आलु होइन, खाने तरिका गलत हुँदा बढ्छ स्वास्थ्य जोखिम
काठमाडौं । आलु धेरैको दैनिक खानाको महत्त्वपूर्ण हिस्सा हो । तर आलु खाँदा स्वास्थ्यमा असर गर्छ भन्ने धारणा पनि व्यापक छ । विज्ञ तथा विभिन्न अध्ययनले भने आलु आफैमा समस्या नभई यसलाई पकाउने र खाने तरिकाले स्वास्थ्यमा फरक पार्ने देखाएका छन् । हार्वर्ड हेल्थमा प्रकाशित एक रिपोर्टअनुसार आलुलाई सन्तुलित मात्रामा, सही तरिकाले पकाएर खाँदा स्वास्थ्यका लागि फाइदा पुग्न सक्छ । विशेषगरी जैतुन, सूर्यमुखी र भटमासबाट बनेका असन्तृप्त वनस्पति तेलमा पकाइएको आलु तथा बोक्रासहित पकाइएको वा उसिनेको आलु तुलनात्मक रूपमा स्वस्थकर मानिन्छ । आलुमा पोटासियम र फाइबरजस्ता पोषक तत्त्व पाइन्छन् । त्यसैले सन्तुलित आहारको हिस्सा बनाएर आलुको सेवन गर्न सकिन्छ । अमेरिकी कृषि विभागका अनुसार नुन नहाली बोक्रासहित उसिनेको १०० ग्राम आलुमा करिब ८७ क्यालोरी, ७७ प्रतिशत पानी, १.९ ग्राम प्रोटिन, २०.१ ग्राम कार्बोहाइड्रेट, ०.९ ग्राम चिनी, १.८ ग्राम फाइबर र ०.१ ग्राम बोसो हुन्छ । ‘द जर्नल अफ न्युट्रिसन’मा प्रकाशित अध्ययनमा ७७ हजार २९७ वयस्कको खानपान र स्वास्थ्य अवस्थालाई औसत ३३.५ वर्षसम्म अध्ययन गरिएको थियो । अध्ययनले सन्तुलित मात्रामा विशेषगरी बोक्रासहित र नतारेको आलु सेवन गर्दा स्वास्थ्यमा सकारात्मक प्रभाव पर्न सक्ने देखाएको छ । दैनिक १०० ग्राम वा सोभन्दा कम आलु सेवन गर्ने व्यक्तिमा मुटुसम्बन्धी समस्या, मधुमेह तथा मोटोपनाको जोखिम केही कम देखिएको अध्ययनमा उल्लेख छ । तर आलुलाई ‘सुपरफुड’ भने मान्न नसकिने अध्ययनले स्पष्ट पारेको छ । आलुबाट स्वास्थ्यमा समस्या हुनेभन्दा पनि धेरै तेलमा तारेको फ्राइज, चिप्स तथा डिप फ्राइड आलुको नियमित सेवन स्वास्थ्यका लागि बढी जोखिमपूर्ण हुन सक्छ । कसरी खाने आलु ? स्वास्थ्यलाई ध्यानमा राख्दै आलुलाई उसिनेर, बेक गरेर वा कम तेलमा पकाएर खान सकिन्छ । बोक्रासहित पकाउँदा फाइबरलगायत केही पोषक तत्त्व प्राप्त गर्न सकिन्छ । उसिनेको आलुलाई सलाद, सादा दही तथा अन्य तरकारीसँग मिसाएर खान सकिन्छ । त्यसैगरी, बेक गरिएको आलुलाई सिमी, एभोकाडो तथा अन्य पौष्टिक खाद्य पदार्थसँग मिलाएर पनि खान सकिन्छ । आलु पोषक तत्वयुक्त खाद्य पदार्थ भए पनि यसको सेवन सन्तुलित मात्रामा गर्न आवश्यक हुन्छ । विशेषगरी मधुमेह वा अन्य स्वास्थ्य समस्या भएका व्यक्तिले आफ्नो खानपानबारे चिकित्सक वा पोषणविद्सँग परामर्श गर्नु उपयुक्त हुन्छ ।
नेपाल टेलिकमले माग्यो ब्रोकरको सूची, १० अर्बको कारोबार हुनुपर्ने
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आर्थिक वर्ष २०८३/८४ का लागि धितोपत्र दलाल (ब्रोकर) सेवा प्रदायक कम्पनीको सूची दर्ता गर्न प्रस्ताव आह्वान गरेको छ । कम्पनीलाई चालु आवको लागि धितोपत्र दलाल सेवा आवश्यक भएकोले योग्यता पुगेका कम्पनीलाई सूची दर्ता गर्न आग्रह गरेको हो । टेलिकमका अनुसार सूचीकरणका लागि इच्छुक धितोपत्र दलाल सेवा प्रदायक कम्पनी प्रचलित कानुनबमोजिम कम्पनी वा संगठित संस्थाका रूपमा दर्ता भएको हुनुपर्नेछ । त्यस्तै, धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी अद्यावधिक नवीकरण गरेको र स्थायी लेखा नम्बर प्राप्त गरेको हुनुपर्नेछ । कम्पनीले नेपाल धितोपत्र बोर्डले तोकेको न्यूनतम चुक्ता पुँजी पूरा गरेको, आर्थिक वर्ष २०८१/८२ को खुद कार्यशील पुँजी धनात्मक रहेको र सोही आर्थिक