विपद्का घटनामा २१ जनाको मृत्यु, ५ जना बेपत्ता

काठमाडौं । पछिल्लो समय देशका विभिन्न भागमा आएको बाढी, पहिरो, चट्याङ र अविरल वर्षाका कारण २१ जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् ।  प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार साँझ सामाजिक सञ्जालमार्फत असोज ८ गतेदेखि हालसम्म भएका मनसुनजन्य विपद्का घटनामा ठूलो मानवीय तथा भौतिक क्षति भएको जानकारी दिएका हुन् ।  प्रधानमन्त्री शाहका अनुसार म्याग्दी, डोल्पा, धनुषा, पाल्पा, बाग्लुङ, लमजुङ, रुकुम पश्चिम, काभ्रे, धादिङ, मकवानपुर र सुर्खेत लगायतका जिल्लामा गरी २१ जनाको ज्यान गएको छ ।  उनले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइएको र बेपत्ताहरूको खोजी जारी रहेको बताएका छन् ।  देशभर ४३९ वटा मनसुनजन्य घटना दर्ता भएका छन् । विपद्का कारण गाउँ तथा सहरहरू डुबानमा परेका छन् भने सडक, पुल, खानेपानी र जलविद्युत् आयोजना जस्ता पूर्वाधारमा गम्भीर क्षति पुगेको छ । बाढीका कारण नारायणी नदीमा क्रुजसिप बगेर पुलमा अड्किएपछि पूर्व-पश्चिम राजमार्ग बन्द गरिएको छ ।पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कान्ति लोकमार्ग लगायत काठमाडौं उपत्यका जोड्ने मुख्य सडकहरू प्रभावित भएका छन् ।  कालीगण्डकीको पक्की पुल बगेको छ भने मर्मत गरिएका भोटेकोशी-त्रिशूली नदी तटीय सडकमा पुनः क्षति पुगेको छ । महाकाली नदीमा जलसतह बढेकाले कञ्चनपुरको गड्डाचौकी सीमाबाट हुने आवागमन रोकिएको छ । बाढी-पहिरोका कारण राष्ट्रिय प्रसारण लाइनबाट १ हजार १३.२ मेगावाट विद्युत् आपूर्ति ठप्प भएको छ । प्रसारण टावर ढलेका कारण ३१८ मेगावाटका आयोजना बन्द भएका छन् भने सम्भावित जोखिम टार्न ६९५.२ मेगावाटका आयोजना स्वयं बन्द गराइएको छ । हावाहुरी र वर्षाले किसानको धान तथा तरकारी बालीमा ठूलो क्षति पुर्‍याएको छ । प्रधानमन्त्री शाहले विपद्को समयमा नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो कर्तव्य भएको दोहोर्‍याउँदै प्रभावितहरूका लागि अस्थायी बसोबास र उद्धारको काम निरन्तर भइरहेको बताए । जोखिम अझै कायम रहेकाले तटीय तथा पहाडी क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन र अत्यावश्यक कामबाहेक यात्रा नगर्न उनले आग्रह गरेका छन् ।  कुनै पनि संकट परेमा निःशुल्क नम्बर १२३४ मा सम्पर्क गर्न आग्रह गर्दै प्रधानमन्त्रीले संकटको बेला भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने वा कालोबजारी गर्नेहरूमाथि सरकारले कडा निगरानी राखिरहेको चेतावनीसमेत दिएका छन् । 

पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको पर्यटन विकासलाई प्रभावकारी बनाउन अन्तरमन्त्रालय समन्वय आवश्यक रहेको बताएका छन् ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले ४७औँ विश्व पर्यटन दिवसका अवसरमा आइतबार आयोजना गरेको कार्यक्रममा उनले पर्यटन विकासलाई प्रभावकारी बनाउन अन्तरमन्त्रालय समन्वय, सरकारी संस्थाको क्षमता अभिवृद्धि र निजी क्षेत्रसँगको निरन्तर सहकार्य आवश्यक रहेको बताए । पर्यटनमन्त्री पौडेलले पर्यटन विकासलाई एउटै मन्त्रालयको प्रयासबाट मात्र अघि बढाउन नसकिने भएकाले सरकारका विभिन्न निकायबीच प्रभावकारी समन्वयमा आफूले निरन्तर जोड दिँदै आएको उल्लेख गरे ।  