काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आर्थिक वर्ष २०८३/८४ का लागि धितोपत्र दलाल (ब्रोकर) सेवा प्रदायक कम्पनीको सूची दर्ता गर्न प्रस्ताव आह्वान गरेको छ । कम्पनीलाई चालु आवको लागि धितोपत्र दलाल सेवा आवश्यक भएकोले योग्यता पुगेका कम्पनीलाई सूची दर्ता गर्न आग्रह गरेको हो ।
टेलिकमका अनुसार सूचीकरणका लागि इच्छुक धितोपत्र दलाल सेवा प्रदायक कम्पनी प्रचलित कानुनबमोजिम कम्पनी वा संगठित संस्थाका रूपमा दर्ता भएको हुनुपर्नेछ । त्यस्तै, धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी अद्यावधिक नवीकरण गरेको र स्थायी लेखा नम्बर प्राप्त गरेको हुनुपर्नेछ ।
कम्पनीले नेपाल धितोपत्र बोर्डले तोकेको न्यूनतम चुक्ता पुँजी पूरा गरेको, आर्थिक वर्ष २०८१/८२ को खुद कार्यशील पुँजी धनात्मक रहेको र सोही आर्थिक वर्षको करचुक्ता गरेको हुनुपर्नेछ ।
त्यसैगरी, अन्तिम दुई आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा धितोपत्र खरिद-बिक्रीको औसत वार्षिक कारोबार रकम १० अर्ब रुपैयाँभन्दा बढी भएको हुनुपर्नेछ । धितोपत्र दलालका रूपमा कम्तीमा दुई वर्ष काम गरेको अनुभव पनि आवश्यक पर्नेछ ।
सूचीकरणका लागि कम्तीमा एउटा पूर्ण वा आंशिक सरकारी स्वामित्व भएको कम्पनी, संगठित संस्था वा अन्य संगठित संस्थामा धितोपत्र दलालका रूपमा कम्तीमा एक वर्ष काम गरेको अनुभव हुनुपर्ने टेलिकमले जनाएको छ । साथै, प्रचलित कानुनबमोजिम कारोबार गर्न अयोग्य नभएको हुनुपर्नेछ ।