कांग्रेस नेताहरूले भेटे प्रधानमन्त्री शाह, जलवायु संकट अन्तर्राष्ट्रियकरण गर्न आग्रह

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई भेटेर भोटेकोशी विपद्सहित जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका संकटलाई संयुक्त राष्ट्रसंघको महासभामा प्राथमिकताका साथ उठाउन आग्रह गरेका छन् । सोमबार सिंहदरबार पुगेर प्रधानमन्त्री शाहलाई भेटेका कांग्रेस नेताहरूले महासभामा नेपालको तर्फबाट उठाउनुपर्ने विषयबारे आफ्ना धारणा प्रस्तुत गरेका हुन् । भेटपछि नेता आङ्देम्बेले विकासन्युजसँग प्रतिक्रिया दिँदै भने, संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री सहभागी हुँदा उहाँको साथमा सिङ्गो देश रहेको सन्देश दिन कांग्रेसले भेटेर आफ्ना सुझाव र धारणा राखेको बताए । उनका अनुसार भोटेकोशी विपद्पछि उद्धार, राहत, पुनर्स्थापना तथा प्रभावित नागरिकको जीवनरक्षाका विषयमा सरकारले गरिरहेका काममा कांग्रेसले आवश्यक सहयोग गर्दै आएको छ । कांग्रेसले भोटेकोशी विपद्पछि उद्धार, राहत, पुनर्स्थापना तथा प्रभावित नागरिकको जीवनरक्षाका विषयमा सरकारलाई हरसम्भव सहयोग गरिरहेको आङ्देम्बेले बताए । उनले भने, ‘पार्टी उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वमा जलवायु परिवर्तनसम्बन्धी छलफलबाट आएका सुझाव र महासभामा नेपालले उठाउनुपर्ने विषय प्रधानमन्त्रीसमक्ष राखेका हौँ ।’ कांग्रेस नेताहरूले भोटेकोशी विपद्लाई जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकटसँग जोडेर अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिएका छन् । महासभामा नेपालको जोखिम, विपद् व्यवस्थापन, जलवायुजन्य क्षति तथा प्रभावित नागरिकका विषयलाई प्राथमिकताका साथ उठाउन आफूहरूले प्रधानमन्त्रीलाई आग्रह गरेको आङ्देम्बेले बताए । आङ्देम्बेले महासभामा प्रस्थान गर्नुअघि संसद्मा रहेका सबै दलसँग छलफल गरेर समान विचार बनाउन प्रधानमन्त्रीलाई आग्रह गरेको जानकारी दिए ।

एमालेको तेस्रो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । ललितपुरको भनिमण्डलमा नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कमिटी बैठकका लागि अधिकांश केन्द्रीय सदस्य भनिमण्डलस्थित बैठकस्थलमा पुगेका छन् । बैठकमा पार्टीको पछिल्लो राजनीतिक अवस्था, संगठन पुनर्गठन तथा निर्वाचन समीक्षा कार्यदलले तयार पारेको प्रतिवेदनलगायत विषयमा छलफल हुने बताइएको छ । यसअघि पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डा तथा छलफलका विषय टुंगो लगाउने प्रयास गरेको थियो । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूबीच केही विषयमा सहमति जुटाउन छलफल जारी रहेकाले सचिवालय बैठकसमेत लामो समय चलेको थियो । आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा कार्यदलबाट प्रस्तुत प्रतिवेदन, पार्टीको आगामी संगठनात्मक कार्यदिशा र निर्वाचनपछि पार्टीको अवस्थाबारे समीक्षा हुने अपेक्षा गरिएको छ । बैठकले पार्टीको आगामी राजनीतिक तथा संगठनात्मक रणनीतिसम्बन्धी महत्वपूर्ण निर्णय गर्ने तयारी गरेको एमाले नेताहरूले बताएका छन् ।

रामबागमा केन्द्रीय सदस्य जुटे, च्यासलमा सचिवालय बैठक अझै जारी

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकका लागि अधिकांश केन्द्रीय सदस्य ललितपुरको झम्सिखेलस्थित रामबाग महलमा पुगिसकेका छन् । केन्द्रीय कमिटी बैठक बस्ने तयारी भइरहे पनि पार्टीको केन्द्रीय कार्यालय च्यासलमा जारी सचिवालय बैठक भने अझै टुंगिएको छैन । केन्द्रीय कमिटी बैठकका एजेन्डा तथा पार्टी पुनर्गठन र निर्वाचन समीक्षा कार्यदलको प्रतिवेदनलाई अन्तिम रूप दिने विषयमा सचिवालयमा छलफल जारी रहेको एक एमाले नेताले जानकारी दिए । सचिवालय बैठकले कार्यदलबाट आएका सुझाव तथा प्रतिवेदनमाथि आवश्यक निर्णय गरेपछि मात्रै केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने विषय टुंगो लाग्ने ती नेताले बताए ।  कार्यदलले निर्वाचन समीक्षा र पार्टी पुनर्गठनसँग सम्बन्धित विभिन्न प्रस्तावलाई समेटेर प्रतिवेदन तयार पारे पनि केही विषयमा अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरूबीच सहमति जुटाउन बाँकी रहेको बताइएको छ । च्यासलमा सचिवालय बैठक लम्बिँदा रामबागमा पुगेका केन्द्रीय सदस्यहरू भने केन्द्रीय कमिटी बैठक सुरु हुने प्रतीक्षामा छन् ।  आजको बैठकमा पार्टीको पछिल्लो राजनीतिक अवस्था, निर्वाचन परिणामको समीक्षा, संगठन पुनर्गठन तथा आगामी कार्यदिशासहितका विषयमा छलफल हुने तयारी छ । सचिवालय बैठकले टुंग्याउने निर्णय र प्रस्तावकै आधारमा केन्द्रीय कमिटी बैठकका एजेन्डा अन्तिम रूप दिइने भएकाले दुवै बैठकलाई एमालेभित्र महत्त्वपूर्ण रूपमा हेरिएको छ । रामबाग महलमा केन्द्रीय सदस्यहरू जम्मा भइरहे पनि च्यासलको सचिवालय बैठक कहिले सकिन्छ भन्नेमा स्पष्ट समय तय भइसकेको छैन ।  सचिवालय बैठक सकिएपछि मात्रै केन्द्रीय कमिटी बैठक औपचारिक रूपमा सुरु हुने सम्भावना छ ।