काठमाडौं । नेपाल टेलिकमले बाढीबाट प्रभावित भएका थप चारवटा सञ्चार सेवा केन्द्र सुचारु गरेको छ ।
टेलिकमले सोमबार रसुवाको जिबजिबे र सरमथली, धादिङको बेनीघाट तथा नुवाकोटको त्रिशूली बजारस्थित सेवा केन्द्र सुचारु गरेको हो ।
यी चारवटा केन्द्र सञ्चालनमा आएसँगै बाढीबाट प्रभावित भएका नेपाल टेलिकमका १२० वटा सेवाकेन्द्रमध्ये ११० वटा सुचारु भएका छन् ।
जिबजिबे टावर सञ्चालनमा आएपछि भोर्ले, चिती, गाइसौरा लगायत नौकुण्ड गाउँपालिकाको वडा नम्बर ५ र ६ का विभिन्न स्थानमा सञ्चार सेवा सहज हुनेछ ।
त्यसैगरी, सरमथली टावरबाट यार्सा, लच्याङ, सिमबन्दी, बिजिलीजोङ लगायत आसपासका क्षेत्रमा सञ्चार सेवा उपलब्ध हुनेछ ।
बेनीघाट सेवा केन्द्र सुचारु भएपछि बेनीघाट बजार र आसपासका क्षेत्रमा सञ्चार सेवा सहज हुने टेलिकमले जनाएको छ ।
त्यस्तै, नुवाकोटको त्रिशूली सेवा केन्द्र सञ्चालनमा आएसँगै त्रिशूली बजार, ढुंगे लगायत आसपासका क्षेत्रमा सञ्चार सेवा सहज भएको छ ।
बाढी तथा पहिरोका कारण क्षतिग्रस्त भएका अन्य सेवा केन्द्र पनि क्रमशः सुचारु गर्ने काम भइरहेको टेलिकमले जनाएको छ ।