भोटेकोशी बाढीपीडितका लागि नमुना कलेजको ५ लाखभन्दा बढी सहयोग

काठमाडौं । इटहरीस्थित नमुना कलेजले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ५ लाख ५ हजार ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । देशमा राष्ट्रिय विपत्ति आइपरेका बेला शैक्षिक संस्थाका तर्फबाट पनि पीडित नागरिकका लागि योगदान हुनुपर्छ भन्ने उद्देश्यले कलेजले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो । शुक्रबार बसेको कलेज सञ्चालक समितिको बैठकले बाढीपीडितलाई राहत पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरेको कलेज सञ्चालक समिति अध्यक्ष केशव खड्काले बताए । खड्काका अनुसार कलेजले घोषणा गरेको ५ लाख ५ हजार ५५ रुपैयाँ शनिबार नै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ । ‘राष्ट्रिय विपत्तिको यो अवस्थामा कलेजको तर्फबाट सानो भए पनि योगदान होस् भन्ने उद्देश्यले सहयोग गर्ने निर्णय गरेका हौँ,’ अध्यक्ष खड्काले भने । उनका अनुसार शिक्षा क्षेत्र केवल पठनपाठनमा मात्र सीमित नभई समाजमा आइपर्ने विपत्ति र संकटका बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्न पनि अग्रसर हुनुपर्छ भन्ने सन्देश दिन कलेजले सहयोगको निर्णय गरेको हो । नमुना कलेजले कोशी प्रदेशको शिक्षा क्षेत्रबाट राष्ट्रिय विपत्तिमा संस्थागत रूपमा सहयोग गर्ने पहिलोपटक पहल गरेको जनाएको छ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवालगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ भने कैयौँ नागरिक बेपत्ता भएका छन् । बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि यतिबेला सरकारी निकाय, सुरक्षा निकाय, निजी क्षेत्र, शैक्षिक संस्था तथा विभिन्न संघसंस्थाले आ-आफ्नो स्तरबाट सहयोग गरिरहेका छन् । यही क्रममा नमुना कलेजले पनि सामाजिक उत्तरदायित्वअन्तर्गत राहत कोषमा रकम प्रदान गर्ने निर्णय गरेको हो ।

बाढी प्रभावित १२० साइटमध्ये ८० मा टेलिकम सेवा पुनः सञ्चालन

काठमाडौं । नेपाल टेलिकमले भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा दूरसञ्चार सेवा पुनःस्थापनाको कामलाई तीव्र बनाएको छ । हालसम्म बाढी प्रभावित १२० साइटमध्ये ८० साइटमा सेवा पुनः सञ्चालन भइसकेको टेलिकमले जनाएको छ । नेपाल टेलिकमका अनुसार भदौ ११ गते हेलिकप्टरमार्फत प्राविधिक टोली परिचालन गरी गोसाईंकुण्ड गाउँपालिका–६ स्थित रसुवा सदरमुकाम धुन्चेमा मोबाइल स्टेशन सञ्चालनमा ल्याइएको हो । भदौ १२ गते बिहानैदेखि टेलिकमका प्राविधिक टोली रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रमा सेवा पुनः सञ्चालन गर्न बाँकी रहेका स्थानमा खटिएका छन् । सञ्चालनमा आइसकेका टावरलाई थप भरपर्दो बनाउने कामसमेत भइरहेको टेलिकमले जनाएको छ । टेलिकमका अनुसार रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ स्थित गोल्जुङ (बाहुनडाँडा) मोबाइल टावर पुनः सञ्चालनमा आएपछि स्याफ्रुबेशी, पार्वतीकुण्ड गाउँपालिका–४ र ५, गोसाईंकुण्ड गाउँपालिका–३ र ५ तथा स्याफ्रुबेशी–टिमुरे सडकखण्डका केही भागमा मोबाइल सेवा सुचारु भएको छ । यस्तै, नुवाकोटको सूर्यगढी गाउँपालिका–३ स्थित गेर्खु मोबाइल टावर सञ्चालनमा आएपछि विदुर नगरपालिका–१० र ११ तथा सूर्यगढी गाउँपालिका–४ का केही क्षेत्रमा दूरसञ्चार सेवा पुनः सञ्चालन भएको छ । नेपाल टेलिकमले विदुर नगरपालिका–८ स्थित तुप्चे टावर र गोसाईंकुण्ड गाउँपालिका–२ अन्तर्गत टिमुरेमाथिको टेलिकम टावरमा हेलिकप्टरमार्फत जेनेरेटर, इन्धन र प्राविधिक टोली पुर्‍याएर सेवा सञ्चालनको काम जारी रहेको जनाएको छ । बाढी आएको दिनदेखि नै टेलिकमका प्राविधिक कर्मचारी न्यौपानेचौर, राम्चे, गोल्जुङ र धुन्चे स्टेशनमा निरन्तर खटिएर सेवा सञ्चालन तथा पुनःस्थापनाको काममा जुटिरहेको कम्पनीले जनाएको छ । विपद्को यस अवस्थामा नागरिकको सञ्चार आवश्यकतालाई सहज बनाउन सेवा निरन्तरता, पूर्वसूचना तथा आवश्यक प्राविधिक कार्यलाई उच्च प्राथमिकतामा राखिएको नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले बताएका छन् ।

नारायणी अस्पताल वीरगञ्जमा क्याथ ल्याब सेवा सुरु, पहिलो दिन दुई बिरामीको उपचार

काठमाडौं । नारायणी अस्पताल वीरगञ्जमा क्याथ ल्याब सेवा सञ्चालनमा आएको छ । अस्पतालको नवनिर्मित सुपर स्पेसियालिटी भवनमा जडान गरिएको क्याथ ल्याबबाट बुधबारदेखि सेवा सुरु गरिएको हो । अस्पतालका अनुसार सेवा सुरु भएको पहिलो दिन दुई जना बिरामीलाई क्याथ ल्याबमार्फत विभिन्न सेवा प्रदान गरिएको छ । वीरगञ्ज–१६, नगवा निवासी ४० वर्षीया मञ्जु देवीको कोरोनरी एन्जियोग्राफी गरिएको छ ।  त्यस्तै, वीरगञ्ज, पर्साका ४० वर्षीय जगदिश महतोलाई सिनेफल्लोरोस्कोपी सेवा प्रदान गरिएको अस्पतालले जनाएको छ ।  सघन सहरी तथा भवन निर्माण आयोजना, वीरगञ्जबाट निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको सुपर स्पेसियालिटी भवनमा क्याथ ल्याबका आवश्यक उपकरण खरिद गरी जडान गरिएको हो । अस्पतालले नयाँ सेवा सञ्चालनमा आएसँगै मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारमा थप सुविधा पुग्ने जनाएको छ ।