काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले रसुवा, नुवाकोट र धादिङका लगायत बाढीप्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई निःशुल्क उपचार गर्ने भएको छ ।
अस्पतालले सार्वजनिक गरेको सूचनाअनुसार बाढीपीडित क्यान्सर बिरामीका लागि १० प्रतिशत निःशुल्क बेड तथा उपचार सेवा उपलब्ध गराइँदै आएको छ । यसअन्तर्गत बेड चार्ज, ल्याब परीक्षण शुल्क र अक्सिजन शुल्क निःशुल्क हुने तथा उपलब्ध भएसम्म आवश्यक औषधिसमेत उपलब्ध गराइने अस्पतालले जनाएको छ ।
त्यस्तै, विपन्न, असहाय तथा बेसहारा बिरामीले नेपाल सरकारबाट प्रदान गरिने विभिन्न प्रकारका क्यान्सर उपचारसम्बन्धी सुविधासमेत लिन सक्ने अस्पतालले जनाएको छ । विपन्न स्वास्थ्य बीमा तथा प्रदेश सरकारले प्रदान गर्ने सुविधामार्फत उपचार लिन सकिने भएकाले अस्पतालको सामाजिक सेवा इकाई वा प्रशासन शाखामा सम्पर्क गर्न अनुरोध गरिएको छ ।