काठमाडौं । भोटेकोशीमा बुधबार आएको विनाशकारी बाढीपछि विस्थापित बालबालिकामा पानीजन्य तथा अन्य संक्रामक रोगको जोखिम बढेको सेभ द चिल्ड्रेनले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा खानेपानीका स्रोतहरू फोहोर तथा भग्नावशेषका कारण दूषित हुनुका साथै सार्वजनिक आश्रयस्थलमा अत्यधिक भीडभाड भएपछि बालबालिकाको स्वास्थ्यमा थप जोखिम देखिएको संस्थाले जनाएको हो ।
सेभ द चिल्ड्रेनका अनुसार कुहिएका मानव तथा पशुका शव, अव्यवस्थित फोहोर र जमेको पानीका कारण झाडापखाला तथा छालासम्बन्धी संक्रमण फैलिने जोखिम बढेको छ । केही बालबालिकामा खोकी, ज्वरो तथा श्वासप्रश्वाससम्बन्धी संक्रमण देखिएको संस्थाले जनाएको छ ।
बाढी प्रभावित रासुवा तथा नुवाकोटका विभिन्न क्षेत्रमा परिवारहरू सुरक्षित स्थानमा पुगे पनि स्वच्छ खानेपानी र सरसफाइको पर्याप्त व्यवस्था हुन सकेको छैन ।
वर्षा जारी रहँदा थप बाढी तथा पहिरोको जोखिमसमेत कायम रहेको छ । जमेको पानीका कारण डेंगु फैलाउने लामखुट्टेको प्रजननस्थल बढ्न सक्ने भन्दै बालबालिकामा लामखुट्टेबाट सर्ने रोगको जोखिमसमेत रहेको विज्ञले बताएका छन ।
सेभ द चिल्ड्रेन नेपालकी कन्ट्री डाइरेक्टर तारा छेत्रीले बाढीको तत्कालीन खतरा कम हुँदै गए पनि अर्को स्वास्थ्य संकटको जोखिम बढिरहेको बताइन् ।
‘भीडभाड भएका स्थान, दूषित पानी, कमजोर सरसफाइ र स्वास्थ्य सेवामा सीमित पहुँचले रोगको प्रकोप फैलिन सक्ने अवस्था सिर्जना गरेको छ,’ उनले भनिन् ।
उनका अनुसार अस्थायी आश्रयस्थल तथा होल्डिङ सेन्टरमा बालबालिकाहरू खोकी र अन्य स्वास्थ्य समस्या लिएर पुगिरहेका छन् ।
कतिपय स्थानमा आवश्यक औषधिसमेत उपलब्ध नहुँदा ग्रामीण तथा सम्पर्कविहीन क्षेत्रमा अवस्था अझ गम्भीर हुन सक्ने उनको भनाइ छ ।