महाधिवेशनको तयारीमा जुट्यो कांग्रेस, गगनको नेतृत्वमा केन्द्रीय निर्देशन समिति

क-कसले पाए कुन समितिको जिम्मेवारी ?

काठमाडौं । नेपाली कांग्रेसले आगामी १५औं महाधिवेशनलाई अनुशासित, व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्नका लागि केन्द्रीय निर्देशन समितिसहित १५ वटा विभिन्न समितिहरू गठन गरेको छ । शुक्रबार कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्ति अनुसार भदौ १ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरिसकेको पृष्ठभूमिमा यी समितिहरू विस्तार गरिएको हो । 

महाधिवेशनसँग सम्बन्धित तत्काल निर्णय लिन, कार्य विभाजन अनुसार काम भए–नभएको अनुगमन गर्न र समग्र प्रक्रियालाई व्यवस्थित बनाउन केन्द्रीय निर्देशन समिति र अन्य विषयगत समितिहरू गठन गरिएको पार्टीले जनाएको छ । गठित समितिहरूमध्ये १५औं महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकत्व सभापति गगनकुमार थापा स्वयंले लिएका छन् ।

 उक्त समितिमा उप-सभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुषाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे, कोषाध्यक्ष उमेश श्रेष्ठका साथै महालक्ष्मी उपाध्याय ‘डिना’, अर्जुनप्रसाद जोशी, मीनबहादुर विश्वकर्मा, राजेन्द्रकुमार केसी, सुवासकुमार पोख्रेल र सपना राजभण्डारी केन्द्रीय सदस्यका रूपमा रहेका छन् । समितिको सदस्य सचिवमा सभापतिका प्रमुख राजनीतिक सल्लाहकार प्रताप पौडेललाई जिम्मेवारी दिइएको छ ।

यस्तै, आर्थिक, प्राविधिक र व्यवस्थापकीय पक्षलाई सुदृढ बनाउन आर्थिक व्यवस्थापन समितिको संयोजकत्व कोषाध्यक्ष उमेश श्रेष्ठलाई र सूचना सञ्चार तथा प्रविधि समितिको संयोजकत्व प्रवक्ता देवराज चालिसेलाई सुम्पिएको छ । सञ्चार समितिमा हरिशरण नेपाली, अजयबाबु शिवाकोटी, डा. सुरेश आचार्य, शिव लम्साल, अनिता विन्दु लगायतका सदस्यहरू रहेका छन् ।

सचिवालय व्यवस्थापन तथा सूचना समन्वय समितिको संयोजकमा उदयशमशेर राणा चयन भएका छन् भने यसमा नानु वास्तोला, प्रकाश पन्थ लगायत उपत्यकाका तीनै जिल्लाका प्रतिनिधि र सातै प्रदेशका प्रतिनिधिहरू समावेश छन् । 

महाधिवेशनको भौतिक तथा आतिथ्य व्यवस्थापनका लागि सहमहामन्त्री डा. डिला संग्रौला पन्तको संयोजकत्वमा अतिथि स्वागत समिति, काठमाडौं जिल्ला सभापतिको संयोजकत्वमा उपत्यकाका अन्य जिल्ला र क्षेत्रीय सभापतिहरू सम्मिलित महाधिवेशन समारोह स्थल व्यवस्थापन समिति, र सहमहामन्त्री बहादुरसिंह लामाको संयोजकत्वमा प्रदेश र स्थानीय तहगत समन्वय समिति गठन गरिएको छ । 

त्यस्तै, जेष्ठ प्रतिनिधिहरूसँग समन्वय गर्न सुधीर शिवाकोटीको संयोजकत्वमा जेष्ठ महाधिवेशन प्रतिनिधि समन्वय समिति र गणेश लामाको संयोजकत्वमा भूपू सैनिक तथा प्रहरी संघका अध्यक्षहरू सम्मिलित स्वयंसेवक व्यवस्थापन समिति बनाइएको छ ।

प्रतिनिधिहरूको भोजन, आवास, स्वास्थ्य र यातायातको सहजताका लागि भोजन व्यवस्थापन समितिको संयोजकमा तिलक रानाभाट, आवास व्यवस्थापन समितिमा रमेशप्रसाद धमला, स्वास्थ्य समितिमा डा. केदारनरसिंह केसी र यातायात व्यवस्थापन समितिको संयोजकमा विजय बहादुर स्वाँरलाई तोकिएको छ । 

साथै, सांस्कृतिक-साहित्यिक संयोजन समितिको नेतृत्व सिता गुरुङलाई दिइएको छ भने पार्टीको विधान मस्यौदा समितिमा केन्द्रीय सदस्य इश्वरी न्यौपाने र अधिवक्ता प्रमिस खनाललाई थप गरिएको छ । यी समितिहरूले महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न आ-आफ्नो कार्य विवरण अनुसार तुरुन्तै काम अघि बढाउने पार्टीले जनाएको छ ।

Share News