बाढी प्रभावितलाई थप तीन दिन निःशुल्क २ जीबी डाटा, भ्वाइस कल र ५० एसएमएस

काठमाडौं । नेपाल टेलिकमले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस कल, डाटा र एसएमएस सुविधा थप तीन दिनका लागि विस्तार गरेको छ । कम्पनीले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार अब उक्त सुविधा भदौ १२, १३ र १४ गतेसम्म उपलब्ध हुनेछ । यसअघि नेपाल टेलिकमले रसुवा र आसपासका प्रभावित क्षेत्रका सेवाग्राहीका लागि दुई दिन निःशुल्क भ्वाइस कल, प्रतिदिन २ जीबी डाटा र ५० वटा एसएमएस उपलब्ध गराउने निर्णय गरेको थियो । टेलिकमले भोटेकोशी र त्रिशूली नदीको बहाव तीव्र रूपमा बढिरहेका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा जान आग्रह गरेको जनाएको छ । प्रभावित क्षेत्रका सेवाग्राहीलाई एसएमएसमार्फत पनि सचेतनामूलक सूचना पठाइएको कम्पनीले जनाएको छ । विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकले आफ्ना आफन्त, उद्धार तथा राहतकर्मी र सम्बन्धित निकायसँग सहज रूपमा सम्पर्क गर्न सकून् भन्ने उद्देश्यले निःशुल्क सञ्चार सुविधा उपलब्ध गराइएको टेलिकमले जनाएको छ । बाढीका कारण कम्पनीका विभिन्न दूरसञ्चार संरचनामा क्षति पुगे पनि सेवा यथासम्भव नियमित राख्न र प्रभावित संरचनाको मर्मत–सम्भार गर्न प्राविधिक टोली निरन्तर परिचालित रहेको कम्पनीले जनाएको छ । नेपाल टेलिकमले विपद्को समयमा सेवा निरन्तरता, पूर्वसूचना, सचेतना र आवश्यक प्राविधिक सहयोगलाई उच्च प्राथमिकतामा राख्दै प्रभावित नागरिकको सञ्चार आवश्यकतालाई सहज बनाउने प्रयास जारी रहेको जनाएको छ ।

बाढीपछि ईक्यानको ३०औँ स्थापना दिवस स्थगित, राहतका लागि १५ लाख १ हजार सहयोग

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) ले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई प्राथमिकता दिँदै आफ्नो ३०औँ स्थापना दिवस तथा वार्षिकोत्सव समारोह स्थगित गरेको छ । ईक्यानले भदौ १३ गते काठमाडौंको होटल एभरेस्टमा आयोजना गर्ने तय गरेको ३०औँ स्थापना दिवस समारोह अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको हो । राष्ट्र प्राकृतिक विपद्को कठिन परिस्थितिबाट गुज्रिरहेका बेला उत्सवभन्दा मानवीय सेवा, उद्धार तथा राहतलाई प्राथमिकता दिनुपर्ने भएकाले कार्यक्रम स्थगित गरिएको संघले जनाएको छ । बाढी प्रभावित नागरिकको उद्धार तथा राहतका लागि ईक्यानले प्रारम्भिक चरणमा १५ लाख १ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । यसमध्ये संघको केन्द्रीय कोषबाट १० लाख १ हजार रुपैयाँ र केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको संयुक्त योगदानबाट ५ लाख रुपैयाँ उपलब्ध गराइनेछ । उक्त रकम सरकारमार्फत सञ्चालन हुने प्रधानमन्त्री राहत कोषमा उपलब्ध गराइने संघले जनाएको छ । ईक्यानले आफ्ना सदस्य, शैक्षिक परामर्श संस्था, विश्वविद्यालय, कलेज तथा शैक्षिक संस्था, अन्तर्राष्ट्रिय शिक्षा प्रदायक, साझेदार संस्था, सरोकारवाला र शुभेच्छुकलाई आफूले सक्ने सहयोग गरी राष्ट्रिय राहत अभियानमा सहभागी हुन आग्रह गरेको छ । संघले आर्थिक, भौतिक तथा अन्य आवश्यक सहयोगमार्फत प्रभावित नागरिकको जीवनमा आशा र भरोसा जगाउन सबैलाई अपिल गरेको छ । बाढी तथा विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै ईक्यानले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै बेपत्ता नागरिकको शीघ्र सकुशल उद्धारको कामना गरेको छ । ईक्यानका महासचिव भवनाथ हुमागाईँले उत्सव स्थगित गरिए पनि सामाजिक दायित्व स्थगित नभएको बताएका छन् । विपद्को यस कठिन घडीमा राष्ट्र र नागरिकका लागि सबै एकजुट हुनुपर्नेमा उनले जोड दिएका छन् ।

बाढीपीडितको राहत र पुनर्स्थापनाका लागि एनसेल फाउन्डेसनले दियो १ करोड

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनसेल फाउन्डेसनले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । एनसेलले बुधबार जारी गरेको विज्ञप्तिअनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको र प्रभावित समुदायलाई तत्काल राहत तथा पुनर्स्थापनाको आवश्यकता रहेकाले सरकारको आह्वानमा उक्त सहयोग गर्ने निर्णय गरिएको हो । कम्पनीले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना जनाएको छ । साथै बेपत्ता भएका तथा प्रभावित नागरिकको शीघ्र उद्धार, राहत र पुनर्स्थापनाको कामना गरेको छ । आर्थिक सहयोगसँगै एनसेलले बाढी प्रभावित क्षेत्रमा रहेका आफ्ना ग्राहकका लागि सञ्चार सेवामा पनि विशेष सहुलियत उपलब्ध गराएको छ । हिजोदेखि लागू हुने गरी प्रभावित क्षेत्रमा रहेका ग्राहकलाई तीन दिनका लागि निःशुल्क भ्वाइस सेवा, डेटा सेवा र १०० वटा एसएमएस उपलब्ध गराइएको कम्पनीले जनाएको छ । एनसेलका अनुसार यस सुविधाले प्रभावित नागरिकलाई आफ्ना परिवार, आफन्त तथा उद्धार र राहतमा खटिएका टोलीसँग सहज रूपमा सम्पर्कमा रहन सहयोग पुग्नेछ । एनसेलकी कर्पोरेट कम्युनिकेसन, मार्केटिङ तथा सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले विपद्को कठिन घडीमा प्रभावित समुदायको साथमा उभिनु सबैको साझा जिम्मेवारी भएको बताइन् । उनले सरकार र सम्बन्धित निकायको उद्धार, राहत तथा पुनर्स्थापनाको प्रयासमा साथ दिन १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको भन्दै प्रभावित परिवार र समुदायसँग एनसेल सधैं साथमा रहेको उल्लेख गरिन् । एनसेलले विगतदेखि नै प्राकृतिक विपद्का समयमा उद्धार, राहत तथा पुनर्स्थापनाका अभियानमा सहयोग गर्दै आएको जनाउँदै आगामी दिनमा पनि प्रभावित समुदायको आवश्यकता अनुसार सहकार्य र सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।