केन्द्रीय सदस्यको मतदान सकियो, पदाधिकारीका लागि ४ बजेदेखि मतदान हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम ऐतिहासिक महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि प्रक्रिया तीव्र रूपमा अघि बढेको छ । महाधिवेशन अन्तर्गत ९९ सदस्यीय केन्द्रीय सदस्य चयनका लागि भएको मतदान कार्य सम्पन्न भएको छ । केन्द्रीय सदस्यको मतदान सकिएसँगै अब आजै पार्टीका प्रमुख पदाधिकारीहरू चयनका लागि मतदानको तयारी गरिएको छ । रास्वपा नेता मनिष झाका अनुसार पदाधिकारी चयनका लागि आज अपराह्न ४ बजेबाट मतदान सुरु हुने कार्यतालिका तय गरिएको छ । रास्वपाको पदाधिकारी तहमा निर्वाचित हुने ६ वटा पदका लागि पार्टीभित्र तीव्र प्रतिस्पर्धा देखिएको छ । ६ पदका लागि ५० जनाभन्दा बढी नेताहरूले आकांक्षा देखाएका छन् । यसअघि पार्टीको सभापतिमा रवि लामिछाने गत मंगलबार नै निर्विरोध निर्वाचित भइसकेका छन् । त्यस्तै, प्रधानमन्त्री बालेन्द्र शाह फेरि पनि रास्वपाको वरिष्ठ नेता बन्ने पक्का भएको छ । त्यस्तै, प्रधानमन्त्री बालेन्द्र शाहकै समूहबाट केन्द्रीय सदस्य तथा पदाधिकारीका लागि दाबेदार देखिएका नेताहरूलाई सभापति रवि लामिछानेले केन्द्रीय समितिमा मनोनयन गर्ने सहमति भएको छ । यसरी मनोनीत हुने नेताहरूमा भूपदेव शाह, सुनिल लम्साल र गृहमन्त्री सुदन गुरुङलगायत रहेका छन् ।
रास्वपा महाधिवेशन : ९ घण्टामा २३ सय मत खस्यो, मतदान जारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि मतदान जारी रहेको छ । बुधबार निर्धारित समयमै मतदान हुन नसकेपछि मध्यरातपछि सुरु भएको मतदानमा प्रतिनिधिहरूको उल्लेख्य सहभागिता देखिएको छ । निर्वाचन व्यवस्थापनमा संलग्न राम–लक्ष्मण इनोभेसनका लक्ष्मण रिमालका अनुसार बिहीबार बिहान ९ बजेसम्म करिब २३ सय प्रतिनिधिले मतदान गरिसकेका छन् । मतदानको गति हेर्दा दिउँसो १२ बजेसम्म ३ हजारभन्दा बढी मत खस्ने अनुमान गरिएको उनले बताए । केन्द्रीय निर्वाचन आयोगले पहिलो चरणको मतदानका लागि बिहीबार दिउँसो १२ बजेसम्मको समय तोकेको छ । यद्यपि महाधिवेशन प्रतिनिधिको संख्या ४१ सयभन्दा बढी रहे पनि मतदानमा भएको लामो ढिलाइका कारण केही प्रतिनिधि घर फर्किसकेको जनाइएको छ । रास्वपाको केन्द्रीय सदस्य पदका लागि ३८४ जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये खुलातर्फ २१० र भूगोलतर्फ १७४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रदेशगत कोटाअनुसार सातै प्रदेशबाट पाँच–पाँच जना गरी ३५ जना प्रतिनिधि निर्वाचित हुने व्यवस्था छ । पार्टी विधानअनुसार रास्वपाको केन्द्रीय समिति १५८ सदस्यीय हुनेछ । तीमध्ये ९९ जना निर्वाचनमार्फत चयन गरिनेछन् भने बाँकी सदस्य पछि मनोनयन गरिने व्यवस्था छ । पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणमा आठ पदाधिकारी चयनका लागि मतदान हुनेछ। सभापति पदमा भने रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । मतदान बुधबार बिहान ८ बजेदेखि सुरु हुने कार्यतालिका रहे पनि महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली टुंगो नलाग्दा प्रक्रिया पटक–पटक प्रभावित भएको थियो । निर्धारित समयभन्दा झन्डै १६ घण्टा ढिला गरी मतदान सुरु भएपछि महाधिवेशन स्थलमा प्रतिनिधिहरूले असन्तुष्टि जनाएका थिए । मतदान अनिश्चित बन्दै जाँदा केही प्रतिनिधिले बहिष्कारको चेतावनीसमेत दिएका थिए । त्यसक्रममा महाधिवेशन स्थलमा सुरक्षा व्यवस्था कडा पार्दै ठूलो संख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको थियो । हाल भने मतदान प्रक्रिया नियमित रूपमा अघि बढिरहेको छ । महाधिवेशन प्रतिनिधिहरू लामबद्ध भएर मतदान केन्द्रमा पुगिरहेका छन् भने निर्वाचन आयोगले मतदान सम्पन्न भएपछि छिट्टै मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।
रास्वपाको महाधिवेशनमा १ हजार ६ सय बढीले गरे मतदान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी रहेको छ । रातिदेखि सुरु भएको मतदानमा प्रतिनिधिहरूले पार्टीका केन्द्रीय सदस्य चयनका लागि मत हालिरहेका छन् । पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार पहिलो चरणको मतदान आज दिउँसो १२ बजेसम्म सञ्चालन हुनेछ । हालसम्म १ हजार ६ सयभन्दा बढी प्रतिनिधिले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन् । निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार पहिलो चरणमा ९९ सदस्यीय केन्द्रीय समितिका लागि कुल ३८४ जनाको उम्मेदवारी परेको छ । तीमध्ये खुलातर्फ ६४ पदका लागि २१० जना र भूगोलतर्फ ३५ पदका लागि १७४ जना प्रतिस्पर्धामा छन् । भूगोलतर्फ सातवटै प्रदेशबाट ५-५ जना गरी ३५ जना निर्वाचित हुनेछन् । प्रदेशगत रूपमा उम्मेदवारी संख्या हेर्दा सुदूरपश्चिमबाट १८, मधेशबाट २०, लुम्बिनीबाट ३१, कोशीबाट २०, कर्णालीबाट ३१, बागमतीबाट २७ र गण्डकीबाट २७ जनाले उम्मेदवारी दिएका छन् । मतदान चितवनस्थित उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा जारी छ । पहिलो चरणको मतदान सम्पन्न भएको दुई घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ । त्यसलगत्तै दोस्रो चरणको मतदान सुरु हुनेछ, जसमा सबै प्रतिनिधिले पार्टीका पदाधिकारी चयनका लागि मतदान गर्नेछन् ।