रास्वपाको वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन मनोनीत, सचिवालय गठन र क्यान्डिडेट क्लब घोषणासहित १२ निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्रीसमेत रहेका बालेन्द्र शाह (बालेन) लाई  पार्टीको वरिष्ठ नेता मनोनित गरेको छ । पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा शाहलाई सर्वसम्मत रूपमा वरिष्ठ नेता बनाउने निर्णय गरिएको हो । बैठकले पार्टी विधान बमोजिम सभापतिसहित निर्वाचित पदाधिकारीहरू रहने गरी पार्टी सचिवालय गठन गरेको छ ।  सचिवालयमा उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र सोबिता गौतम, महामन्त्री विपिन कुमार आचार्य तथा सह-महामन्त्रीत्रय असिम शाह, हरि ढकाल र निशा डाँगी रहेका छन् । महाधिवेशनको विस्तृत समीक्षा गर्दै रास्वपाले वडादेखि केन्द्रसम्मका कमी-कमजोरीबाट पाठ सिकेर अघि बढ्ने निर्णय गरेको छ ।  आगामी स्थानीय तह निर्वाचनका लागि योग्य उम्मेदवार छनोट गर्न भाद्र १ गतेदेखि क्यान्डिडेट क्लबका लागि आवेदन खुल्ला गर्ने र मन्त्रीहरूसँग महिनाको कम्तीमा एक दिन पार्टी कार्यालयमा अनिवार्य संवाद गर्ने निर्णय पनि गरिएको छ । यसैगरी, अन्तर्राष्ट्रिय युवा दिवस २०२६ मनाउन कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा समिति गठन गरिएको छ भने नागरिकका समस्या सुन्न केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा पार्टी प्रतिनिधिहरूको दैनिक उपस्थिति अनिवार्य गरिएको छ ।  बैठकले आत्महत्या वा आत्मदाह जस्ता दुःखद घटनाका सामग्री सामाजिक सञ्जालमा सेयर नगर्न आफ्ना सदस्यहरूलाई कडा निर्देशन समेत दिएको छ ।

सुनसरीको वस्तुस्थितिबारे प्रधानमन्त्री बालेनलाई सुरक्षा प्रमुखको ब्रिफिङ

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सुनसरीमा हालै भएको घटना र त्यसपछि उत्पन्न शान्ति–सुरक्षाको परिस्थितिबारे सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत ब्रिफिङ लिएका छन् । गृहमन्त्री सुधन गुरुङको समेत उपस्थितिमा  प्रधानमन्त्री शाहले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की र  सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसँग छुट्टाछुट्टै भेट गरी सुनसरीको पछिल्लो वस्तुस्थिति, सुरक्षा चुनौती तथा सम्भावित जोखिमबारे विस्तृत जानकारी लिएका हुन् । ​ब्रिफिङका क्रममा प्रधानमन्त्री शाहले सुनसरीको परिस्थिति तत्काल नियन्त्रणमा लिन, आम नागरिकको धनजनको सुरक्षा सुनिश्चित गर्न र सामाजिक सद्भावमा खलल पुर्‍याउन खोज्ने तत्त्वहरूमाथि कडा निगरानी राख्न निर्देशन दिए । ​प्रधानमन्त्री शाहले शान्ति–सुरक्षा कायम राख्न कुनै पनि किसिमको सम्झौता नगर्न र गृह मन्त्रालय मातहतका दुवै सुरक्षा निकायलाई उच्च सतर्कताका साथ परिचालन गर्न पनि निर्देशन दिए ।

यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयहरू

काठमाडौं । बुधबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न निर्णयहरू सार्वजनिक भएका छन् ।सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् । यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू : १.सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनियमसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने । २.समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा ऐडराज दाहाल सिन्धुलीलाई मनोनयन गर्ने । ३.प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् छैटौं संशोधन नियमावली–२०८३ स्वीकृत गर्ने । ४.तल देहाय बमोजिमका विधेयकहरूलाई संघीय संसद्‌मा पेश गर्नका लागि स्वीकृति दिने –संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधासम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक । –खानी तथा खनिज पदार्थ सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक । –संक्रामक पशुरोग तथा नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक । –राहदानी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक । –मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, पहिलो संशोधन विधेयक । –बालश्रम निषेध तथा नियमित गर्न बनेको सम्बन्धी विधेयक । –आन्तरिक वायुसेवाको दायित्वसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक । –मेलमिलापसम्बन्धी ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक । –कर्मचारी संशोधन ऐन, २०१९ लाई संशोधन गर्न बनेको विधेयक ।