अध्यक्ष ओलीसहित ११ औं महाधिवेशनबाट निर्वाचित नेतृत्व असफल भइसक्योः कर्ण थापा

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य कर्ण थापाले पार्टी नेतृत्वमा अध्यक्ष केपी शर्मा ओलीको सान्दर्भिकता समाप्त भइसकेको टिप्पणी गरेका छन् ।

बुधवार ललितपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले पार्टी गत फागुन २१ मा सम्पन्न निर्वाचनमा भएको अप्राकृतिक पराजयसँगै अध्यक्ष ओलीको सान्दर्भिकता समाप्त भइसकेको बताए । अध्यक्ष ओलीले पराजयको जिम्मेवारी लिँदै मार्गप्रशस्त गर्नुपर्नेमा थापाको जोड छ । 

उनले पार्टी पुनर्गठनको विषय कुनै व्यक्तिको व्यक्तिगत सोचको उपज नभई मुलुकको पछिल्लो राजनीतिक परिवेश, निर्वाचनमा एमालेले बेहोरेको पराजयको परिणाम भएको बताए । 

उनले गत २१ फागुनमा सम्पन्न निर्वाचनमा अध्यक्ष ओलीसहित सचिवालयका सबै सदस्य पराजित भएको उल्लेख गर्दै ११ औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेतृत्व र उक्त नेतृत्वले गरेको राजनीतिक प्रक्षेपण तथा विश्लेषणसमेत असफल भइसकेको जिकिर गरे ।

उनले भने, ‘११औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएको सम्पूर्ण नेतृत्व, त्यो नेतृत्वले गरेको प्रक्षेपण, विश्लेषण सबै कुरा पराजित भएको छ । यसको नेतृत्व अध्यक्षले गर्नुभएको कारण अब पार्टीमा उहाँको सान्दर्भिकता सकियो । उहाँको अनुमान फेल भयो, उहाँको विश्लेषण फेल भयो, उहाँ आफै पराजित हुनुभयो । योभन्दा ठूलो असफलताको लागि कुनै प्रमाण चाहिन्छ ? ’

उनले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनमार्फत निकास खोजिनुपर्नेमा समेत जोड दिए ।

Share News