उनले पर्यटन क्षेत्रसँग सम्बन्धित सरकारी संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने सरकारको योजना रहेको भन्दै बदलिँदो पर्यटन परिवेशअनुसार संस्थागत क्षमता र सेवा प्रवाहलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए । मन्त्री पौडेलले नेपालको मौलिक संस्कृति, परम्परा र समुदायमा आधारित जात्रा तथा पर्वहरू पर्यटनका महत्वपूर्ण आधार भएका बताए । पुस्तौँदेखि चलिआएका जीवन्त सामुदायिक जात्रा तथा सांस्कृतिक गतिविधिको संरक्षण र प्रवद्र्धनलाई पर्यटन विकाससँग जोड्नुपर्ने उनको भनाइ छ । उनले हिमालयलाई नेपालको मात्र नभई यस क्षेत्रकै पवित्र प्राकृतिक सम्पदाका रूपमा लिँदै हिमालबाट उत्पन्न नदीले यस क्षेत्रका करोडौं मानिसको जीवनयापनमा योगदान पुर्‍याइरहेको उल्लेख गरे । हिमाली सम्पदाको संरक्षणसँगै त्यसको दिगो पर्यटन उपयोगमा पनि ध्यान दिनुपर्ने उनले उल्लेख गरे ।  मन्त्री पौडेलले विद्यमान कानुन तथा नियमावलीमा देखिएका कमी-कमजोरी सुधार गर्न निजी क्षेत्रबाट प्राप्त सुझाव र प्रतिक्रिया सरकारका लागि महत्वपूर्ण हुने बताए । कार्यक्रममा नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष पन्तले भोटेकोशी बाढीबाट पर्यटन क्षेत्रले पाएको गम्भीर पाठलाई डिजिटल प्रविधिको प्रयोगसँग जोड्नुपर्ने बताए । उनले हालैको भोटेकोशी बाढीका कारण लाङटाङ जाने नियमित पहुँचमार्ग तथा आवास सुविधामा क्षति पुग्दा पर्यटन क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको भन्दै सुरक्षित पूर्वाधार, समयमै सूचना, वैकल्पिक पहुँचमार्ग र प्रभावकारी विपद् तयारी अब विकल्प नभई अनिवार्य आवश्यकता बनेको बताए । कार्यक्रममा पाटा फाउण्डेसनका अध्यक्ष एन्ड्रयू जोन्सले भोटेकोशी बाढीपछि नेपालको पर्यटन पुनरुत्थानका लागि पाटा फाउन्डेसनको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । उनले प्रकृतिमा आधारित पर्यटनलाई सहयोग पुर्‍याउन एआई र डिजिटल मिडियाको भूमिका थप महत्वपूर्ण बन्दै गएको बताए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य प्राडा सञ्जय आचार्य, प्रतिनिधिसभाअन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिकी सभापति सुम्निमा उदास, सोही समितिकी सदस्य अनुष्का श्रेष्ठ, प्रतिनिधीसभा सदस्यद्धय डा अर्जुनकुमार कार्की, मिङ्मा ग्याबु शेर्पालगायतले पर्यटन क्षेत्रमा प्रविधिको प्रयोग, रोजगारी संरक्षण, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको सुदृढीकरण तथा पर्यटकलाई प्रमाणित र विश्वसनीय सूचना उपलब्ध गराउने विषयमा आआफ्नो धारणा राखे ।  कार्यक्रममा गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालले तीनवटा गाउँलाई ‘वर्ष गन्तव्य गाउँ’ घोषणा गरेको थियो । घोषित गाउँका प्रतिनिधिलाई मन्त्री पौडेलले प्रमाणपत्र प्रदान गरेका थिए । ग्रामीण पर्यटन, स्थानीय संस्कृति र समुदायलाई पर्यटनको मूल प्रवाहसँग जोड्ने उद्देश्यले यस्तो पहल गरिएको बोर्डले जनाएको छ ।

गगन महाधिवेशनमा, देउवा जिल्लातिर संगठन बनाउँदै, शेखर अझै अन्यौलमा

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनको मिति नजिकिँदै जाँदा पार्टीभित्र दुई अलग महाधिवेशन प्रक्रियाले संगठनात्मक आकार लिइसकेका छन् । सभापति गगन थापा नेतृत्वको कांग्रेसले असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने गरी अधिवेशन प्रक्रिया अघि बढाएको छ भने निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म छुट्टै महाधिवेशन गर्ने तयारीलाई जिल्ला तहसम्म विस्तार गरीरहेको छ । तर, यी दुई प्रक्रियाबीच नेता डा. शेखर कोइराला भने अहिलेसम्म अन्यौलमै देखिन्छन् । उनले महाधिवेशनमा सहभागी नभई तटस्थ बस्ने निर्णय गरेको उनीनिकट नेता बद्री पाण्डेले बताएका छन् ।  