रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक पुनः स्थगित
काठमाडौं । प्रतिनिधिसभाको बैठक पुनः स्थगित गरिएको छ । संघीय संसद् सचिवालयले सूचना जारी गर्दै बिहीबार (भोलि) बिहान ११ बजेका लागि तय गरिएको बैठक स्थगित भएको जनाएको हो । संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सूचनाअनुसार अब प्रतिनिधिसभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्नेछ । यसअघि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई ध्यानमा राख्दै प्रतिनिधिसभा बैठक ६ दिनपछि सारिएको थियो । तर चितवनमा जारी महाधिवेशन निर्धारित कार्यतालिकाभन्दा लम्बिएपछि बैठक पुनः स्थगित गरी असार १२ गतेका लागि तोकिएको हो । हाल प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का अधिकांश सदस्य तथा रास्वपाका सांसदहरू महाधिवेशनमा सहभागी हुन चितवनमा रहेका छन् । महाधिवेशनको कार्यक्रम अझै जारी रहेकाले संसद् बैठक सञ्चालनमा प्रभाव परेको बताइएको छ । लगातार बैठक स्थगित हुँदा संसद्को नियमित कार्यसूची प्रभावित भएको छ भने महाधिवेशन सकिएपछि मात्र प्रतिनिधिसभाको नियमित बैठक सञ्चालन हुने अपेक्षा गरिएको छ ।
महाधिवेशन तयारीः कांग्रेसले ७७ वटै जिल्लामा खटायो केन्द्रीय प्रतिनिधि
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै सञ्चालन गरिएको नयाँ क्रियाशील सदस्यता वितरण अभियानका लागि देशभरका ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णयअनुसार नयाँ क्रियाशील सदस्यता वितरण कार्यलाई प्रभावकारी, व्यवस्थित र पारदर्शी बनाउन प्रतिनिधिहरू तोकिएको कांग्रेसले जनाएको छ । कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिअनुसार प्रतिनिधिहरू असार ७ गतेदेखि २० गतेसम्म सम्बन्धित जिल्लामा खटिनेछन् । कांग्रेसले विशेषगरी ३५ वर्षमुनिका युवाहरूको अधिकतम सहभागिता सुनिश्चित गर्ने उद्देश्यसहित सदस्यता वितरण अभियान सञ्चालन गर्न लागेको जनाएको छ । खटाइएका केन्द्रीय प्रतिनिधिहरूले जिल्लामा पुगेर सदस्यता वितरण प्रक्रियाको समन्वय, सहजीकरण तथा अनुगमन गर्ने जिम्मेवारी पाएका छन् । विज्ञप्तिअनुसार बागमती प्रदेशअन्तर्गत काठमाडौंमा कांग्रेसका सह–महामन्त्री उदयशमशेर राणा, चितवनमा डा. केदारनरसिंह केसी तथा ललितपुरमा मनोजमणि आचार्यलाई प्रतिनिधि तोकिएको छ । यस्तै, कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा पनि केन्द्रीय सदस्य तथा पार्टीका विभिन्न तहका नेताहरूलाई जिम्मेवारी दिइएको छ । कांग्रेसले आगामी महाधिवेशनको तयारीस्वरूप संगठन विस्तार, नयाँ सदस्य आकर्षण र युवाको प्रतिनिधित्व बढाउने लक्ष्यसहित सदस्यता वितरण अभियानलाई प्राथमिकतामा राखेको जनाएको छ । पार्टीले तोकिएका प्रतिनिधिलाई सम्बन्धित जिल्लामा सक्रिय रूपमा परिचालन भई अभियान सफल बनाउन निर्देशनसमेत दिएको छ ।
खुला मधेसी कोटाबाट केन्द्रीय सदस्य पदमा मन्त्री यादवको उम्मेदवारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘खुला मधेसी’ कोटाबाट केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । रास्वपाको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन असार ७ गते देखि चितवनमा जारी छ । सोही महाधिवेशनका लागि यादवले केन्द्रीय नेतृत्वमा आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् । भारतको आईआईटी मद्रासबाट एम.टेक गरेका यादवले आफ्नो चुनावी प्रतिबद्धतामा नीतिगत स्पष्टता र सामाजिक रूपान्तरणलाई जोड दिनएका छन् । रास्वपाले समावेशी र लोकतान्त्रिक पद्धतिलाई अँगाल्दै महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने तयारी गरिरहँदा आफ्नो उम्मेदवारीले मधेसी समुदायको सम्मान, पहिचान र राष्ट्र निर्माणमा युवा इन्जिनियरहरूको भूमिकालाई स्थापित गर्ने विश्वास यादवको छ । आफूलाई मतदान गरी विजयी गराउन महाधिवेशन प्रतिनिधिहरूसँग अपिलसमेत गरेका छन् ।