देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं । नेपाली काङ्ग्रेसको महाधिवेशन प्रक्रियाअन्तर्गत आज देशभरका अधिकांश संघीय तथा प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदैछ । केही क्षेत्रमा अत्यधिक वर्षाका कारण कार्यतालिका संशोधन गरिए पनि अधिकांश निर्वाचन क्षेत्रमा पूर्वनिर्धारित तालिकाअनुसार आजै अधिवेशन हुने भएको हो ।

काङ्ग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार विगत दुई दिनको लगातार वर्षा र केही स्थानमा सडक अवरुद्ध भएका कारण असोज १३ गतेभित्र अनुकूल समयमा अधिवेशन सम्पन्न गर्न सकिने विकल्प दिइएको छ । त्यसअनुसार विशेषगरी पहाडी जिल्लाका केही निर्वाचन क्षेत्रमा अधिवेशन भोलि र पर्सिका लागि सारिएको छ ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार मौसममा सुधार देखिएकाले अधिकांश स्थानमा आजै अधिवेशन सम्पन्न हुने र बाँकी क्षेत्रको अधिवेशन भोलि तथा पर्सिसम्म सकिने तयारी गरिएको छ ।

आज हुने संघीय निर्वाचन क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन गरिनेछन् । पालिका सभापति र प्रदेश सभा क्षेत्रीय सभापति भने पदेन सदस्यका रूपमा क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा रहने व्यवस्था छ। उनीहरूलाई मतदान गर्ने अधिकार भए पनि उम्मेदवार बन्न नपाउने व्यवस्था विधानमा छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिमा सभापति र सचिव एक–एक जना निर्वाचित हुनेछन् भने सहसचिवमा एक महिलासहित दुई जना चयन हुनेछन्। कोषाध्यक्ष सभापतिले मनोनयन गर्ने व्यवस्था गरिएको छ । कार्यसमितिमा खुला, महिला, युवा, दलित र समानुपातिक समूहबाट सदस्य निर्वाचित गरिनेछन् ।

क्षेत्रीय अधिवेशनबाट प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट ३३ जना महाधिवेशन प्रतिनिधि पनि चयन हुनेछन् । महिला, खुला, युवा, दलित, मुस्लिम तथा अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति, श्रमिक, पेसागत विज्ञ र द्वन्द्वपीडितलगायत समूहको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरिएको काङ्ग्रेसले जनाएको छ ।

आजै हुने प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट प्रदेश क्षेत्रीय कार्यसमिति र प्रदेश अधिवेशन प्रतिनिधि पनि चयन गरिनेछन् । प्रदेश कार्यसमितिमा सभापति, उपसभापति, सचिव, सहसचिव तथा विभिन्न समावेशी समूहबाट सदस्य निर्वाचित हुनेछन् ।

काङ्ग्रेसको अधिवेशन शृङ्खला असोज ३ गते वडा अधिवेशनबाट सुरु भएको थियो । वडा र पालिका अधिवेशन सम्पन्न भइसकेका छन् भने क्षेत्रीय अधिवेशन सकिएलगत्तै असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा केन्द्रीय महाधिवेशन गर्ने तयारी भइरहेको पार्टीले जनाएको छ ।

Share News