तर, शेखरनिकट नेताहरू भने एउटै धारमा देखिएका छैनन् । पूर्वउपसभापति धनराज गुरुङसहित केही नेता गगन नेतृत्वको महाधिवेशन प्रक्रियामा गएका छन् । पूर्व सहमहामन्त्री बद्री पाण्डे, गत महाधिवेशनमा महामन्त्रीका प्रत्याशी डा. मिनेन्द्र नेताहरु बलबहादुर केसी, सरिता प्रसाईं र सञ्जय गौतमलगायत नेताहरुले भने शेखरलाई साथ दिइरहेका छन् । महाधिवेशनको रौनकमा गगन गगन कुमार थापा नेतृत्वको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार केन्द्रीय महाअधिवेशनका प्रतिनिधि छनौट प्रक्रिया अन्तिम चरणमा पुगेको छ । संशोधित कार्यतालिकाअनुसार ६ हजार ७ सय ४३ वडामा भदौ २४ गते वडा अधिवेशन सम्पन्न भएको छ । भदौ २७ गते गाउँ-नगर अधिवेशन टुंगिसकेको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन् ।  १५औं महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन अन्तर्गत आज आइतबार १३ जिल्लामा प्रतिनिधि छनोटको काम हुँदै गरेको कटुवालले जानकारी दिए ।  अत्यधिक वर्षाका कारण असोज १० गतेका लागि तोकिएको अधिवेशन निर्वाचन समितिले असोज १३ गतेभित्र अनुकूल मितिमा गर्न सक्ने विकल्प दिएपछि जिल्लाअनुसार फरक-फरक दिनमा क्षेत्रीय अधिवेशन भइरहेको कटुवालले जानकारी दिए । कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव कटुवालका अनुसार आज आइतबार झापा, मोरङ, काठमाडौं, म्याग्दी, बागलुङ, अर्घाखाँची, प्युठान, बाँके, डोल्पा, मुगु, हुम्ला, कालिकोट र सुर्खेतमा क्षेत्रीय अधिवेशन हुँदैछ । यस्तै, असोज १२ गते ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुली, धादिङ, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, नवलपुर, रुपन्देही, गुल्मी, दाङ, सल्यान, बाजुरा, बझाङ, अछाम र कैलालीमा अधिवेशन गर्ने तयारी छ । निर्वाचन समितिका अनुसार असोज १३ गते सुनसरी, नुवाकोट, मकवानपुर, नवलपरासी, बर्दिया र दैलेखमा तथा असोज १४ गते इलाममा क्षेत्रीय अधिवेशन गर्ने तयारी गरिएको छ । यसअघि असोज १० गते निर्धारित तालिकाअनुसार १७ जिल्लामा अधिवेशन सम्पन्न भएको समितिले जनाएको छ । डडेल्धुरा, मनाङ, मुस्ताङ र बैतडीको क्षेत्रीय अधिवेशनबाट नतिजासमेत आइसकेको कटुवालले जानकारी दिए । त्यसैगरी संखुवासभा, धनकुटा, उदयपुर, चितवन, ललितपुर, कपिलवस्तु, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, जुम्ला, डोटी, दार्चुला र कञ्चनपुरमा निर्वाचन प्रक्रिया जारी छ । बाँकी जिल्लामा पनि असोज १३ गतेभित्र अधिवेशन सम्पन्न गर्ने गरी तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ । त्यसपछि असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ । केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रतिनिधि परिचालन र अभिमुखीकरणसमेत सुरु भइसकेको जनाएको छ । यसरी संस्थापन पक्षको महाधिवेशन प्रक्रिया अब घोषणाको चरणमा मात्र नभई तल्लो तहका अधिवेशन हुँदै प्रतिनिधि छनोटको चरणमा प्रवेश गरिसकेको छ । देउवा पक्ष जिल्ला तहमा  देउवा पक्षले पनि छुट्टै महाधिवेशनको तयारीलाई संगठन परिचालनमा रूपान्तरण गरेको छ । पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा गठित १५औं केन्द्रीय महाधिवेशन तयारी समितिले ५५ जिल्लामा संयोजक तोकेको छ । समितिले सात प्रदेशका ती जिल्लामा संयोजक तोकेको हो । मधेश प्रदेशका कुनै पनि जिल्लामा भने अहिलेसम्म संयोजक तोकिएको छैन । प्रस्तावित कार्यतालिकाअनुसार असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने