काठमाडौं । सन् २०२६ को अगस्ट महिनामा नेपालमा ८५ हजार ४४४ जना विदेशी पर्यटक भित्रिएका छन् । यो संख्या गत वर्षको सोही महिनाको तुलनामा केही कम हो । सन् २०२५ को अगस्टमा नेपालमा ८८ हजार ६८० जना अन्तर्राष्ट्रिय पर्यटक आएका थिए ।
नेपाल पर्यटन बोर्डले अध्यागमन विभागबाट प्राप्त तथ्यांक सार्वजनिक गर्दै अगस्टमा भारतबाट सबैभन्दा धेरै पर्यटक नेपाल आएको जनाएको छ ।
तथ्यांकअनुसार अगस्टमा भारतबाट २६ हजार ३७३ जना पर्यटक नेपाल आएका छन् । यो कुल पर्यटक आगमनको ३०.८७ प्रतिशत हो ।
भारतपछि चीनबाट १० हजार ३०४ जना पर्यटक नेपाल आएका छन् । गत वर्षको अगस्टमा चीनबाट ७ हजार ५३३ जना पर्यटक आएकोमा यस वर्ष ३६.७८ प्रतिशत वृद्धि भएको बोर्डले जनाएको छ ।
त्यस्तै, श्रीलंकाबाट ८ हजार ७१० जना पर्यटक नेपाल आएका छन् । यो संख्या गत वर्षको तुलनामा ४६.२४ प्रतिशत बढी हो ।
अमेरिकाबाट ६ हजार २९३ जना, बंगलादेशबाट ४ हजार ४८७ जना र बेलायतबाट ३ हजार ४७६ जना पर्यटक नेपाल आएका छन् ।
क्षेत्रगत रूपमा हेर्दा अगस्टमा दक्षिण एसियाबाट ४१ हजार ४२२ जना पर्यटक नेपाल आएका छन् । अन्य एसियाली मुलुकबाट १८ हजार २७५ जना, युरोपबाट १० हजार ८७५ जना र ओसियानिया क्षेत्रबाट २ हजार ५२९ जना पर्यटक आएका छन् । ओसियानियाबाट आउने पर्यटक संख्या गत वर्षको तुलनामा ३.८६ प्रतिशत बढेको छ ।
त्यस्तै, अमेरिकी महादेशबाट ७ हजार ४७३ जना पर्यटक नेपाल आएका छन्, जुन गत वर्षको तुलनामा २.४७ प्रतिशत बढी हो । मध्यपूर्वबाट १ हजार १० जना पर्यटक आएका छन् भने यो क्षेत्रमा ६.९९ प्रतिशत वृद्धि भएको छ। अफ्रिकाबाट ३३८ जना पर्यटक नेपाल आएका छन्, जुन गत वर्षको तुलनामा ४.९७ प्रतिशत बढी हो ।
नेपाल पर्यटन बोर्डका अनुसार अगस्ट २०२६ मा केही प्रमुख बजारबाट पर्यटक आगमन उल्लेख्य रूपमा बढेको छ ।
रुसबाट ७६९ जना पर्यटक आएका छन्, जुन गत वर्षको तुलनामा ५१.३८ प्रतिशत वृद्धि हो । युक्रेनबाट २१६ जना पर्यटक आएका छन्, जहाँबाट आगमन ८३.०५ प्रतिशत बढेको छ ।
त्यस्तै, कम्बोडियाबाट ६८ जना पर्यटक आएका छन्। यो संख्या गत वर्षको तुलनामा २७७.७८ प्रतिशत बढी हो ।
भुटानबाट १ हजार २८८ जना पर्यटक नेपाल आएका छन्, जहाँबाट आगमन ४९.२५ प्रतिशत बढेको छ । मलेसियाबाट १ हजार ६१८ जना र थाइल्यान्डबाट ६८१ जना पर्यटक आएका छन् । यी दुई बजारबाट क्रमशः १३.०७ प्रतिशत र १९.८९ प्रतिशत वृद्धि भएको पर्यटन बोर्डले जनाएको छ ।