कांग्रेसको ४३ जिल्लामा वडा अधिवेशन सम्पन्न, भोलि पनि जारी रहने

काठमाडौं । नेपाली कांग्रेसको १५ औं केन्द्रीय महाधिवेशनअन्तर्गत पहिलो चरणको वडा अधिवेशन असोज ३ गतेदेखि उत्साहप्रद रूपमा सुरु भएको छ । पार्टी केन्द्रीय कार्यसमितिको निर्णयानुसार आगामी २०८३ असोज १६ देखि १९ गतेसम्म आयोजना हुने महाधिवेशनका लागि शनिबार देशका ४३ जिल्लाका ३ हजार ३९६ वडामा अधिवेशन तथा निर्वाचन प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । शनिबार अधिवेशन सम्पन्न भएका जिल्लाहरूमा ताप्लेजुङ, पाँचथर, संखुवासभा, धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर, काठमाडौं, गोरखा, कास्की, मनाङ, पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्वी भाग), रोल्पा, प्युठान, रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर र कैलाली रहेका छन् । सम्पन्न अधिवेशनबाट नयाँ वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिहरूको चयन गरिएको छ । केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको कार्यतालिका अनुसार रसुवा, नुवाकोट र धादिङबाहेक बाँकी ३१ जिल्लामा भोलि असोज ४ गते पनि वडा अधिवेशन प्रक्रिया निरन्तर जारी रहने कांग्रेसले जनाएको छ ।

जेनजी आन्दोलनमा गोली नचलाउनु र दमन नगर्नु भनेको हुँ: केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा आफूले दमन नगर्न र गोली नचलाउन निर्देशन दिए पनि गोली चलाइएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार आयोजित संविधान दिवस समारोहलाई सम्बोधन गर्दै ओलीले भदौ २३ गते नवयुवासहितका युवाको हत्या योजनाबद्ध र षड्यन्त्रपूर्ण ढंगले गराइएको दाबी गरे । त्यसलाई निहुँ बनाएर भोलिपल्ट राष्ट्रव्यापी रूपमा लुटपाट, हिंसा, आतंक र अराजकता फैलाइएको उनको भनाइ छ । ओलीले आन्दोलनका क्रममा गोली चलाउने विषयमा आफूले दमन नगर्न निर्देशन दिएको भन्दै गोली कसरी चल्यो भन्ने विषय षड्यन्त्रपूर्ण रहेको बताए । उनले घटनाबारे विभिन्न अन्तर्राष्ट्रिय खोज, अध्ययन तथा अनुसन्धानका प्रतिवेदन, सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका सामग्रीले समेत विभिन्न पक्ष उजागर गरेको दाबी गरे । उनले भने, ‘गत वर्ष एउटा नरहत्याको योजना रचना गरियो । त्यस योजना अन्तर्गत २३ गते अनावश्यक ढंगले नवयुवाहरू र अरू युवाको हत्याको काण्ड घटाउने काम भयो योजनाबद्ध ढंगले, षड्यन्त्रपूर्ण ढंगले । त्यसलाई निहुँ बनाएर भोलिपल्ट राष्ट्रव्यापी रूपमा लुटपाट, हिंसा, आतंक, अराजकता फैलाउनु थियो, त्यो फैलाइयो ।’ ओलीले भदौको हिंसा तथा तोडफोडलाई आधार बनाएर आफूहरूमाथि दोष थोपर्ने प्रयास भएको बताए । उनले आफूले गोली नचलाउन र दमन नगर्न भनेको भए पनि आन्दोलनका क्रममा गोली कसरी चल्यो भन्ने विषयमा छानबिन हुनुपर्ने बताए । त्यस्तै, उनले नेपाललाई अराजकतातर्फ धकेलेर असंवैधानिक सरकार स्थापना गर्ने र आफ्ना स्वार्थ पूरा गर्ने षड्यन्त्र भएको दाबी गरे । संविधान र लोकतान्त्रिक प्रक्रियाबाट अघि बढिरहेको मुलुकलाई सडकबाट केही हजार मानिस अगाडि सारेर ध्वस्त पार्ने प्रयास भएको उनको आरोप थियो । ओलीले देशलाई पुनः अन्धकार युग र अराजकतातर्फ फर्काउने प्रयास भइरहेको पनि बताए । उनका अनुसार मुलुकमा विधि, पद्धति र प्रक्रियाभन्दा बलजफ्तीका माध्यमबाट काम गर्ने प्रवृत्ति बढेको छ । उनले भने, ‘कतिपय पछाडि, ब्ल्याक होलतिर, अन्धकार युगतिर फर्काउने, अराजकतातिर फर्काउने प्रयासमा जुटिरहेका छन् । स्थिति होइन, विधि होइन, पद्धति होइन, प्रक्रिया होइन, बलजफ्तिका यस्ता तरिका अवलम्बन भइरहेका छन् ।’ ओलीले अराजक तरिकाले मुलुक र संवैधानिक निकाय तथा संस्थाहरू सञ्चालन गर्ने प्रयास भइरहेको आरोप लगाए । अराजकताले हिंसा, अकर्मण्यता, गैरजिम्मेवारी र दिशाहीनता निम्त्याउने भन्दै उनले लोकतान्त्रिक विधि, प्रक्रिया र प्रणालीबाट मुलुक सञ्चालन हुनुपर्ने बताए । गत भदौ २३ र २४ गतेको आन्दोलन संविधान र लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने उद्देश्यले आयोजना गरिएको ओलीको दाबी थियो । उनले उक्त घटनामा कसको संलग्नता थियो भन्ने विषय बिस्तारै खुल्दै गएको बताए । ओलीले विभिन्न शक्तिहरू नेपाललाई ‘कुबातो’तर्फ धकेल्न सक्रिय रहेको दाबी गर्दै गत निर्वाचनको मौन अवधिमा बीबीसीले नेपालमा गलत सूचना सम्प्रेषण गरेर मतदातालाई दिग्भ्रमित पार्न खोजेको आरोपसमेत लगाए । उनले स्थापित भनिएका कतिपय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसमेत नेपालमा असत्य सूचना फैलाएर जनतालाई दिग्भ्रमित पार्न उद्यत भएको जिकिर गरे ।

आज संविधान दिवस मनाइँदै

काठमाडौं । आज संविधान दिवस मनाइँदै छ । २०७२ साल असोज ३ गते संविधान सभाबाट संघीयतासहितको नेपालको संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिन्छ । संविधान दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । काठमाडौंमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरूको सहभागिता रहने गरेको छ । संविधान दिवसका अवसरमा प्रदेश तथा स्थानीय सरकारले पनि विभिन्न कार्यक्रम आयोजना गर्ने गरेका छन् । यस्तै, गणतन्त्रवादी राजनीतिक दल, विभिन्न संघसंस्था तथा नागरिकस्तरबाट समेत छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी दिवस मनाइँदै आएको छ । दिवसको अवसरमा विभिन्न राजनीतिक दलका नेता तथा अन्य विशिष्ट व्यक्तिहरूले शुभकामना सन्देशसमेत जारी गरेका छन् ।