बाढी प्रभावित क्षेत्रमा रोग फैलिने जोखिम उच्च

सम्भावित जोखिम न्यूनीकरणका लागि मन्त्रालयद्वारा निकाय तथा महाशाखाहरू परिचालन

काठमाडौं । उत्तर–पूर्वी सीमावर्ती तिब्बत क्षेत्रबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित हिमाली तथा पहाडी भेगमा दोस्रो ठूलो विपद्का रूपमा स्वास्थ्य सङ्कट देखिने खतरा बढेको छ । 

बाढीका कारण ठूलो संख्यामा जनधनको क्षति हुनुका साथै मृत मानव शव र पशुचौपायाहरू कुहिन थालेपछि समुदायस्तरमै महामारी फैलिने उच्च जोखिम सिर्जना भएको हो । 

परिस्थिति गम्भीर बनेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्भावित जोखिम न्यूनीकरणका लागि आफ्ना सबै मातहतका निकाय तथा महाशाखाहरूलाई परिचालन गरेको छ ।  

स्वास्थ्य अधिकारीहरूका अनुसार बाढी प्रभावित क्षेत्रमा पानीका मुहानहरू तीव्र रूपमा प्रदूषित बनेका छन् । दूषित पानी र वातावरणमा फैलिएको दुर्गन्धका कारण झाडापखाला, हैजा, हेपाटाइटिस ‘ए’ जस्ता पानीजन्य रोगका साथै फोहोर र जमेको पानीबाट लामखुट्टेको वंशवृद्धि भई डेंगु र औलो जस्ता कीटजन्य रोग फैलिने खतरा बढेको छ ।  

बाढी प्रभावित क्षेत्रमा आकस्मिक तथा अन्य स्वास्थ्य सेवाको मन्त्रालयबाटै समन्वय गरिरहेका डा. समीरकुमार अधिकारीले अबको मुख्य चुनौती भनेको विस्थापितहरूको स्वास्थ्य सुरक्षा, पोषण, खोप, खानेपानी र मनोसामाजिक परामर्श रहेको बताए ।

‘बाढीका कारण धेरै नागरिक विस्थापित भएका छन्,’ डा. अधिकारीले भने, ‘उनीहरूमध्ये धेरैले उच्च रक्तचाप, मधुमेहजस्ता दीर्घ रोगको नियमित औषधि सेवन गरिरहेका हुन सक्छन् ।’

‘यस्तो अवस्थामा उनीहरूको नियमित स्वास्थ्य सेवा र औषधिको निरन्तरतामा ध्यान दिनु आवश्यक छ । यसका साथै सर्वस्व गुमाएका प्रभावितहरूका लागि यतिबेला मनोसामाजिक परामर्श अति अत्यावश्यक छ, जसका लागि हामीले मन्त्रालयका सबै संयन्त्रलाई द्रुत गतिमा खटाएका छौं,’ उनले भने । 

सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले पनि बाढीपछि समय बित्दै जाँदा शवहरू कुहिएर ब्याक्टेरिया तथा भाइरसको सङ्क्रमण फैलिने जोखिम झनै बढ्ने चेतावनी दिएका छन् । 

बाढीबाट जोगिएका र शिविरहरूमा बसेका नागरिकहरूलाई सुरक्षित खानपान र सफा पानीको व्यवस्थापन गर्नु राज्यको पहिलो दायित्व हुने डा. पुनको भनाइ छ । 

रसुवाको लिङलिङमा सेना र ट्रमा सेन्टरको संयुक्त टोली  

उद्धार र उपचारलाई चुस्त बनाउन नेपाली सेना र राष्ट्रिय ट्रमा सेन्टरको संयुक्त चिकित्सकीय टोली दुर्गम प्रभावित क्षेत्रसम्म पुगेको छ । 

नेपाली सेनाका क्याप्टेन डा. कुलदिप त्रिपाठीको नेतृत्वमा राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ चिकित्सकहरू डा. सरोजकुमार गोहिवार र डा. राजीव खड्का सम्मिलित टोली रसुवाको गोसाईंकुण्ड गाउँपालिका–३ स्थित लिङलिङ पुगेर बिरामीको उपचारमा जुटिसकेको छ ।

टोलीले हालसम्म ५० भन्दा बढी स्थानीय नागरिकको प्रत्यक्ष उपचार गरिसकेको छ । उपचारमा खटिएका डा. सरोजकुमार गोहिवारका अनुसार स्थानीय तहमा झाडापखालाका प्रारम्भिक बिरामीहरू देखिन थालेका छन् । 

‘विपद्को ठूलो झट्काका कारण धेरैजसो स्थानीयमा डर र त्रास पैदा भई ‘पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर’ अर्थात् गम्भीर मानसिक आघातको समस्या पाइएको छ,’ डा. गोहिवारले भने ।

यसैगरी, उच्च रक्तचाप, मधुमेह र हाडजोर्नी दुख्ने पुराना बिरामीहरू औषधि अभावका कारण थप समस्यामा परेका छन् । बाढीका कारण विद्युत् सेवा अवरुद्ध हुँदा सञ्चार सम्पर्कका लागि मोबाइल चार्ज गर्ने सुविधा, खाद्यान्न र नियमित औषधिको चर्को अभाव खड्किएको छ ।

स्वास्थ्य जोगाउन सावधानी अपनाउन अपिल

बाढीपछि महामारीको जोखिमबाट जोगिन स्वास्थ्य मन्त्रालय र विशेषज्ञहरूले प्रभावित क्षेत्रका नागरिकलाई व्यक्तिगत र वातावरणीय सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेका छन् । 

उमालेको वा पीयूष/क्लोरिन हालेर शुद्धीकरण गरिएको पानी मात्र पिउने,  बाढीको दूषित पानीको सम्पर्कमा आएको वा बासी–कुहिएको खाना पूर्ण रूपमा बर्जित गर्ने, खाना खानुअघि, बालबालिकालाई खवाउनुअघि र शौचालय प्रयोग गरेपछि साबुनपानीले अनिवार्य हात धुने, घर र अस्थायी शिविर वरपर पानी जम्न नदिने, बालबालिकालाई बाढीको धमिलो पानी र फोहोर ठाउँमा खेल्न नदिनेजस्ता उपाय अपनाउन आग्रह गरेका हुन् ।

स्वास्थ्य मन्त्रालयले प्रभावित क्षेत्रमा कुनै पनि व्यक्तिमा झाडापखाला, उच्च ज्वरो वा हैजा जस्ता लक्षण देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य चौकी वा खटिएका चिकित्सकसँग सम्पर्क गर्नसमेत भनेको छ । 

साथै स्वास्थ्यसम्बन्धी कुनै पनि जानकारी, परामर्श वा आपत्कालीन सहयोगका लागि सरकारको निःशुल्क हेल्पलाइन १११५ मा २४ सै घण्टा सम्पर्क गर्न सकिने जनाइएको छ ।

Share News