काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले एसियाली पूर्वाधार विकास बैंक (एआइआइबी) को सञ्चालक समितिको ११औं वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै
शनिबार साँझ कतारको राजधानी दोहातर्फ प्रस्थान गरेका हुन् ।
अर्थमन्त्री डा. वाग्ले कतार एयरवेजको नियमित उडानमार्फत साँझ ७ः०० बजे दोहातर्फ प्रस्थान गरे । उनीसँगै अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख सहसचिव अमृत लम्साल पनि प्रतिनिधिमण्डलमा रहेका छन् ।
एआइआइबीको ११औं वार्षिक बैठकका क्रममा अर्थमन्त्री डा. वाग्लेले बैंकको बोर्ड अफ गभर्नर्सको सत्रमा सम्बोधन गर्नेछन् ।
सो क्रममा उनले नेपालको पूर्वाधार विकास, जलवायु अनुकूलन, नवीकरणीय ऊर्जा, विपद्पछिको पुनर्निर्माण तथा आर्थिक वृद्धिका प्राथमिकताहरूमा बहुपक्षीय सहयोग र लगानी परिचालनबारे छलफल गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा मन्त्रीले एआइआइबीका अध्यक्षका साथै भारत, बंगलादेश, कतार र मालदिभ्सका अर्थमन्त्रीहरूसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्नेछन् ।
वार्षिक बैठक तथा निर्धारित द्विपक्षीय संवादहरू सम्पन्न गरी प्रतिनिधिमण्डल आगामी असोज १४ गते (बुधबार) स्वदेश फर्कने कार्यक्रम रहेको छ ।