कार्यवाहक प्रधानमन्त्री डा. वाग्ले र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बाउल्डिनबीच भेटवार्ता

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बाउल्डिनले अर्थ मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।  भेटका क्रममा दुई देशबीचको आर्थिक चासोका विषयमा छलफल भएको थियो ।  सो भेटमा अर्थ सचिव डा‍. घनश्याम उपाध्यायसहित अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरू तथा नेपालस्थित अमेरिकी दूतावासका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

अध्यक्ष ओलीसहित ११ औं महाधिवेशनबाट निर्वाचित नेतृत्व असफल भइसक्योः कर्ण थापा

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य कर्ण थापाले पार्टी नेतृत्वमा अध्यक्ष केपी शर्मा ओलीको सान्दर्भिकता समाप्त भइसकेको टिप्पणी गरेका छन् । बुधवार ललितपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले पार्टी गत फागुन २१ मा सम्पन्न निर्वाचनमा भएको अप्राकृतिक पराजयसँगै अध्यक्ष ओलीको सान्दर्भिकता समाप्त भइसकेको बताए । अध्यक्ष ओलीले पराजयको जिम्मेवारी लिँदै मार्गप्रशस्त गर्नुपर्नेमा थापाको जोड छ ।  उनले पार्टी पुनर्गठनको विषय कुनै व्यक्तिको व्यक्तिगत सोचको उपज नभई मुलुकको पछिल्लो राजनीतिक परिवेश, निर्वाचनमा एमालेले बेहोरेको पराजयको परिणाम भएको बताए ।  उनले गत २१ फागुनमा सम्पन्न निर्वाचनमा अध्यक्ष ओलीसहित सचिवालयका सबै सदस्य पराजित भएको उल्लेख गर्दै ११ औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेतृत्व र उक्त नेतृत्वले गरेको राजनीतिक प्रक्षेपण तथा विश्लेषणसमेत असफल भइसकेको जिकिर गरे । उनले भने, ‘११औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएको सम्पूर्ण नेतृत्व, त्यो नेतृत्वले गरेको प्रक्षेपण, विश्लेषण सबै कुरा पराजित भएको छ । यसको नेतृत्व अध्यक्षले गर्नुभएको कारण अब पार्टीमा उहाँको सान्दर्भिकता सकियो । उहाँको अनुमान फेल भयो, उहाँको विश्लेषण फेल भयो, उहाँ आफै पराजित हुनुभयो । योभन्दा ठूलो असफलताको लागि कुनै प्रमाण चाहिन्छ ? ’ उनले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनमार्फत निकास खोजिनुपर्नेमा समेत जोड दिए ।

सरकारको ‘अडिट’ गर्ने एमालेको नीति, सदन र सडकबाट खबरदारी

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रतिनिधिसभामा पार्टीको संख्या घटे पनि सरकारका गलत निर्णय र गतिविधिमाथि कडा निगरानी राख्दै रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । एमाले केन्द्रीय कमिटीको जारी बैठकमा पार्टीको आगामी प्रतिपक्षीय भूमिकाबारे धारणा राख्दै भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १८२ सिटसहित सरकारको नेतृत्वमा रहेको र एमाले २५ सिटमा सीमित भएको अवस्थामा पार्टीको भूमिका बदलिएको उल्लेख गरेका हुन् । भट्टराईले संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरण, राष्ट्रियता, राष्ट्रिय एकता, सामाजिक न्याय र विकास निर्माणका सकारात्मक कदममा सरकारले अघि बढाएका कामलाई एमालेले साथ दिनुपर्ने बताएका छन् ।  तर ती विषयमा सरकारले गलत निर्णय वा गतिविधि गरेमा त्यसको निरन्तर खबरदारी गर्नुपर्ने उनको धारणा छ । उनले एमालेले अब ‘खबरदारी र जागरण’लाई प्रतिपक्षीय भूमिकाको केन्द्रमा राख्नुपर्ने बताए ।  सरकारका कामको निगरानी गर्दै आवश्यकताअनुसार जनदबाब सिर्जना गर्नसमेत पार्टीले भूमिका खेल्नुपर्ने उनको भनाइ छ । भट्टराईले सरकारका गतिविधिमाथिको निगरानी संसदमा मात्र सीमित नराखी आवश्यकताअनुसार सदन र सडक दुवै मोर्चालाई समन्वय गरेर अघि बढाउनुपर्ने प्रस्ताव गरेका छन् । उनले संसदीय संख्याका आधारमा एमाले कमजोर अवस्थामा पुगे पनि लोकतान्त्रिक आन्दोलन, राष्ट्रियताको संरक्षण, सामाजिक न्याय र राष्ट्रिय एकताका क्षेत्रमा पार्टीको महत्त्वपूर्ण भूमिका रहेको दाबी गरे ।  वर्तमान संविधान निर्माणमा एमालेले नेतृत्वदायी भूमिका खेलेको स्मरण गराउँदै उनले बदलिएको संसदीय समीकरणकै आधारमा पार्टीको राजनीतिक हैसियतलाई मूल्यांकन गर्न नहुने संकेत गरेका छन् । भट्टराईको प्रस्तावले सरकारलाई समर्थन गर्ने र विरोध गर्ने विषयलाई मुद्दाका आधारमा छुट्याउनुपर्ने एमालेको प्रतिपक्षीय रणनीतिको संकेत गरेको छ ।  संविधान, लोकतन्त्र, राष्ट्रियता र विकासका सकारात्मक काममा सहयोग गर्ने तथा त्यसविपरीतका निर्णयमा सदन र सडकबाट दबाब बढाउने उनको प्रस्ताव छ ।