प्रधानमन्त्री शाहको अमेरिका भ्रमण टोलीमा को–को छन् ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औं महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असोज ६ गते अमेरिका जाने भएका छन् । यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने तयारी भए पनि पछिल्लो निर्णयअनुसार प्रधानमन्त्री स्वयं महासभामा सहभागी हुन लागेका हुन् । प्रधानमन्त्री शाहले असोज ८ गते महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनी असोज ९ गते स्वदेश फर्कने तयारीमा छन् ।  प्रधानमन्त्रीको नेतृत्वमा जाने प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्र सचिव अमृतबहादुर राई, परराष्ट्र मन्त्रालयका सहसचिवहरू कृष्णप्रसाद ढकाल र कुमारराज खरेल तथा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकराज थापा रहनेछन् । त्यस्तै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, निजी सचिव सुभाष शर्मा र प्रदीप परियार तथा प्रधानमन्त्रीका फोटोग्राफर विनय शाक्य पनि भ्रमण टोलीमा रहनेछन् । महासभामा प्रधानमन्त्री शाहले नेपालको तर्फबाट सम्बोधन गर्नुका साथै विभिन्न मुलुकका प्रतिनिधि तथा उच्च अधिकारीसँग भेटवार्ता गर्ने तयारी छ ।  परराष्ट्रमन्त्री खनालले पनि महासभाका क्रममा विभिन्न मुलुकका समकक्षी तथा कूटनीतिक प्रतिनिधिसँग द्विपक्षीय र साइडलाइन भेटवार्ता गर्नेछन् । प्रधानमन्त्रीको सम्बोधनमा नेपालले भोगिरहेको जलवायु जोखिम, जलवायुजन्य विपद्, जलवायु न्याय तथा अन्तर्राष्ट्रिय सहयोगका विषय उठाउने तयारी गरिएको छ । पछिल्लो समय भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको क्षतिलाई समेत अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने तयारी छ । परराष्ट्र सचिव राईसहित मन्त्रालयका अधिकारीहरूले महासभाका औपचारिक कार्यक्रम तथा द्विपक्षीय भेटवार्तामा कूटनीतिक समन्वय गर्नेछन् । न्यूयोर्कस्थित नेपाली स्थायी नियोगले महासभाका कार्यक्रम र उच्चस्तरीय भेटवार्ताको व्यवस्थापनमा समन्वय गर्नेछ । प्रधानमन्त्री शाहको अमेरिका भ्रमण छोटो अवधिको हुनेछ । महासभाको उच्चस्तरीय सत्रमा सम्बोधन गरेपछि उनी असोज ९ गते नेपाल फर्किने तयारीमा छन् । सरकारले अन्तिम प्रतिनिधिमण्डल तथा भ्रमण कार्यक्रम औपचारिक रूपमा सार्वजनिक गरेपछि टोलीमा सहभागी सदस्यको संख्या वा नाममा परिवर्तन हुन सक्नेछ ।

संविधान दिवस भव्य रूपमा मनाउन एमालेको मातहत कमिटीलाई निर्देशन

काठमाडौं । नेकपा एमालेले असोज ३ गते मनाइने संविधान दिवस विभिन्न रचनात्मक कार्यक्रमसहित भव्य रूपमा मनाउन प्रदेश, जिल्ला तथा पालिका कमिटीहरूलाई निर्देशन दिएको छ । एमाले महासचिव शंकर पोखरेलले प्रदेश, जिल्ला र पालिका कमिटीका इन्चार्ज तथा अध्यक्षलाई पत्र पठाउँदै विगतका वर्षहरूमा झैं यस वर्ष पनि संविधान दिवसलाई उत्साहजनक रूपमा मनाउन निर्देशन दिएका हुन् । पत्रमा संविधानको रक्षाको सन्देशसहित आ-आफ्नो क्षेत्र र तहमा विभिन्न कार्यक्रम आयोजना गर्न भनिएको छ । एमालेले सोही अवसरमा प्रभातफेरी, दीपप्रज्वलन, विचार गोष्ठी, सरसफाइलगायतका रचनात्मक कार्यक्रम सञ्चालन गर्न पनि आग्रह गरेको छ । महासचिव पोखरेलले संविधान दिवसलाई सफल बनाउन मातहतका सम्पूर्ण कमिटी सक्रिय हुनुपर्ने उल्लेख गरेका छन् । नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको दिनको स्मरणमा हरेक वर्ष संविधान दिवस मनाइँदै आएको छ ।

दुईटै महाधिवेशन रोक्न शेखरको मध्यमार्गी प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै घोषित दुई महाधिवेशन रोक्न ‘मध्यमार्गी र विवेकपूर्ण समझदारी’ खोज्नुपर्ने प्रस्ताव अघि सारेका छन् । बिहीबार (आज) प्रेस वक्तव्य जारी गर्दै कोइरालाले सहमति र सहकार्यको बाटो खोज्न नेतृत्व तथा कार्यकर्तालाई आग्रह गरेका हुन् । कोइरालाले कांग्रेसको आसन्न दुई महाधिवेशनप्रति नै आफ्नो मुख्य चिन्ता रहेको उल्लेख गरेका छन् ।  दुई अलग महाधिवेशनले पार्टीलाई थप विभाजित बनाउने र त्यसको असर नेपालको राष्ट्रियता तथा लोकतान्त्रिक आन्दोलनमा पर्न सक्ने उनको धारणा छ । ‘दुई महाधिवेशनबाट यो देशको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा पर्ने आघात’ रोक्नुपर्ने भन्दै उनले आफू विगतदेखि नै पार्टी एकताका लागि प्रयासरत रहेको बताएका छन् ।  कोइरालाका अनुसार अहिलेको आवश्यकता पक्ष–विपक्षमा विभाजित भएर अघि बढ्नु नभई सबैलाई स्वीकार्य हुने समझदारीको बाटो पहिल्याउनु हो । कोइरालाले कांग्रेसको वर्तमान अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै पार्टी विभाजित र दिशाहीन भएको बताएका छन् ।  उनले ‘को ठीक र को बेठीक’ भन्ने बहसमा आफू नलाग्ने स्पष्ट गर्दै पार्टीभित्रको विवादलाई व्यक्तिगत असुरक्षा, अपमान र घृणाको तहमा पु‍र्याउन नहुने पनि बताएका छन् । उनले कांग्रेसभित्रको विवादसँगै मुलुकमा देखिएको प्राकृतिक विपत्तितर्फ पनि नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।  रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा भएको विपत्तिबाट नागरिकले ज्यान गुमाइरहेको र परिवार तथा आफन्त गुमाएका नागरिक पीडामा रहेको अवस्थामा कांग्रेसले राजनीतिक विवादभन्दा मानवीय संवेदनालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । पार्टीका संस्थापक नेता बीपी कोइरालालगायतको राजनीतिक तथा नैतिक विरासत स्मरण गर्दै उनले कांग्रेसले आफ्नो इतिहास र मूल्यमान्यतालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए । विश्व राजनीतिमा भइरहेको परिवर्तनको प्रभाव नेपालमा समेत परिरहेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा कांग्रेस थप एकताबद्ध हुनुपर्ने बताए । आफूले अघि सारेको बाटोलाई ‘मध्यमार्ग’ भनेका छन् । यो बाटो कठिन भए पनि कांग्रेसको राजनीतिक जीवनदर्शनसँग मेल खाने उनको दाबी छ ।