पार्टी त्यागेपछि कांग्रेसले गुमायो ३ वडाअध्यक्षसहित ७ जना जनप्रतिनिधि

काठमाडौं । दल त्याग गरेपछि नेपाली कांग्रेसबाट स्थानीय तहमा निर्वाचित सात जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगका अनुसार कांग्रेसको केन्द्रीय कार्यसमितिले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू अन्य राजनीतिक दलमा प्रवेश गरेको जानकारीसहित आयोगमा पठाएको विवरणका आधारमा उनीहरूको निर्वाचित पद रिक्त भएको हो ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम आयोगले भदौ २२ गते उनीहरूको पद रिक्त भएको निर्णय गरेको जनाएको छ ।

पद रिक्त हुनेमा खोटाङको खोटेहाङ गाउँपालिका-३ का वडा अध्यक्ष जेफर राई, इलामको माईजोगमाई गाउँपालिका-३ का वडा अध्यक्ष राम घिमिरे र भोजपुरको साल्पासिलिछो गाउँपालिका-६ का वडा अध्यक्ष विक्रम वन सन्यासी रहेका छन् ।

त्यस्तै, भोजपुरको अरुण गाउँपालिकाका गाउँ कार्यपालिका सदस्य ललित कुमार राई, चितवनको भरतपुर महानगरपालिका-३ का वडा सदस्य माधव अर्याल, सुर्खेतको लेकवेशी नगरपालिका-१ का वडा सदस्य हरि प्रसाद रेग्मी र मुस्ताङको घरपझोङ गाउँपालिका-५ का वडा सदस्य कृष्ण प्रसाद थकालीको पद पनि रिक्त भएको आयोगले जनाएको छ ।

Share News