काठमाडौं । इटहरीस्थित नमुना कलेजले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ५ लाख ५ हजार ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
देशमा राष्ट्रिय विपत्ति आइपरेका बेला शैक्षिक संस्थाका तर्फबाट पनि पीडित नागरिकका लागि योगदान हुनुपर्छ भन्ने उद्देश्यले कलेजले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।
शुक्रबार बसेको कलेज सञ्चालक समितिको बैठकले बाढीपीडितलाई राहत पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरेको कलेज सञ्चालक समिति अध्यक्ष केशव खड्काले बताए ।
खड्काका अनुसार कलेजले घोषणा गरेको ५ लाख ५ हजार ५५ रुपैयाँ शनिबार नै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ ।
‘राष्ट्रिय विपत्तिको यो अवस्थामा कलेजको तर्फबाट सानो भए पनि योगदान होस् भन्ने उद्देश्यले सहयोग गर्ने निर्णय गरेका हौँ,’ अध्यक्ष खड्काले भने ।
उनका अनुसार शिक्षा क्षेत्र केवल पठनपाठनमा मात्र सीमित नभई समाजमा आइपर्ने विपत्ति र संकटका बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्न पनि अग्रसर हुनुपर्छ भन्ने सन्देश दिन कलेजले सहयोगको निर्णय गरेको हो ।
नमुना कलेजले कोशी प्रदेशको शिक्षा क्षेत्रबाट राष्ट्रिय विपत्तिमा संस्थागत रूपमा सहयोग गर्ने पहिलोपटक पहल गरेको जनाएको छ ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवालगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ भने कैयौँ नागरिक बेपत्ता भएका छन् ।
बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि यतिबेला सरकारी निकाय, सुरक्षा निकाय, निजी क्षेत्र, शैक्षिक संस्था तथा विभिन्न संघसंस्थाले आ-आफ्नो स्तरबाट सहयोग गरिरहेका छन् ।
यही क्रममा नमुना कलेजले पनि सामाजिक उत्तरदायित्वअन्तर्गत राहत कोषमा रकम प्रदान गर्ने निर्णय गरेको हो ।