प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको भेट, द्विपक्षीय सहकार्यबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज उनीहरूबीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा नेपाल-भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको छ। भेटमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाए । प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिए ।

भारतीय र चिनियाँ राजदूतसँग आज प्रधानमन्त्रीले छुट्टाछुट्टै भेटवार्ता गर्ने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सोमबार नेपालका लागि भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजे दुवै राजदूतसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको हो । कार्यक्रमअनुसार प्रधानमन्त्री शाहले सुरुमा भारतीय राजदूतसँग भेटवार्ता गर्नेछन् । त्यसलगत्तै उनले नेपालका लागि चिनियाँ राजदूतसँग भेट गर्नेछन् । प्रधानमन्त्री नियुक्त भएपछि शाहले पहिलोपटक नेपालका दुई ठूला छिमेकी मुलुकका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्न लागेका हुन् । यसअघि गत चैत १३ गते प्रधानमन्त्री नियुक्त भएपछि उनले नेपालमा रहेका विभिन्न मुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गरेका थिए । प्रधानमन्त्री शाहको आजको भेटवार्तामा नेपाल–भारत तथा नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र समसामयिक कूटनीतिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ । यसैबीच, प्रधानमन्त्री शाहले मंगलबार अमेरिकी दूतावासका उच्च अधिकारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिनिधिसभा र ४ संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्दैछ । बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ । सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा परराष्ट्र मन्त्रालय तथा युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछन् । त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन् । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ । यसैगरी, प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गौतमले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । प्रधानमन्त्री शाहकै तर्फबाट मन्त्री गौतमले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ पारित गरियोस्’ भन्ने प्रस्तावसमेत पेस गर्ने कार्यसूची रहेको छ । यसैबीच, आज विभिन्न चारवटा संसदीय समितिको बैठक पनि बस्दैछ । निर्धारित कार्यसूचीअनुसार पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति तथा सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्नेछ । पूर्वाधार विकास समितिको बैठक बिहान १० बजे बस्नेछ। बैठकमा राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम रहेको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ९ बजे बस्नेछ। बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धमा छलफल हुनेछ ।   विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः३० बजे बस्नेछ । बैठकमा ‘राष्ट्रिय सदाचार नीति, २०८३’ को कार्यान्वयनका सम्बन्धमा छलफल गर्ने कार्यक्रम रहेको छ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको बैठक सञ्चालन कार्यविधिका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।