तीन महानगरमा कांग्रेसको नेतृत्व चयन

सुशन वैद्य, सुरेन्द्रमान बिजुक्छे र बुद्धिकान्त न्यौपाने ।

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत ६ महानगरपालिकामध्ये तीन महानगरमा अधिवेशन सम्पन्न भएको छ । 

काठमाडौं, पोखरा र भरतपुर महानगरमा नेतृत्व चयन भइसकेको छ भने बाँकी तीन महानगरको अधिवेशन प्रक्रिया बिहीबार हुँदैछ ।

कांग्रेस निर्वाचन समितिका अनुसार काठमाडौं महानगरपालिकाको सभापतिमा सुशन वैद्य निर्विरोध निर्वाचित भएका छन् । 

पोखरा महानगरपालिकाको सभापतिमा सुरेन्द्रमान बिजुक्छे ६८७ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी सन्तोष पौडेलले ३१७ मत प्राप्त गरेका थिए ।

यस्तै, भरतपुर महानगरपालिकाको सभापतिमा बुद्धिकान्त न्यौपाने ६६० मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी ज्योतिप्रसाद पौडेलले ४१३ मत प्राप्त गरेका छन् ।

बाँकी महानगरमध्ये ललितपुरको अधिवेशन बिहीबार सुरु भएको छ । निर्वाचन समिति प्रमुख राजु कटुवालका अनुसार ललितपुरको निर्वाचन प्रक्रिया बिहीबार नै सम्पन्न गर्ने तयारी छ । 

ललितपुर महानगर सभापतिका लागि राजु महर्जन र गणेशभक्त श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ ।

विराटनगर महानगरपालिकामा भने सबै वडाको अधिवेशन सम्पन्न नभएका कारण निर्धारित समयमा महानगर अधिवेशन हुन नसकेको स्थानीय कांग्रेस नेताहरूले बताएका छन् । 

निर्वाचन समिति प्रमुख कटुवालका अनुसार विराटनगरमा पनि बिहीबार महानगर अधिवेशन गर्ने तयारी गरिएको छ ।

वीरगञ्ज महानगरपालिकाको अधिवेशन शुक्रबार गर्ने तयारी छ ।

यससँगै कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत ६ महानगरमध्ये तीनमा नेतृत्व चयन भइसकेको छ भने बाँकी तीन महानगरको अधिवेशन सम्पन्न भएपछि महानगर तहको संगठनात्मक नेतृत्व चयन प्रक्रिया टुंगिनेछ ।

Share News