काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित जिल्लाका सबै स्थानमा मोबाइल तथा इन्टरनेट सेवा सुचारु गरेको छ ।
भदौ १० गते आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा नेपाल टेलिकमका टावरबाट सञ्चालन हुने मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध भएको थियो । टेलिकमका प्राविधिकहरू निरन्तर प्रभावित क्षेत्रमा खटिएपछि सबै साइट पुनः सञ्चालनमा ल्याइएको हो ।
सडक तथा विद्युत् सेवा अवरुद्ध भएका स्थानमा सुरक्षा निकायसँग समन्वय गरी हेलिकप्टरमार्फत प्राविधिक, उपकरण, जेनेरेटर र इन्धन पुर्याएर सेवा सञ्चालन गरिएको टेलिकमले जनाएको छ ।
भदौ १४ गते नेपाल–चीन सीमा नजिक रहेको रसुवा बोर्डर मोबाइल साइट सञ्चालनमा आएपछि राहत तथा उद्धार कार्य भइरहेका सबै प्रमुख क्षेत्रमा सञ्चार सेवाको पहुँच पुगेको थियो ।
बाढीका कारण रसुवा, नुवाकोट र धादिङका १२० साइटमध्ये ८३ साइटको सेवा अवरुद्ध भएको थियो । टिमुरे, चिलिमे खोला र त्रिशूली–३ ‘बी’ साइट भने पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए ।
टेलिकमले भदौ १६ गते धादिङको कल्लेरी तथा नुवाकोटका भद्रटार थाप्रेक, पुसनटार, तारुका, किस्पाङ (भाल्चे) र बुधसिंह साइट सञ्चालनमा ल्याएको जनाएको छ । यससँगै सबै साइटबाट सेवा सञ्चालनमा आएको टेलिकमको भनाइ छ ।
पूर्ण रूपमा क्षतिग्रस्त साइटबाट उपलब्ध हुने सेवा भने हाल अन्य साइटमार्फत प्रदान भइरहेको छ । मोबाइल सेवाको प्रभावकारिता थप बढाउन क्षतिग्रस्त साइटलाई प्राथमिकतामा राखेर पुनर्निर्माण गरी सञ्चालनमा ल्याइने टेलिकमले जनाएको छ ।
बाढी आएको जानकारी पाएलगत्तै भदौ ११ गते रसुवाका न्यौपानेचौर र राम्चे रिपिटर साइटमा हेलिकप्टरमार्फत जेनेरेटर, इन्धन र ब्याट्रीलगायत उपकरण पठाइएको थियो । धुन्चेमा पनि जेनेरेटर, इन्धन र कर्मचारी परिचालन गरी सेवा सञ्चालनमा ल्याइएको थियो ।
भदौ १२ गते रसुवाको गोलजुङ टावर, नुवाकोटको गेर्खु, तुप्चे तथा टिमुरेमाथिको डाँडामा रहेका टावरमा हेलिकप्टरमार्फत आवश्यक उपकरण र प्राविधिक पठाएर सेवा सुचारु गरिएको थियो । नुवाकोटको मदनपुर, बट्टार, बिदुर बसपार्क तथा धादिङको बैरेनी ठमेल डाँडामा पनि जेनेरेटर र इन्धनसहित कर्मचारी परिचालन गरिएको थियो ।
भदौ १३ गते रसुवाको त्रिशूली–३ ‘ए’ नजिकको टावर, उत्तरगया गाउँपालिका–स्थित कालिकास्थान तथा नुवाकोटको बुङताङका टावर सञ्चालनमा ल्याइएका थिए । कटुन्जे, सामरी भञ्ज्याङ र बेतिनीका टावर पनि सोही क्रममा सुचारु भएका थिए। यससँगै प्रभावित १२० साइटमध्ये ९३ साइट सञ्चालनमा आएका थिए ।
भदौ १४ गते रसुवा बोर्डरसहित अपर सेन्जेन, छापथोके, जिबजिबे माइक्रो र गत्लाङका साइट सञ्चालनमा आए । नुवाकोटका चारघरे र चारघरे मुलाबारी साइट पनि सोही दिन सुचारु भएका थिए ।
भदौ १५ गते रसुवाको जिबजिबे र सरमथली, धादिङको बेनीघाट तथा नुवाकोटको त्रिशूली बजार साइट सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ।
विद्युत् आपूर्ति नियमित नभएका केही साइट अहिले पनि जेनेरेटरमार्फत सञ्चालनमा छन्। विद्युत् सेवा सहज भएका कतिपय साइट भने स्वतः सञ्चालनमा आएका छन् । यससँगै फोरजी सेवाको प्रभावकारिता पनि बढ्दै गएको टेलिकमले जनाएको छ ।
सेवा सुचारु गर्न सहयोग तथा समन्वय गर्ने सम्बन्धित मन्त्रालय, नेपाली सेना, सुरक्षा निकाय, नेपाल विद्युत् प्राधिकरण, विद्युत् गृह सञ्चालक, हेलिकप्टर सञ्चालक, स्थानीय तह, स्वयंसेवी संस्था, प्राविधिक, सञ्चारमाध्यम तथा सम्बन्धित सहयोगी निकायलाई नेपाल टेलिकमले धन्यवाद दिएको छ ।
विपद्को समयमा पनि आम नागरिकका लागि सञ्चार सेवा सुनिश्चित गर्दै ‘राष्ट्रको सञ्चार’को गरिमा कायम गर्न कम्पनी प्रतिबद्ध रहेको प्रवक्ता डा. कमल लामिछानेले बताएका छन् ।