सर्वदलीय बैठकमा प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न
काठमाडौं । सुनसरीमा भएको हिंसात्मक घटनापछि विकसित परिस्थितिबारे छलफल गर्न सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा सरकारको कार्यशैली, प्रधानमन्त्रीको नेतृत्व र संकट व्यवस्थापनको भूमिकामाथि प्रमुख राजनीतिक दलहरूले प्रश्न उठाएका छन् । यद्यपि, सबै दलले घटनाको निष्पक्ष छानबिन, सामाजिक सद्भावको संरक्षण र राजनीतिक संवादलाई प्राथमिकता दिनुपर्नेमा साझा प्रतिबद्धता जनाएका छन् । बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पहलमा बसेको हो । छलफलमा सहभागी नेताहरूले वर्तमान परिस्थितिमा राजनीतिक दलहरूबीच एकता, संयम र जिम्मेवार अभिव्यक्तिको आवश्यकता औंल्याउँदै कुनै पनि घटनालाई राजनीतिक ध्रुवीकरणभन्दा माथि उठेर समाधान गर्नुपर्ने धारणा राखे । बैठकमा प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङ सहभागी नभएको विषयमा उठेको जिज्ञासाको जवाफ दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले दुवै जना आ–आफ्नो सरकारी तथा दलगत जिम्मेवारीमा व्यस्त रहेकाले उपस्थित हुन नसकेको बताए । उनका अनुसार सरकारको प्रतिनिधित्व गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बैठकमा सहभागी भएका थिए । लामिछानेले सर्वदलीय बैठक सरकार सञ्चालन गर्ने औपचारिक संयन्त्र नभई समसामयिक राष्ट्रिय घटनाक्रममा राजनीतिक दलबीच साझा धारणा निर्माण गर्ने र सरकारलाई आवश्यक सुझाव दिने उद्देश्यले आयोजना गरिएको स्पष्ट पारे । उनले घटनाको सम्पूर्ण सत्यतथ्य सार्वजनिक नहुँदै पूर्वाग्रही निष्कर्षमा पुग्न नहुने उल्लेख गर्दै अहिलेको प्राथमिकता शान्ति, सुव्यवस्था र सामाजिक सद्भाव कायम गर्नु भएको बताए । उनका अनुसार राजनीतिक दलहरूको दायित्व आरोप–प्रत्यारोपमा केन्द्रित हुनु होइन, संवेदनशील अवस्थालाई थप बिग्रिन नदिन सहकार्य गर्नु हो । गगनको प्रश्न : सरकार कहाँ छ ? नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संकटका बेला सरकारले अपेक्षित नेतृत्व दिन नसकेको आरोप लगाए । उनका अनुसार यस्तो संवेदनशील परिस्थितिमा प्रधानमन्त्री स्वयंले सर्वदलीय बैठक बोलाएर सबै राजनीतिक दल, राष्ट्रपति, प्रदेश सरकार तथा स्थानीय तहसँग समन्वय गरी साझा पहलको नेतृत्व गर्नुपथ्र्यो । उनले सरकारले सुरक्षा कारबाहीमा मात्रै केन्द्रित नभई नागरिकमा विश्वास जगाउने अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताए । सुनसरी घटनाको निष्पक्ष छानबिन अपरिहार्य रहेको उल्लेख गर्दै उनले संसदमार्फत पनि यो विषय उठाइने जानकारी दिए । थापाले विपद् र राष्ट्रिय संकटका बेला राजनीतिक दलहरूबीच सहकार्य गर्ने नेपालको राजनीतिक परम्परा स्मरण गराउँदै वर्तमान परिस्थितिमा पनि त्यही संस्कारलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरे । सरकार अझ जिम्मेवार र संवेदनशील बन्नुपर्छ ः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले वर्तमान अवस्थालाई अझ गम्भीरतापूर्वक लिएर जिम्मेवार, सक्रिय र संवेदनशील ढंगले काम गर्नुपर्ने