तयारी रहेको नेता जितजंग बस्नेतले जानकारी दिए । त्यसपछि मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यक्रम रहेको बस्नेतले बताए । यससँगै देउवा पक्षको तयारी पनि समानान्तर संगठन निर्माण र अधिवेशन सञ्चालनको चरणमा पुगेको छ । शेखरको 'सुलेसन'ले काम गरेन शेखर कोइरालाले पार्टीभित्र विभाजनको अवस्था आउन नदिन संवाद र सहमतिको प्रयासलाई प्राथमिकता दिएका छन् । यही कारण उनले आफू कुनै पनि महाधिवेशन प्रक्रियामा सहभागी नहुने र तटस्थ बस्ने निर्णय लिएको उनीनिकट नेताहरूले बताएका छन् । तर, उनको समूहका नेताहरू भने क्रमशः फरक–फरक दिशामा देखिएका छन् । शेखरनिकट तत्कालीन उपसभापति धनराज गुरुङसहित दीपक गिरी, कृष्णचन्द्र नेपाली, किरण यादव, चन्द्रमोहन यादव, रुक्मिणी कोइराला र टेकप्रसाद गुरुङ गगन नेतृत्वको महाधिवेशन प्रक्रियामा सहभागी भएका छन् । पुर्व सहमहामन्त्री बद्री पाण्डे, डा. मिनेन्द्र रिजाल, बलबहादुर केसी, सरिता प्रसाईं र सञ्जय गौतमलगायत नेताहरू शेखरको निर्णयपछि पार्टी एकताको पक्षमा कसरी अघि बढ्ने भन्नेबारे छलफलमा रहेका छन् ।  यसअघि गगन थापाले केन्द्रीय कार्यसमितिमा मनोनयन गरेका १९ जनामध्ये शेखर पक्षसँग निकट मानिएका जीवन परियार, सुजता कोइराला, दिलेन्द्रप्रसाद बडू, डा. चन्द्रकान्त भण्डारी, राजिव कोइराला, डा. गोविन्दराज पोखरेल र दिनेश कोइराला समेटिएका थिए । यससँगै १४औँ महाधिवेशनमा शेखर–गगन समीकरणमा रहेका नेताहरूको एउटा हिस्सा नयाँ संस्थागत संरचनामा पुगिसकेको छ । एउटै पार्टी, दुई कार्यतालिका कांग्रेसमा अहिले मूल विवाद महाधिवेशनको मिति मात्र होइन, कुन प्रक्रियाबाट हुने महाधिवेशनलाई पार्टीको आधिकारिक महाधिवेशन मान्ने भन्ने प्रश्नमा केन्द्रित भएको छ । गगन नेतृत्वको पक्षले असोज १६-१९ गतेको महाधिवेशनलाई केन्द्रीय कार्यसमितिको निर्णय र निर्वाचन समितिको कार्यतालिकाअनुसार अघि बढाएको छ । निर्वाचन समितिले सर्वोच्च अदालतको फैसलासमेत उल्लेख गर्दै निर्धारत मितिमै महाधिवेशन सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढाइएको जनाएको छ । देउवा पक्षले भने आफ्नो छुट्टै संगठनात्मक संरचना निर्माण गरेर मंसिर २१–२३ गते महाधिवेशन गर्ने तयारी गरिरहेको छ । जिल्ला संयोजक र केन्द्रीय प्रतिनिधि परिचालन भइसकेपछि उसको समानान्तर प्रक्रिया पनि संगठनात्मक तहमा विस्तार भएको छ । यही अवस्थामा शेखर कोइराला दुवै प्रक्रियाबाट तत्काल बाहिर छन् । तर, उनी निकट नेताहरू भने एउटै ठाउँमा छैनन् । यसले १४औं महाधिवेशनमा एउटै समूहका रूपमा देखिएको शेखर पक्ष अहिले फरक–फरक राजनीतिक बाटोमा रहेको देखाएको छ । अब कांग्रेसको महाधिवेशन प्रक्रियामा असोजको मिति निर्णायक चरणमा प्रवेश गर्दै गर्दा शेखरको तटस्थता कति समय कायम रहन्छ र उनका निकट नेताहरू कुन प्रक्रियामा संगठित हुन्छन् भन्ने विषय पार्टीभित्रको आगामी समीकरणको महत्वपूर्ण पक्ष बनेको छ । तर, शेखरले रोक्न खोजेको विभाजन भने नरोकिएको राजनितिक विश्लेषक पर्शुराम घिमिरेको दाबी छ ।  अधिवक्ता समेत रहेका घिमिरे भन्छन्, ‘एकताका लागि शेखरले चप्काउन खोजेको गुँदले काम नगरेको सत्य हो ।’ उनका अनुसार अहिलेको कांग्रेसको संगठनात्मक तस्वीर तीन तहमा देखिएको छ । एउटा तह गगन पक्ष असोजको महाधिवेशनतर्फ अघि बढिरहेको छ । देउवा पक्ष मंसिरको समानान्तर महाधिवेशनका लागि जिल्ला तहमा संरचना बनाउँदैछ । शेखर कोइराला दुवै प्रक्रियाबीच तटस्थ रहँदै सहमतिको बाटो खोजिरहेका छन् ।