पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले पायो नयाँ नेतृत्व, पाँच पदमा नियुक्ति

काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार, दुई डीन र अस्पताल निर्देशक नियुक्त भएका छन् ।  प्रतिष्ठानको शिक्षाध्यक्षमा डा.बाबुराजा महर्जन, रजिस्ट्रारमा डा.अरुण शाही,स्कुल अफ मेडिसिनको डीनमा डा.आशिष श्रेष्ठ, स्कुल अफ नर्सिङ एन्ड मिडवाइफरीको डीनमा शोभालक्ष्मी बज्राचार्य र अस्पताल निर्देशकमा डा.सन्तवीर महर्जन नियुक्त भएका छन् । नवनियुक्त पदाधिकारीहरूले आज मन्त्रालयमा मन्त्री मेहतासमक्ष नियुक्तिपत्र लिएका हुन् । प्रतिष्ठानको उपकुलपतिमा डा.नवीसमान सिंह प्रधान यसअघि नै नियुक्त भइसकेका छन् ।

उच्च शिक्षा सुधारका लागि विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक तयार गर्ने क्रममा संघीय विश्वविद्यालयका उपकुलपतिसहित सरोकारवालासँग छलफल गरेको छ । सिंहदरबारस्थित मन्त्रालयमा मङ्गलवार भएको छलफलमा विश्वविद्यालयका ऐनमा गर्नुपर्ने संशोधन, विश्वविद्यालयको स्वायत्तता, सुशासन, शैक्षिक तथा प्रशासनिक सुधार र समसामयिक आवश्यकताअनुसार कानुनी व्यवस्था परिमार्जन गर्ने विषयमा सुझाव लिइएको हो ।  छलफलमा सहभागी विज्ञ तथा सरोकारवालाले उच्च शिक्षालाई गुणस्तरीय, अनुसन्धानमुखी, उत्पादनशील र व्यवहारिक बनाउन नीतिगत सुधार आवश्यक रहेको बताएका छन् । विश्वविद्यालयको क्षमता अभिवृद्धि, शैक्षिक गुणस्तर कायम तथा विद्यार्थीलाई प्रतिस्पर्धी बजारमा टिक्न सक्ने बनाउने विषयलाई आगामी कानुनमा प्राथमिकता दिनुपर्नेमा उनीहरूले जोड दिएका छन् । राष्ट्रिय योजना आयोगका सदस्य डा. सुदन झाले विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै ज्ञान उत्पादनमा केन्द्रित हुनुपर्ने बताए । उनले हरेक विश्वविद्यालयले अनुसन्धान र ज्ञान उत्पादनको अवधारणाअनुसार अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेलले विश्वविद्यालयको शैक्षिक सुधार, उत्कृष्ट विश्वविद्यालय निर्माण तथा उच्च शिक्षासम्बन्धी ठोस नीति बनाउन छलफल महत्त्वपूर्ण रहेको बताए ।  उनले विद्यालय शिक्षा ऐनको मस्यौदा लेखन प्रक्रिया अघि बढिसकेको र सातै प्रदेशबाट सुझाव प्राप्त भएको जानकारी दिए । सचिव पौडेलका अनुसार मन्त्रालयले चालु आर्थिक वर्षमा शिक्षा क्षेत्रसँग सम्बन्धित छ वटा विधेयक अघि बढाउने तयारी गरेको छ । शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले विश्वविद्यालयप्रति विद्यार्थीको आकर्षण बढाउने नीतिगत व्यवस्था आवश्यक रहेको बताए । उनले विश्वविद्यालयको संख्या, छात्रवृत्तिको पारदर्शिता र प्रभावकारितालगायत विषयलाई पनि कानुनमा समेट्नुपर्ने धारणा राखे । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. खड्गबहादुर केसीले उच्च शिक्षाको नीतिगत सुधारका लागि छलफल महत्त्वपूर्ण भएको बताउँदै नेपालका विश्वविद्यालय अनुसन्धानमुखी संस्थाका रूपमा विकास हुनुपर्नेमा जोड दिए । विश्वविद्यालयले अध्यापन मात्र नभई ज्ञान उत्पादनमा समेत केन्द्रित हुनुपर्ने उनको भनाइ थियो । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले विश्वविद्यालयका गतिविधिलाई प्रभावकारी र चलायमान बनाउन सम्बन्धित ऐन छिटो ल्याउनुपर्ने बताए । छलफलमा काठमाडौं विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति तथा प्रतिनिधिले उच्च शिक्षा सुधार र ऐनमा समेटिनुपर्ने विषयबारे सुझाव दिएका थिए । त्यसैगरी, विभिन्न विश्वविद्यालयका रजिस्ट्रार, डीन, प्राध्यापक, मन्त्रालयका उच्च अधिकारी, राष्ट्रिय योजना आयोगका प्रतिनिधि, नीति निर्माता तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।  मन्त्रालयका सहसचिव जयराम अधिकारीले विश्वविद्यालय तथा उच्च शिक्षासम्बन्धी विद्यमान कानुनी प्रावधानमा आवश्यक सुधारका विषयमा राय तथा सुझाव लिन छलफल आयोजना गरिएको बताए । छलफलमा नेपालको उच्च शिक्षा क्षेत्रको वर्तमान अवस्था, शैक्षिक गुणस्तर अभिवृद्धि, अनुसन्धानको विस्तार तथा उच्च शिक्षालाई थप प्रभावकारी र प्रतिस्पर्धी बनाउने विषयमा विचार-विमर्श गरिएको मन्त्रालयले जनाएको छ ।

एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच साझेदारी, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा

काठमाडौं । एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच एनसेलका ग्राहकलाई सहज र किफायती स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले साझेदारी भएको छ । साझेदारीअन्तर्गत योग्य एनसेल ग्राहकले नेपाल मेडिसिटी अस्पतालको बहिरङ्ग सेवामा निःशुल्क चिकित्सक परामर्श लिन सक्नेछन् । सम्झौताअनुसार २९९ रुपैयाँ वा सोभन्दा माथिको प्याक वा रेन्टल सेवा लिने एनसेल ग्राहकले बहिरङ्ग सेवामा चिकित्सकसँग निःशुल्क परामर्श लिन पाउनेछन् । त्यस्तै, ९९ रुपैयाँदेखि २९९ रुपैयाँसम्मको प्याक वा रेन्टल सेवा लिने ग्राहकले चिकित्सक परामर्श शुल्कमा २० प्रतिशत छुट पाउनेछन् । यससम्बन्धी सम्झौतामा मंगलबार आयोजित कार्यक्रममा एनसेलका प्रमुख उपभोक्ता व्यवसाय अधिकृत उपाङ्ग दत्ता र नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमरले हस्ताक्षर गरेका छन् । एनसेलका दत्ताले मोबाइल सेवासँगै ग्राहकलाई स्वास्थ्य सेवामा समेत थप लाभ प्रदान गर्ने उद्देश्यले साझेदारी गरिएको बताए । उनका अनुसार ग्राहकले निःशुल्क चिकित्सक परामर्शदेखि परामर्श शुल्कमा छुटसम्मको सुविधा पाउनेछन् ।   यो सुविधा लिन योग्य एनसेल ग्राहकले एनसेल एपमा लगइन गरी ‘पार्टनर्ड सर्भिसेज’ खण्डमा गएर नेपाल मेडिसिटी अस्पताल छनोट गर्नुपर्नेछ । एपमा ग्राहकले पाउने सुविधाको विवरण स्वतः देखिनेछ । योग्य नदेखिएका ग्राहकले आवश्यक प्याक वा रेन्टल सेवा लिएपछि यो सुविधाको लाभ लिन सक्नेछन् । नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. तोमरले साझेदारीले स्वास्थ्य सेवामा पहुँच मात्रै नभई गुणस्तरीय स्वास्थ्य सेवालाई थप पहुँचयोग्य, समावेशी र किफायती बनाउन सहयोग पुग्ने बताए । एनसेलले विश्वसनीय ब्रान्ड तथा अत्यावश्यक सेवा प्रदायकसँगको सहकार्यबाट ग्राहकलाई दैनिक जीवनमा उपयोगी र अर्थपूर्ण सुविधा उपलब्ध गराउने निरन्तर प्रयासको हिस्सा भएको जनाएको छ ।