आवश्यकता औंल्याए । उनले प्रधानमन्त्रीले सबै राजनीतिक दललाई विश्वासमा लिएर संवाद र सहमतिको वातावरण निर्माण गर्नुपर्ने उल्लेख गर्दै सरकारको प्रस्तुति अपेक्षाअनुसार प्रभावकारी देखिन नसकेको टिप्पणी गरे । प्रचण्डले बल प्रयोग कुनै पनि समस्याको स्थायी समाधान हुन नसक्ने स्पष्ट पार्दै संवाद, सहमति र राजनीतिक समझदारीमार्फत मात्रै दीर्घकालीन समाधान सम्भव हुने बताए । उनले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने र स्थानीय तहमा सामाजिक सद्भाव कायम राख्न सबै पक्ष संयमित हुनुपर्ने धारणा राखे । साथै, संवेदनशील घटनालाई उक्साउन बाह्य तत्वसमेत सक्रिय हुन सक्ने सम्भावनातर्फ सचेत गराउँदै उनले सबै पक्षलाई उच्च सतर्कता अपनाउन आग्रह गरे । सर्वदलीय पहलको नेतृत्व प्रधानमन्त्रीले गर्नुपथ्र्यो ः एमाले नेकपा एमालेका महासचिव शंकर पोखरेल ले सर्वदलीय बैठक सकारात्मक पहल भए पनि त्यसको नेतृत्व प्रधानमन्त्री स्वयंले लिनुपर्ने धारणा व्यक्त गरे । उनले सरकारबाट आवश्यक राजनीतिक पहल अपेक्षाअनुसार हुन नसकेको टिप्पणी गर्दै सुरक्षा निकायको क्षमता, साधन–स्रोत, भीड व्यवस्थापन प्रणाली तथा समग्र सुरक्षा रणनीतिको गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए । भविष्यमा यस्ता घटनामा मानवीय क्षति दोहोरिन नदिन सुरक्षा संयन्त्रलाई थप सक्षम र स्रोतसम्पन्न बनाउनुपर्ने उल्लेख गर्दै उनले सामाजिक तथा साम्प्रदायिक सद्भाव जोगाउन राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा र सबै सरोकारवालालाई संयम अपनाउन आग्रह गरे । बैठकमा सहभागी राजनीतिक दलहरूले सुनसरी घटनाको निष्पक्ष, पारदर्शी र विश्वसनीय छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेका छन् । साथै, सामाजिक सद्भाव, शान्ति र आपसी विश्वासलाई कमजोर पार्ने कुनै पनि गतिविधिबाट टाढा रहन सबै पक्षलाई आग्रह गर्दै राजनीतिक दलहरूले संयुक्त अपिलसमेत सार्वजनिक गरेका छन् ।
सुनसरी घटनामा ९ दल एकै ठाउँ, यस्तो छ सर्वदलीय बैठकको ७ बुँदे अपील
काठमाडौं । सुनसरीसहित विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित हिंसात्मक तथा संवेदनशील घटनाक्रमपछि प्रमुख राजनीतिक दलहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सरकारलाई संयुक्त रूपमा आग्रह गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले सातबुँदे संयुक्त वक्तव्य जारी गर्दै देशभर शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता जोगाउन सबै पक्षलाई संयम अपनाउन अपिल गरेको हो । बैठकले पछिल्ला घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । साथै घाइते नागरिक र सुरक्षाकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । संयुक्त वक्तव्यमा नेपालको विविधताबीचको एकता, सहिष्णुता र सहअस्तित्वलाई कुनै पनि प्रकारका उत्तेजनात्मक गतिविधिबाट प्रभावित हुन नदिन आम नागरिकलाई आग्रह गरिएको छ । आवेग, हिंसा र मुठभेडले समस्या समाधान नगरी थप जटिलता निम्त्याउने भएकाले सबै पक्ष संयमित हुनुपर्ने बैठकको निष्कर्ष छ । दलहरूले लोकतान्त्रिक