काठमाडौं । एनसेलले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको अवधि थप ७ दिन बढाएको छ ।
कम्पनीले भदौ २० गतेदेखि भदौ २६ गतेसम्म प्रभावित क्षेत्रका ग्राहकले निःशुल्क सेवा प्रयोग गर्न सक्ने जनाएको हो। खोज, उद्धार र राहत कार्यमा सहज सञ्चार होस् भन्ने उद्देश्यले सेवा अवधि बढाइएको एनसेलले जनाएको छ ।
यसअघि एनसेलले बाढी आएको दिन भदौ १० गतेदेखि तीन दिन निःशुल्क सेवा दिएको थियो । त्यसपछि सेवा अवधि भदौ १९ गतेसम्म थपिएको थियो। अब फेरि एक हप्ता थप गरिएको हो ।
एनसेलका प्रमुख उपभोक्ता व्यवसाय अधिकृत उपाङ्ग दत्ताले कठिन समयमा प्रभावित नागरिकलाई परिवार, आफन्त र उद्धार टोलीसँग सम्पर्कमा रहन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
९२ प्रतिशत टावर पुनः सञ्चालनमा
एनसेलका अनुसार बाढीबाट प्रभावित क्षेत्रमा अवरुद्ध भएका ९२ प्रतिशत टावर पुनः सञ्चालनमा आइसकेका छन् ।
बाढीका कारण कुल २७ वटा टावर प्रभावित भएका थिए। तीमध्ये २५ वटा टावर पुनः सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।
रसुवाको घट्टेखोला–टिमुरे क्षेत्रमा रहेको एउटा टावर पूर्ण रूपमा नष्ट भएको छ । उत्तरगया–तिरु क्षेत्रमा रहेको अर्को टावर सञ्चालनमा ल्याउन हेलिकप्टरमार्फत उपकरण पुर्याउने काम भइरहेको एनसेलले जनाएको छ ।
एनसेलले विपद्का बेला सूचना, खोज, उद्धार र राहत कार्यमा सहयोग पुर्याउन एसएमएस, कल टोन र सामाजिक सञ्जालमार्फत जानकारीमूलक सन्देश पनि प्रसारण गरिरहेको छ ।
यसअघि एनसेल फाउन्डेसनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग पनि प्रदान गरिएको कम्पनीले जनाएको छ ।