पहिलो मानव पाइला परेको अन्नपूर्ण आरोहणको ७६ वर्ष पूरा

काठमाडौं । अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७६ वर्ष पूरा भएको छ । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गरेको आज ७६ वर्ष पूरा भएको हो । यो हिमालको आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङको भूगोलमा पर्छ । ८ हजार मिटरभन्दा अग्लो यस हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । सन् १९५० मा जुन ३ मा फ्रान्सका मौरिज हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो । नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनाका रूपमा आज विविध कार्यक्रम गरी दिवस मनाउन लागिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए ।  यस अवसरमा कास्कीको अन्नपूर्ण गाउँपालिकाको आयोजनामा घान्द्रुकतर्फको आधार शिविरतर्फ दौड प्रतियोगिता र नयाँ पदमार्गको प्रवर्द्धनका लागि लमजुङको दोर्दी गाउँपालिकामा अन्नपूर्ण आरोहण दिवस आयोजना गरिएको छ । पर्यटन विभागका अनुसार अघिल्लो वर्षसम्म पाँच सय ३६ जनाले आरोहण गरेको अन्नपूर्ण हिमाल चढ्नका लागि यस वर्षको वसन्तयाममा चारवटा समूहका २७ जनाले अनुमति लिएका थिए । अनुमति लिएकामध्ये कतिले सफल आरोहण गरे भन्ने विवरण अद्यावधिक भइरहेको विभागका शाखा अधिकृत शर्मीला बञ्जाडेले बताए ।  आज आधार शिविरदेखि नारच्याङसम्म ३६ किलोमिटर दूरीमा दौड, सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरण समारोह गरेर दिवसको समापन गरिने अन्नपूर्ण गाउँपालिका-४ का वडाध्यक्ष लोकबहादुर फगामीले बताए ।  २० जना सहभागी खुला दौड प्रतियोगितामा विजेतालाई १ लाख रुपैयाँ, उपविजेतालाई ६० हजार रुपैयाँ, तेस्रोलाई ३५ हजार रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने तीन-तीन जनालाई १०-१० हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्च र गण्डकी प्रदेश एथलेटिक्स सङ्घको प्राविधिक सहयोगमा दौड प्रतियोगिता आयोजना गरिएको हो । दौड प्रतियोगितापश्चात नारच्याङमा सोमबारदेखि सुरु भएको दिवसको समापन, पुरस्कार वितरण र सांस्कृतिक कार्यक्रम गरिने भएको छ ।

स्वास्थ्य मन्त्रालयले माग्यो विभिन्न ९ वटा संस्थामा अध्यक्ष र पदाधिकारी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद् तथा स्वास्थ्यसम्बन्धी संस्थाहरूमा रिक्त पदाधिकारी पदहरूका लागि आवेदन आह्वान गरेको छ । मन्त्रालयले जारी गरेको सूचनाअनुसार नेपाल आयुर्वेद चिकित्सा परिषद्, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, नेपाल नर्सिङ परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी परिषद्, नेपाल मेडिकल काउन्सिल, बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र तथा स्वास्थ्य बीमा बोर्डमा रिक्त रहेका पदाधिकारी पदहरूमा नियुक्तिका लागि आवेदन माग गरिएको हो । उक्त पदहरूमा अध्यक्ष, उपाध्यक्ष, सदस्य, रजिस्ट्रार, सदस्य सचिव तथा कार्यकारी निर्देशकजस्ता पद समावेश छन् । मन्त्रालयका अनुसार सम्बन्धित ऐन तथा नियमावलीमा तोकिएको योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा आवेदन पेश गर्नुपर्नेछ । अन्तिम दिन सार्वजनिक बिदा परेमा सोको भोलिपल्टसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

पोखरामा अन्तर्राष्ट्रिय उडान भर्न फ्लाइ दुबई इच्छुक

काठमाडौं । विश्वको प्रमुख हवाई सेवा प्रदायक कम्पनी फ्लाइ दुबईका उड्डयन सुरक्षा उपाध्यक्ष एड्रियन लुकाजले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग मङ्गलबार भेटवार्ता गरेका छन् ।  पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने, दुबई र पोखराबीच पर्यटन प्रवर्द्धनका सम्भावनाको खोजी गर्ने, हवाई उडानका क्रममा परिपालना गर्नुपर्ने सुरक्षा मापदण्डलगायत दुई पक्षीय हितका विषयमा कुराकानी भएको थियो । भेटका क्रममा उड्डयनको क्षेत्रमा २० वर्षभन्दा बढी लामो अनुभव भएका लुकाजले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा समेत उडान भर्न इच्छुक रहेको बताएको महानगर प्रमुख आचार्यले जानकारी दिए । उड्डयन सुरक्षा, जोखिम व्यवस्थापन र ‘एयरलाइन अपरेसन’को क्षेत्रमा विशेषज्ञता हासिल गरेका लुकाजले फ्लाइ दुबईले उडानबाट पोखरासँग जोडिन पाए समग्र पोखरा र यस क्षेत्रको पर्यटनका लागि सुखद हुने बताए । विमानस्थलहरूको अन्तर्राष्ट्रिय र स्थानीय उड्डयन सुरक्षा मापदण्डहरूको अनुपालन सुनिश्चित गर्न सुरक्षा रणनीतिहरूको निरीक्षणमा दखल राख्ने लुकाजले पोखराको सुन्दरताले आफू निकै प्रभावित भएको समेत बताए ।  सो क्रममा नगर प्रमुख आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि निरन्तर पहल गरिरहेको उल्लेख गर्दै दुई देशबीचको पर्यटन आदानप्रदानमा सिधा उडानको भूमिका महत्वपूर्ण रहने भएकाले सो का लागि कम्पनीका तर्फबाट विशेष पहल गर्न अनुरोध गरे । नेपाल सरकारसँग आफूले पटकपटक संवाद गरेको र विशेष समयमा अन्तर्राष्ट्रिय चार्टर उडानहरू सञ्चालन भइरहेकाले विमानस्थल अन्तर्राष्ट्रिय उडान भर्न सक्षम रहेको उनले उल्लेख गरे । ‘पोखराबाट अन्तर्राष्ट्रिय उडान सम्भव छ भन्ने कुरा विभिन्न समयमा भएका चार्टर उडानबाट प्रमाणित भइसकेको छ । पोखरा पर्यटनको राजधानी सहर भएकाले अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्नका लागि समेत अन्तर्राष्ट्रिय उडानहरू आवश्यक छ । त्यसतर्फ हामीले जोड दिएका छौँ । आजको भेटले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न सहयोग पुग्ने विश्वास बढाएको छ,’ प्रमुख आचार्यले भने ।  भेटवार्तामा नगर प्रमुख आचार्यसहित महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, पोखरा भ्रमण वर्षका संयोजक गोपीबहादुर भट्टराईलगायत सहभागी थिए । मित्रराष्ट्र चीनको सहयोगमा २२ अर्ब रुपैयाँ बढी लगानीमा निर्माण भएर वि.सं २०७९ पुस १७ गते उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन सकेको छैन । विमानस्थल आन्तरिक उडानमा मात्र सीमित हुँदै आएको छ ।