काठमाडौं । यही महिना हुने नेपाली कांग्रेसको १५औं महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरिएको छ । उद्घाटन समारोहमा उपस्थिति हुनका निम्ति उनीहरूलाई निमन्त्रणा गरिएको कांग्रेसले जनाएको छ ।
कांग्रेस महाधिवेशन यही असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने तय छ । ‘नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका सभापतिरअध्यक्षज्यूहरूलाई पार्टीको तर्फबाट विशिष्ट आतिथ्यताका लागि निमन्त्रणा गरिएको छ,’ कांग्रेसले भनेको छ ।
कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा उपस्थित हुन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) लाई निमन्त्रणा गरिएको छ ।
यस्तै, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ, जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादव, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत नेतालाई निमन्त्रणा गरिएको कांग्रेसले जनाएको छ ।
‘राजधानीको खुलामञ्चमा असोज १६ गते अपराह्न २ः०० बजे उहाँहरूको उपस्थिति र महत्त्वपूर्ण प्रस्तुतिका लागि न्यानो स्वागत गर्न हामी प्रतीक्षारत रहनेछौं,’ कांग्रेसले भनेको छ ।