कांग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा हो : डा. शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन इतर पक्षका नेता डा. शशांक कोइरालाले पार्टीको आसन्न १५औँ महाधिवेशन केवल नेतृत्व चयनको औपचारिकता मात्र नभई कांग्रेसको भविष्यको दिशा तय गर्ने ऐतिहासिक परीक्षा भएको बताएका छन् ।

शनिबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा संस्थापन इतर पक्षले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीको विचार र इतिहास गौरवमय रहेकाले आन्तरिक एकता कायम गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।

कोइरालाले पार्टीको महाधिवेशनलाई अत्यन्त गम्भीरतापूर्वक लिएर नयाँ ऊर्जा र उत्साहका साथ अगाडि बढ्नुपर्ने बताए । उनले महाधिवेशन सामान्य प्रक्रिया नभई समग्र पार्टी र देशको भविष्य निर्माण गर्ने महत्त्वपूर्ण चरण भएको उल्लेख गरे ।

कांग्रेस लामो इतिहास र बलियो वैचारिक आधार भएको पार्टी रहेको स्मरण गराउँदै उनले पार्टीको समृद्ध इतिहास र विचारले आगामी दिनमा थप शक्ति र गतिशीलता प्रदान गर्ने विश्वास व्यक्त गरे ।

डा. कोइरालाले महाधिवेशन सफल बनाउन पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताको सामूहिक सहभागिता र सहयोग अपरिहार्य रहेको बताए । पार्टीभित्रका आन्तरिक मतभेदलाई थाती राखेर सबै पक्ष एकजुट भई अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै उनले महाधिवेशनलाई आन्तरिक लोकतन्त्र सुदृढ गर्ने अवसरका रूपमा लिन आग्रह गरे ।

उनले भने, ‘यहाँहरू सबैले गर्नुभएको सहयोगका लागि हार्दिक धन्यवाद दिन चाहन्छु। अधिवेशन हाम्रो लागि एउटा परीक्षाको समय पनि हो । अधिवेशन चानचुने कुरा होइन, यसका लागि धेरै काम र मेहनत गर्नुपर्छ। यसमा खटिनुभएका सबै साथीहरूलाई धन्यवाद दिन चाहन्छु ।’

उनले महाधिवेशनले पार्टीलाई भविष्यको बाटो देखाउने भएकाले यसलाई गम्भीरतापूर्वक अघि बढाइएको बताए ।

‘हाम्रो अधिवेशनले भविष्यको बाटो देखाउने भएकाले यो अत्यन्त महत्त्वपूर्ण छ । त्यसैले हामीले यसलाई गम्भीरतापूर्वक अघि बढाइरहेका छौँ। सबै साथीहरूको साथ र सहयोग लिएर सँगै अगाडि बढ्न चाहन्छौँ,’ उनले भने ।

कांग्रेस पुरानो इतिहास र बलियो विचार बोकेको पार्टी भएको उल्लेख गर्दै उनले पुरानो हुनु भनेको कमजोर हुनु नभई नयाँ जोश र ऊर्जाका साथ अघि बढ्नु भएको बताए ।

‘नेपाली कांग्रेस पुरानो र बलियो विचार बोकेको पार्टी हो । पुरानो भन्नाले फाटेको होइन, बरु नयाँ जोश र ऊर्जाका साथ अगाडि बढ्ने पार्टी हो । यही अधिवेशनले हामीलाई थप शक्ति र ऊर्जा प्रदान गर्नेछ । त्यसैले अधिवेशन सफल बनाउन यहाँहरू सबैको सहयोगको अपेक्षा गर्दछु,’ उनले भने ।

अधिवेशनको तयारीमा खटिएका कार्यकर्ता तथा शुभेच्छुकहरूको योगदानको प्रशंसा गर्दै कोइरालाले सबैको साझा प्रयासबाट मात्र पार्टीले भविष्यको स्पष्ट मार्गचित्र तय गर्न सक्ने बताए ।

Share News