सुदूरपश्चिम विश्वविद्यालयका कर्मचारीको तलब कट्टा गरेर प्रधानमन्त्री राहत कोषमा सहयोग

काठमाडौं । भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायतका जिल्लाका तटीय क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति सुदूरपश्चिम विश्वविद्यालयले गहिरो दुःख व्यक्त गर्दै बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको छ ।

टेन्टेटिभ रूपमा करिब ८८ लाख रुपैयाँ जम्मा हुने अपेक्षा गरिएको छ । विश्वविद्यालयको भदौ १३ गते बसेको कार्यकारी परिषद्को बैठकको निर्णयअनुसार विश्वविद्यालय र मातहतका निकायहरूमा कार्यरत पदाधिकारी, शिक्षक तथा कर्मचारीहरूको भदौ महिनाको मासिक पारिश्रमिक/तलबबाट रकम कट्टा गरी उक्त कोषमा जम्मा गरिने रजिस्ट्रारको कार्यालयले जनाएको छ।

जसअनुसार उपकुलपतिबाट एक महिनाको तलब बराबरको रकम, प्राध्यापक, सहप्राध्यापक, सहप्रशासक वा सो सरहका शिक्षक तथा कर्मचारीबाट मासिक सुरु तलब स्केलको १० दिनको तलब, उपप्राध्यापक, उपप्रशासक, सहायक प्रशासक, शिक्षण सहायक, प्रशिक्षक वा सो सरहका शिक्षक तथा कर्मचारीबाट ७ दिनको तलब, मुख्य सहायक, सहायक वा सो सरहका कर्मचारीबाट ५ दिनको तलब र श्रेणीविहीन कर्मचारीबाट २ दिनको तलब कट्टा गरिनेछ।

रजिस्ट्रार प्रा. डा. गोविन्दसिंह बिष्टद्वारा जारी सूचनामा यस प्राकृतिक विपद्मा परी ज्यान गुमाएका नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ भने घाइते भएका नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

Share News