काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध सामाजिक सञ्जाल र सूचना प्रविधिको माध्यमबाट भ्रम फैलाउने प्रयास भइरहेको भन्दै त्यसको प्रतिवाद गर्न ‘डिजिटल वार’ मा सक्रिय हुन नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यलाई बुधबार भर्चुअल सम्बोधन गर्दै ओलीले पार्टीका गतिविधि, नीति र उपलब्धिलाई डिजिटल माध्यमबाट जनतासम्म प्रभावकारी रूपमा पुर्याउन संगठनलाई परिचालन गर्नुपर्ने बताए ।
ओलीले परम्परागत संगठनात्मक गतिविधिसँगै सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मलाई राजनीतिक जनसम्पर्कको महत्वपूर्ण माध्यमका रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिए । एमालेका पक्षमा रहेका विषयसमेत प्रभावकारी रूपमा सार्वजनिक हुन नसक्दा गलत सूचना र भ्रमले स्थान पाउने अवस्था आउन नदिन कार्यकर्तालाई सक्रिय हुन उनले आग्रह गरे ।
उनले पार्टीका काम र उपलब्धिबारे तथ्यमा आधारित सूचना प्रवाह गर्न तथा एमालेविरुद्ध हुने प्रचारको तथ्यसहित प्रतिवाद गर्न निर्देशन दिए । सूचना प्रविधिको क्षेत्रमा पार्टीको उपस्थिति कमजोर हुन नहुने भन्दै उनले स्थानीय तहदेखि नै डिजिटल गतिविधिलाई संगठनात्मक कामसँग जोड्नुपर्ने बताए ।
ओलीले सामाजिक सञ्जाललाई केवल प्रचारको माध्यम नभई जनतासँग प्रत्यक्ष संवाद र सम्बन्ध विस्तार गर्ने माध्यमका रूपमा उपयोग गर्नुपर्ने बताए । त्यसका लागि नेता–कार्यकर्ताले आ–आफ्नो कार्यक्षेत्रमा नियमित रूपमा सक्रिय हुनुपर्ने उनको भनाइ थियो ।
संगठनसँगै डिजिटल मोर्चा
ओलीको पछिल्लो निर्देशनले एमालेले आगामी राजनीतिक गतिविधि र निर्वाचन तयारीमा संगठन परिचालनसँगै डिजिटल माध्यमलाई पनि प्राथमिकतामा राख्न खोजेको देखिन्छ ।
उनले पार्टीभित्रका सानातिना असमझदारीलाई व्यवस्थापन गर्दै संगठनलाई एकताबद्ध बनाउनसमेत आग्रह गरे । ‘शत्रुका लात सहने, तर आफ्ना साथीका बात नसहने काम अब बन्द गरौँ’ भन्दै ओलीले आन्तरिक एकता मजबुत बनाएर साझा राजनीतिक लक्ष्यमा केन्द्रित हुनुपर्ने बताए ।
उनले आगामी निर्वाचनलाई केन्द्रमा राखेर संगठन परिचालन गर्न निर्देशन दिँदै एक निर्वाचनको परिणामबाट निराश हुनुपर्ने अवस्था नरहेको बताए ।
भर्चुअल कार्यक्रममा महासचिव शङ्कर पोखरेलले तेस्रो केन्द्रीय कमिटी बैठकका निर्णय तल्लो तहसम्म पठाइने जानकारी दिँदै पार्टी सदस्यताको अभिलेखीकरण असोज मसान्तसम्म पूरा गर्नुपर्ने बताए । वडा, पालिका, जिल्ला र प्रदेश तहसम्म युवालाई पार्टीसँग जोड्ने कार्यक्रम सञ्चालन गरिने पनि उनले जानकारी दिए ।
असोज मसान्तभित्र सदस्यता अभिलेखीकरण
बैठकमा महासचिव शङ्कर पोखरेलले तेस्रो केन्द्रीय कमिटी बैठकका निर्णयहरू पार्टी निर्देशिकामार्फत तल्लो तहसम्म पठाइने जानकारी दिए ।
उनका अनुसार पार्टी सदस्यता नवीकरणको काम हाललाई रोकिएको छ भने प्राप्त विवरणको अभिलेखीकरण असोज मसान्तभित्र पूरा गर्नुपर्नेछ ।
पोखरेलले वडा, पालिका, जिल्ला र प्रदेश तहसम्म युवालाई पार्टीसँग जोड्ने कार्यक्रम सञ्चालन गरिने बताए । लगातार तीनवटा बैठकमा अनुपस्थित हुने सदस्यलाई विधानअनुसार पदबाट हटाउने व्यवस्था कार्यान्वयनमा कडाइ गरिने पनि उनले जानकारी दिए ।
जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन संगठनात्मक गतिविधिलाई तीव्रता दिने निर्णयसमेत बैठकमा जानकारी गराइएको थियो ।