वर्षको करचुक्ता गरेको हुनुपर्नेछ । त्यसैगरी, अन्तिम दुई आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा धितोपत्र खरिद-बिक्रीको औसत वार्षिक कारोबार रकम १० अर्ब रुपैयाँभन्दा बढी भएको हुनुपर्नेछ । धितोपत्र दलालका रूपमा कम्तीमा दुई वर्ष काम गरेको अनुभव पनि आवश्यक पर्नेछ । सूचीकरणका लागि कम्तीमा एउटा पूर्ण वा आंशिक सरकारी स्वामित्व भएको कम्पनी, संगठित संस्था वा अन्य संगठित संस्थामा धितोपत्र दलालका रूपमा कम्तीमा एक वर्ष काम गरेको अनुभव हुनुपर्ने टेलिकमले जनाएको छ । साथै, प्रचलित कानुनबमोजिम कारोबार गर्न अयोग्य नभएको हुनुपर्नेछ ।
नेपालमै बेलायतको डिग्रीः स्ट्याम्फोर्डमा कम खर्चमै युकेको शिक्षा
काठमाडौं । स्ट्याम्फोर्ड कलेजले युकेको ४ वर्षे डिग्रीसहित बीएससी अर्न्स कम्युयुटिङ साइन्स र साइबर सेक्यूरिटी कोर्स पढाउँदै आएको छ । कलेजले युकेको टाइम्स हाइयर र्याङकिङको ‘टप छ सय प्लस’मा पर्ने ‘युनिभर्सिटी अफ् द वेस्ट अफ् स्कटल्याण्ड’को कोर्स नेपालमै अध्यापन गराइरहेको हो । ‘युके पढ्न जाने मन हुँदाहुँदै पनि कति विद्यार्थी आर्थिक कारण वा सानै उमेरको हुँदा परिवारले ब्याचलर सम्म त यही पढेर जाउँ भन्ने हुन्छ । कतिले नेपालमै बाहिरको जस्तो कोर्स चाहिरहेका हुन्छन् । विद्यार्थीलाई टार्गेट गरेर हामी ‘युनिभरर्सिटी अफ् द वेस्ट अफ् स्कटल्याण्ड’सँग एफिलेटेड भएर निकै कम फिमा युकेको डिग्री नेपालमै अध्यापन गराइरहेका हौं,’ कलेज हेड सन्दिप पोखरेलले भने । उनका अनुसार उक्त डिग्री लिएपछि थप अध्ययनका लागि विश्वका जुनसुकै युनिभर्सिटीमा पढ्न विद्यार्थीलाई समस्या रहँदैन । कलेजले विद्यार्थीका लागि एआई र साइबर सेक्युरिटी ल्याबमा कोडिङ च्यालेन्ज, ह्याकाथन तथा इन्डस्ट्री वर्कसपमार्फत सिक्ने अवसरमा समेत जोड्ने गरेको छ । यस्तै, करिअर काउन्सिलिङ, सेमिनार, नियमित उद्योग भ्रमण गराएर पढ्दै गर्दा नै इन्टर्नसिप र जब पेलेसमेन्टमार्फत करिअरको उचाइ पक्का गर्न विद्यार्थीलाई सघाउने गरेको कलेज प्रशासनको भनाइ छ । विद्यार्थीको मानसिक तथा शारीरिक अवस्थालाई ध्यानमा राख्दै कलेज परिसरमै लाइब्रेरी, जिम, स्नूकर हाउस र रुफटप क्याफेटेरिया सञ्चालन गरिएको छ । कलेजको शैक्षिक तथा प्रशासकीय व्यवस्थापनबारे प्रश्न गर्दा बीएससी कम्यूयुटिङ साइन्स पढ्दै गरेका सुशान्त थारु भन्छन्, ‘२ वर्ष पहिले १२ कक्षाको नतिजा प्रकाशन भइसकेपछि आइटी पढ्नका लागि विदेश जाने तयारीमा थिए । तर परिवारले विदेशमा अध्ययनको स्वीकृति नदिएपछि स्ट्याम्फोर्ड कलेजमा भर्ना भएँ ।’ यतिबेला उनले बीएससी कम्यूयुटिङ साइन्सको अध्ययन सुरु गरेको दुई वर्ष पुगेको छ । यो अवधिमा आफू कलेजको अध्ययन अध्यापन र अतिरिक्त क्रियाकलापबाट सन्तुष्ट रहेको सुशान्तले सुनाए । ‘म अहिले कलज जोइन भएको २ वर्ष भयो । टप र्याङ्किङमा पनि परेको छु । यहाँको कक्षाकोठादेखि टिचर, पढाउने तरिका सबै मन परेको छ । साँच्चै नै युके नै गएर पढेको जस्तो महसुस गरेको छु,’ उनले भने । सोही कोर्समा यसै वर्ष भर्ना भएकी जेनिसी भण्डारीले पनि कलेजको वातावरण नयाँ विद्यार्थीको लागि पनि नयाँ जस्तो नभएको अनुभव साटिन् । ‘म आजबाट मात्रै कलेज सुरु गरेको हुँ । टिचर, एडमिन सबैको व्यवहार एकदमै घुलमिल हुन सकिने खालको रहेछ । विदेशको तुलनामा यहाँ निकै कम ‘फि’ मा विश्वभर क्रेडिड आवर पुग्ने डिग्री पाइने भएकाले यो कलेज रोजेँ,’ विद्यार्थी भण्डारीले भनिन् ।