प्रतिनिधिको आवासमा ४ दिनको खर्च ४ करोड ५६ लाख

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा देशभरबाट आउने प्रतिनिधिको आवास व्यवस्थापनका लागि करिब ३ हजार ८ सय कोठा आवश्यक पर्ने भएको छ ।  त्यसका लागि एक रातको मात्रै करिब १ करोड १४ लाख रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको आवास व्यवस्थापन समितिका संयोजक रमेश धमलाले जानकारी दिए । उनका अनुसार प्रतिनिधिलाई काठमाडौंको सुन्धारा, ठमेल र एयरपोर्ट क्षेत्रका होटलमा राख्ने तयारी गरिएको छ ।  होटलको औसत दर प्रतिकोठा ३ हजार रुपैयाँ पर्ने अनुमान गरिएको उनले बताए । ३ हजार ८ सय कोठालाई चार रातका लागि प्रतिकोठा ३ हजार रुपैयाँका दरले हिसाब गर्दा ४ करोड ५६ लाख रुपैयाँ खर्च हुन्छ । यसमा खाना, यातायात तथा अन्य व्यवस्थापन खर्च भने समावेश छैन । समितिले प्रतिनिधि, पदाधिकारी, अतिथि तथा व्यवस्थापनमा खटिने व्यक्तिका लागि आवश्यकताअनुसार ३ हजार ८ सयसम्म कोठा बुक गर्ने तयारी गरेको हो ।  काठमाडौं उपत्यकाका कतिपय प्रतिनिधि आफ्नै आवासमा बस्ने भएकाले सबै प्रतिनिधिलाई होटलमा राख्नुपर्ने अवस्था नरहेको समितिको भनाइ छ । विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका लागि भने कुपण्डोलस्थित होटल हिमालयनमा आवास व्यवस्थापन गर्ने तयारी गरिएको धमलाले जानकारी दिए । महाधिवेशन प्रतिनिधिको बास व्यवस्थापनको जिम्मेवारी आवास व्यवस्थापन समितिले नै लिएको छ । समितिले होटल व्यवसायीसँग समन्वय गरी कोठा बुकिङ तथा प्रतिनिधिको आवास व्यवस्थापन गरिरहेको जनाएको छ । कांग्रेसको १५औं महाधिवेशन असोज १८ देखि २१ सम्म काठमाडौंमा हुँदैछ । महाधिवेशनमा करिब ७ हजार प्रतिनिधि सहभागी हुने अनुमान गरिएको धमलाले जानकारी दिए ।

यी हुन् मन्त्रिपरिषद बैठकका ६ मुख्य निर्णय

काठमाडौं । मंगलबार (आज) बसेको मन्त्रिपरिषद बैठकले विभिन्न निर्णय गरेको छ ।  बैठकले विभिन्न ६ निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू : १. अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७ अमेरिकी डलर मिलियन बराबरको अनुदान सहायता स्वीकार गर्ने । २. पूर्वपश्चिम राजमार्ग अन्तर्गतको कमला–ढल्केश्वर पतलैया सडकखण्ड, गर्जनखोला साना जलविद्युत् आयोजना, बलेफीखोला जलविद्युत् आयोजना र सशस्त्र प्रहरी बल, नेपाल कार्यालयलाई तालिम शिक्षालय गुल्महरू तथा सीमा सुरक्षा पोस्ट निर्माण गर्न राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति प्रदान गर्ने । ३. पशु, बधशाला र मासु जाँच ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद् समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने । ४. संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद् समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने । ५. अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद् समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने । ६. नेपाल प्रशासन सेवा, समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा सहसचिव आभा श्रेष्ठ कर्णलाई बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशको प्रमुख सचिव पदमा र नेपाल इन्जिनियरिङ सेवा समूहिकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा डा. जगदीश्वर कर्मचार्यलाई बढुवा गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिव पदमा पदस्थापन गर्ने ।

मन्त्रिपरिषद बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आह्वान गरेको मन्त्रिपरिषद बैठक सुरु भएको छ ।  बैठक मंगलबार (आज) अपरान्ह पौने ४ बजेदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको हो । ३ बजे बस्ने भनिएको बैठक ढिलागरी सुरु भएको हो । बैठकले महत्त्वपूर्ण निर्णय गर्ने जनाइएको छ ।