चिलिमेलाई एक वर्षभित्र पुरानै लयमा फर्काउँछौं

बीमाबाट २५ प्रतिशत मात्र क्षतिपूर्ति मिल्ने

भदौ १० गते आएको भीषण बाढीले जलविद्युत क्षेत्रमा अपूरणीय क्षति पुर्याएको छ । विशेषगरी भोटेकोशी र त्रिशूली कोरिडोरका एक दर्जन जलविद्युत आयोजनाहरू बाढीको चपेटामा परेका छन् । जसमा नेपालको जलविद्युत विकासमा ऐतिहासिक महत्त्व राख्ने २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत आयोजनाले पनि ठूलो विपत्तिको सामना गर्नुपरेको छ । बाढी पसेर आयोजनाको पावरहाउस (विद्युत् गृह) पूर्ण रूपमा ध्वस्त भएको छ भने त्यहाँ कार्यरत ६ जना कर्मचारीहरू सम्पर्कविहीन भएका छन् । विशेषगरी आयोजनाको भौतिक क्षति, बेपत्ता कर्मचारीको खोजी तथा उद्धार कार्य, कम्पनीको वित्तीय अवस्थामा पर्ने असर लगायत आगामी योजनाको विषयमा केन्द्रित रहेर विकासन्युजका नरेन्द्र विष्टले घटनास्थलमै रहेका चिलिमे जलविद्युत आयोजनाका प्रबन्धक निर्देशक बाबुराजा महर्जनसँग कुराकानी गरेका छन् । 

चिलिमे जलविद्युत आयोजना क्षेत्रमा अहिलेको अवस्था कस्तो छ ? 

हामी अहिले घटनास्थलमै छौं । विपत्तिपछि आयोजनाको पोर्टल (मुख्य संरचना स्थल) मै रहेर समग्र अवस्थाको सूक्ष्म रूपमा अवलोकन र व्यवस्थापनको काम गरिरहेका छौं । अवस्था निकै भयावह र चुनौतीपूर्ण छ ।

बाढीले चिलिमे जलविद्युत आयोजनामा के-कस्तो भौतिक क्षति पुगेको छ ?

क्षतिको कुरा गर्दा हाम्रो मुख्य संरचनामध्येको पावरहाउस (विद्युत् गृह) लगभग पूर्ण रूपमा (१०० प्रतिशत) क्षति भएको छ । नदीमा आएको अकल्पनीय बाढी पावरहाउसभित्र पसेको छ । पावरहाउस मात्र नभएर हाम्रो यताको स्वीचयार्ड र ट्रान्समिसन लाइन (प्रसारण लाइन) का दुईवटा टावरहरू पनि पूर्ण रूपमा ध्वस्त भएका छन् ।

यद्यपि, हाम्रो लागि एउटा राहतको कुरा भनेको हाम्रो हेडवर्क्स (बाँधस्थल) मा भने क्षति पुगेको छैन । तर, भोटेकोशी नदीको पानीको सतह निकै बढेको छ । नदीको सतह नै माथि आएको कारणले गर्दा संरचनाहरू जलमग्न भएका हुन् । यसरी नदीको सतह नै परिवर्तन भएको र बढेको कारणले गर्दा भविष्यमा यसको पुन:निर्माण गर्नका लागि हामीलाई अत्यन्तै ठूलो चुनौती थपिएको छ ।

क्षतिलाई आर्थिक रूपमा मूल्याङ्कन गर्दा कति रकम बराबरको क्षति भएको अनुमान गर्न सकिन्छ ? 

पावरहाउसको १०० प्रतिशत नै क्षति भएको छ । तर, क्षतिको वास्तविक मूल्य हामीले ठ्याक्कै निकालिसकेका छैनौं । अहिले हाम्रो सम्पूर्ण ध्यान भौतिक सम्पत्तिको मूल्याङ्कन भन्दा पनि मानवीय जीवन रक्षा र उद्धारमा केन्द्रित छ । हामी अहिले पूर्ण रूपमा उद्धार कार्यमै छौं । त्यसैले क्षतिको यकिन विवरण र आर्थिक मूल्याङ्कनपछि मात्र निकाल्ने छौं ।

आयोजनास्थलमा कार्यरत कर्मचारीहरूको अवस्था अहिले कस्तो छ, उद्धार कार्य कसरी अगाडि बढिरहेको छ ?

