ईश्वर पोखरेलसहित ७ जना स्थायी कमिटीमा, यी हुन् २२ निर्णय

काठमाडौं । नेकपा एमालेको चार दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकले पार्टीको नेतृत्व संरचना, संगठन विस्तार र समसामयिक राजनीतिक विषय समेटिएका २२ वटा निर्णय गरेको छ । ललितपुरको भनिमण्डलमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ ।  बैठकले पूर्वराष्ट्रपति तथा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई पार्टीको दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेता पदमा मनोनीत गर्ने निर्णयसमेत गरेको छ ।  पार्टीको नेतृत्व संरचनामा गरिएको अर्को महत्त्वपूर्ण निर्णयअन्तर्गत ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र देवराज घिमिरेसहित सात जनालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरिएको छ । त्यस्तै, २० जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गर्ने निर्णय बैठकले गरेको छ । महासचिव शंकर पोखरेलद्वारा जारी बैठकका निर्णयसम्बन्धी वक्तव्यअनुसार केन्द्रीय कमिटीले मुलुकका समसामयिक राजनीतिक तथा राष्ट्रिय मुद्दामाथि समेत धारणा सार्वजनिक गरेको छ । बैठकले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको जनधनको ठूलो क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितको उद्धार, राहत तथा पुनस्र्थापनाका कामलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ । चार दिनसम्म चलेको बैठकले पार्टीको आगामी कार्यदिशा, संगठनात्मक व्यवस्थापन तथा समसामयिक राजनीतिक विषयमा निर्णय गर्दै सम्पन्न भएको एमालेले जनाएको छ ।

एमाले केन्द्रीय कमिटी बैठक सकियो

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार (आज) बसेको बैठक सम्पन्न भएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए । बैठकमा पार्टीको सांगठनिक संरचना, आगामी कार्यदिशा तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।  केन्द्रीय कमिटी बैठकपछि सचिवालय बैठकसमेत बसेको छ । बैठकका निर्णय र छलफलका विषयमा पार्टीले औपचारिक रूपमा जानकारी गराउने तयारी गरेको छ ।

१५औं महाधिवेशनमा कांग्रेसको मूल नारा  ः ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प’

काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशनका लागि ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ भन्ने मूल नारा तय गरेको छ । पार्टीको आगामी महाधिवेशनलाई लक्षित गर्दै कांग्रेसले संगठनको ऐतिहासिक विरासतलाई निरन्तरता दिँदै समयअनुकूल परिवर्तन र पार्टी सुदृढीकरणलाई जोड दिने सन्देशसहित उक्त नारा अघि सारेको हो । महाधिवेशनमार्फत पार्टीको संगठनात्मक संरचना थप सुदृढ बनाउने, नेतृत्व चयन गर्ने तथा आगामी राजनीतिक दिशाबारे छलफल गर्ने कांग्रेसको तयारी छ ।  महाधिवेशनको नाराले एकातर्फ पार्टीको परम्परागत राजनीतिक विरासतको निरन्तरता र अर्कोतर्फ संगठन तथा कार्यशैलीमा परिवर्तनको आवश्यकतालाई जोड दिएको छ । कांग्रेसले ‘समुन्नत नेपाल’ निर्माणका लागि पार्टीलाई सबल बनाउने विषयलाई पनि महाधिवेशनको प्रमुख राजनीतिक सन्देशका रूपमा अघि सारेको छ ।  महाधिवेशनमा नेतृत्व, संगठन, नीति तथा समसामयिक राजनीतिक विषयमा बहस हुने अपेक्षा गरिएको छ । कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत अहिले विभिन्न तहका अधिवेशन प्रक्रिया अघि बढिरहेको छ । स्थानीय तहदेखि प्रतिनिधि छनोट हुँदै केन्द्रीय नेतृत्व चयनको प्रक्रिया महाधिवेशनसम्म पुग्नेछ । पार्टीभित्र नेतृत्व र संगठन सञ्चालनको शैलीलाई लिएर बहस भइरहेका बेला सार्वजनिक गरिएको नाराले परम्परा र परिवर्तनबीचको सन्तुलनलाई महाधिवेशनको राजनीतिक सन्देश बनाउन खोजेको देखिन्छ ।  महाधिवेशनले तय गर्ने नेतृत्व र नीतिले आगामी दिनमा कांग्रेसको संगठनात्मक तथा राजनीतिक दिशालाई प्रभावित गर्नेछ ।