रास्वपाको केन्द्रीय सदस्यमा प्रधानमन्त्रीका ३ जना सल्लाहकारको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको सदस्य पदका लागि प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको सचिवालयमा कार्यरत तीन जनाले उम्मेदवारी दर्ता गरेका छन् । प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार प्रमुख राजनीतिक सल्लाहकार अशिम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल तथा स्वकीय उपसचिव प्रकृति ढकालले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन् । अशिम शाहले खुला समावेशीतर्फबाट उम्मेदवारी दिएका छन् भने सुदीप ढकालले खुलातर्फको केन्द्रीय सदस्य पदका लागि प्रतिस्पर्धा गर्दैछन् । त्यसैगरी, प्रकृति ढकालले खुला महिलातर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेकी छन् ।

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने निर्वाचित भएका छन् । सभापतिमा अरू कसैको उम्मेदवारी नपरेपछि केन्द्रीय निर्वाचन आयोगले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।  अब ९९ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ ।  रविको प्रस्तावकमा वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) बसेका थिए ।  रास्वपाको विधानअनुसार सभापति र वरिष्ठ नेताको लागि केन्द्रीय सदस्य निर्वाचित हुन पर्दैन । पहिलो चरणको मतदान बुधबार बिहानदेखि सुरु हुने भएको छ। पहिलो चरणमा पार्टी सभापति र केन्द्रीय सदस्यहरूका लागि निर्वाचन हुनेछ ।

रास्वपा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन तालिका तेस्रो पटक संशोधन गरी सार्वजनिक गरिएको छ ।  केन्द्रीय निर्वाचन आयोगले मंगलबार (आज) संशोधित तालिका सार्वजनिक गरेको हो ।   तालिका अनुसार महाधिवेशनका प्रतिनिधहरूको अन्तिम नामावली सार्वजनिक गरिएको छ । आयोगका प्रमुख भुवन केसीका अनुसार मंगलबार (आज) साँझ ५ः०० बजे महाधिवेशन प्रतिनिधहरूको नाम सार्वजनिक गरिएको हो ।  आजै साँझ ७ः०० बजे देखि ७ः३० बजेसम्म पार्टी सभापतिको उम्मेद्वारका लागि फारम वितरण गर्ने कार्यतालिका छ ।  पार्टी केन्द्रीय सदस्यका लागि ७ः३० बजे देखि ९ः३० बजेसम्म फारम वितरण र दर्ता  गरिनेछ । उहाँका अनुसार उम्मेद्वारको प्रारम्भिक नामावली राति  १०ः०० बजे प्रकाशन गरिनेछ ।  उम्मेद्वार विरुद्ध दाविविरोध गर्न राति १०ः३० बजे सम्मको समय दिइएको छ ।  दाविविरोध परेका उम्मेद्वारको जाँचबुझ राति ११ः०० बजेसम्म गरिने छ ।  राति ११ः१५ बजे उम्मेद्वारले निर्वाचन आयोगको सचिवालयमार्फत उम्मेद्वारी फिर्ता लिन सक्ने छन् । अन्तिम नामावली ११ः४५ बजे प्रकाशन गरिने उनले जानकारी दिए ।   बुधबार बिहान पहिलो चरणको मतदान हुने केसीले बताए ।  मतदान सकिएको दुई घण्टा पछि मत गणनाको गरी परिणाम घोषणा गरिने आयोगले जनाएको छ ।  पहिलो चरणको मत परिणाम घोषणा भएसँगै दोस्रो चरणको उम्मेद्वारी तथा अन्य थप कार्यतालिका प्रकाशन गरिने छ ।