प्रणालीमा कुनै पनि असन्तुष्टि वा विवादको समाधान संवाद र सहमतिबाट मात्र सम्भव हुने उल्लेख गर्दै आफ्ना माग शान्तिपूर्ण रूपमा प्रस्तुत गर्न सम्बन्धित पक्षलाई आह्वान गरेका छन् । सामाजिक सद्भाव कायम राख्न केन्द्रस्तरीय पहल मात्र पर्याप्त नहुने निष्कर्ष निकाल्दै बैठकले प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गर्न सम्बन्धित राजनीतिक दलका मातहतका समितिलाई निर्देशन दिएको छ । स्थानीय तहमा धार्मिक अगुवा, नागरिक समाज तथा प्रशासनबीच समन्वय बढाएर विश्वासको वातावरण निर्माण गर्न पनि आग्रह गरिएको छ । बैठकले यस्ता प्रकृतिका घटना पुनः दोहोरिन नदिन राजनीतिक दलहरूले केन्द्रीय तहबाट निरन्तर समन्वय, अनुगमन र नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रामक सूचना, घृणास्पद अभिव्यक्ति र अफवाहले परिस्थितिलाई थप जटिल बनाउन सक्ने भन्दै दलहरूले आम नागरिकलाई जिम्मेवार ढंगले सामाजिक सञ्जाल प्रयोग गर्न आग्रह गरेका छन् । सञ्चारमाध्यमलाई पनि तथ्यपरक र संयमित सूचना सम्प्रेषण गर्न अपिल गरिएको छ । संयुक्त वक्तव्यमार्फत सर्वदलीय बैठकले नेपाल सरकारको समेत गम्भीर ध्यानाकर्षण गराउँदै नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न अधिकतम संयमता अपनाउन, घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न तथा पीडितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ । बैठकले अन्त्यमा राष्ट्रिय एकता, सामाजिक सद्भाव र शान्तिको रक्षाका लागि सबै राजनीतिक दल एकताबद्ध रहेको सन्देश दिँदै उत्पन्न संकटको दिगो, प्रभावकारी र शान्तिपूर्ण समाधानका लागि सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको जनाएको छ ।
प्रधानमन्त्री र गृहमन्त्रीको बचाउमा रविले भने– उहाँहरूले आ-आफ्नो तर्फबाट कार्यसम्पादन गर्दै हुनुहुन्छ
काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री र गृहमन्त्रीले आ-आफ्नो तर्फबाट कार्यसम्पादन गरिरहेको बताएका छन् । बुधवार सिंहदरबारमा आयोजित सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो धारणा राखेका हुन्। उनले राजनीतिक दलहरूले एकअर्कालाई आरोप–प्रत्यारोप गर्नुभन्दा पनि संयमता अपनाउनुपर्ने बताए । मुलुकको वर्तमान परिस्थिति संवेदनशील रहेकाले शान्ति सुव्यवस्था र सामाजिक सद्भाव कायम राख्नु नै अहिलेको मुख्य दायित्व भएको लामिछानेको भनाइ छ । उनले विगतका आन्दोलन र वर्तमान परिस्थितिको पृष्ठभूमि फरक रहेको उल्लेख गरे । आन्दोलनका क्रममा नागरिकको ज्यान गएको घटनालाई अत्यन्त गम्भीर रूपमा लिँदै उनले यसमा सुरक्षा निकाय जिम्मेवार र जवाफदेही हुनुपर्नेमा जोड दिए । घटनाको सत्यतथ्य बाहिर ल्याउन समय लाग्ने बताउँदै उनले कुनैपनि अफवाह वा ‘कन्स्पिरेसी’ को पछि नलाग्न आग्रह गरे । विगतमा कुन परिस्थिति र विषयलाई लिएर आन्दोलन भएको थियो र अहिलेको अवस्था के हो भन्ने कुरा बुझ्न जरुरी रहेको लामिछानेको भनाइ छ । बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले वर्तमान घटनाक्रमको समीक्षा गर्दै सरकारको ध्यानाकर्षण गराएको उनले जानकारी दिए ।