेवा दिने रेस्टुरेन्ट तथा स्थानीय रेस्टुरेन्ट शृंखलाको विस्तारसँगै प्रतिस्पर्धा थप तीव्र बनेको छ । केएफसी, पिज्जा हट तथा डोमिनोजजस्ता बहुराष्ट्रिय रेस्टुरेन्टका साथै बर्गर हाउस, चिकेन स्टेसनलगायत स्थानीय रेस्टुरेन्ट शृंखलाको विस्तारले बजारमा प्रतिस्पर्धात्मक दबाब बढाएको छ । यस्ता व्यवसायसँग पर्याप्त वित्तीय स्रोत, व्यवस्थित आपूर्ति प्रणाली तथा प्रभावकारी प्रचारप्रसारको क्षमता रहेकाले उनीहरूले छोटो समयमा बजार हिस्सा विस्तार गर्न सक्ने अवस्था रहेको जनाएको छ । त्यस्तै, साना भोजनालय, स्थानीय खाजा पसल तथा सडकमा खाना बिक्री गर्ने व्यवसायले समेत कम मूल्यमा परिकार उपलब्ध गराउँदै आएका छन् । यसले मूल्यप्रति संवेदनशील ग्राहकलाई आकर्षित गर्ने भएकाले बाजेको सेकुवामाथि थप प्रतिस्पर्धात्मक दबाब परेको छ । बहुराष्ट्रिय तथा संगठित रेस्टुरेन्ट शृंखलासँगै साना तथा असंगठित भोजन व्यवसायबाट समेत प्रतिस्पर्धा बढेकाले कम्पनीको मूल्य निर्धारण क्षमतामा केही सीमा देखिएको छ । विशेषगरी कच्चा पदार्थ तथा अन्य सञ्चालन सामग्रीको मूल्य बढ्दा त्यसको सम्पूर्ण भार तत्काल ग्राहकमा सार्न नसक्दा कम्पनीको नाफामा दबाब पर्न सक्ने जोखिम रहेको छ । कच्चा पदार्थको मूल्यमा हुने उतारचढावसँगै ब्याजदरमा हुने परिवर्तन पनि कम्पनीका लागि चुनौतीका रूपमा रहेको छ । कम्पनीको ऋणको ब्याजदर परिवर्तनशील प्रकृतिको रहेकाले बैंक तथा वित्तीय संस्थाको आधार ब्याजदर बढ्दा कम्पनीको ब्याज खर्चसमेत बढ्न सक्छ । यसले आगामी दिनमा कम्पनीको नाफा तथा तरलतामा दबाब सिर्जना गर्न सक्ने देखिन्छ ।