यो हाम्रा लागि सबैभन्दा पीडादायी विषय हो । हाम्रो पावरहाउसभित्र ड्युटीमा रहेका ६ जना कर्मचारी साथीहरू अहिलेसम्म सम्पर्कविहीन हुनुहुन्छ । बाहिर ड्युटीमा रहेका साथीहरू पनि अवस्था बुझ्न पावरहाउसभित्र छिरेपछि बाढी पसेर उहाँहरू सबै सम्पर्कविहीन हुनुभएको हो ।

उहाँहरू त्यहीँभित्र फँसेको भएको आशङ्कामा हामीले उहाँहरूलाई रेस्क्यु गर्न सकिन्छ कि भनेर रातदिन लागिरहेका छौं । उद्धार कार्यका लागि नेपाली सेना र तालिमप्राप्त कुकुरहरूसहितको टोली परिचालन गरिएको छ ।

तर, भौगोलिक विकटता, नदीको वहाव र सीमित स्रोत-साधनका कारण उद्धार कार्य निकै कठिन भइरहेको छ । एकदमै गाह्रो अवस्थामा पनि हामीले आश मारेका छैनौं, प्रयास जारी नै छ । 

आयोजना पुन:निर्माण गरी विद्युत् उत्पादन पुनः सुरु गर्न कति समय लाग्ने देखिन्छ, यसमा व्यवस्थापनको पहल के छ ? 

अहिलेको क्षतिको प्रकृति हेर्दा सामान्य मर्मतले मात्र पुग्ने अवस्था छैन । ठूलो मेसिनरी र संरचना नै नयाँ बनाउनुपर्ने हुन सक्छ । त्यसैले, विद्युत् उत्पादन पुनः सुरु गर्न लगभग एक वर्षको समय लाग्ने अनुमान छ । यो प्रारम्भिक अनुमान हो, विस्तृत अध्ययनपछि मात्र यकिन समय भन्न सकिन्छ । 

यदि आयोजना एक वर्षसम्म पूर्ण रूपमा बन्द भयो भने कम्पनीको समग्र आम्दानी र वित्तीय स्वास्थ्यमा कति असर पर्ने अनुमान छ ? 

कम्पनीको मुख्य आम्दानीको स्रोत भनेकै विद्युत् बिक्रीबाट आउने रकम हो । एक वर्षसम्म आयोजना बन्द हुनु भनेको हाम्रो आम्दानी पूर्ण रूपमा रोकिनु हो । विद्युत् बिक्री नभएपछि हामीसँग आम्दानीको नाममा केवल बैंकमा रहेको रकमको ब्याज आम्दानी र अन्य केही साधारण आम्दानी मात्र बाँकी रहन्छ । अरू कुनै पनि आम्दानी नहुने भएपछि कम्पनीको वित्तीय सन्तुलन मिलाउन र नेतृत्वलाई कम्पनी हाँक्न निकै ठूलो चुनौती आइपर्ने निश्चित छ ।

चिलिमे आयोजनाको कुल बीमा रकम कति छ, कुन-कुन जोखिमको बीमा गर्नुभएको थियो र त्यसबाट क्षतिको कति भरपाई हुने अपेक्षा छ ?

हामीले आयोजनाको सम्पूर्ण प्लान्ट र संरचनाहरूको बीमा गरेका छौं । यो बीमा हिमालयन नन-लाइफ इन्स्योरेन्स कम्पनीमा गरिएको छ । तर, यहाँ बुझ्नुपर्ने प्राविधिक र महत्त्वपूर्ण कुरा के छ भने, हाम्रो प्लान्ट सञ्चालनमा आएको लगभग साढे १७ वर्ष पुगिसक्यो । लामो समय चलेको आयोजना भएकाले बीमा कम्पनीको नियम अनुसार यसको ह्रासकट्टी पछिको मूल्यमा बीमा गरिएको हुन्छ ।

अर्थात् नयाँ बनाउँदा लाग्ने लागतको आधारमा नभई १७ वर्ष पुरानो मेसिनको वर्तमान मूल्यको आधारमा बीमा रकम पाइन्छ । त्यसैले, अहिलेको हाम्रो अनुमान अनुसार बीमाबाट हामीले क्षतिको लगभग २५ प्रतिशतको हाराहारीमा मात्र क्षतिपूर्ति पाउन सक्छौं । बाँकी ठूलो रकम कम्पनी आफैले व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

बाढीपछि चिलिमेको सेयर मूल्यमा आएको वा आउन सक्ने गिरावटलाई व्यवस्थापनले कसरी हेरिरहेको छ ?

सेयर बजारको मूल्य भनेको नितान्त कम्पनीको आम्दानी र नाफासँग जोडिएको विषय हो । यसका साथै बजारको अन्य डाइनामिक्सले पनि फरक पार्छ । अहिलेको अवस्थामा कम्पनीको आम्दानीमा भएको ह्रास र भौतिक सम्पत्तिमा पुगेको क्षतिका कारण लगानीकर्ताहरूको विश्वास अलिकति घटेको हुन सक्छ, जुन स्वाभाविक पनि हो ।

तर, हाम्रो व्यवस्थापनको प्रमुख लक्ष्य भनेको जतिसक्दो चाँडो आयोजनालाई पुन:निर्माण गरेर सञ्चालनमा ल्याउने नै हो । आयोजना छिटो सञ्चालनमा आएर विद्युत् बिक्री सुरु भएपछि सेयर मूल्य फेरि पुरानै लयमा फर्किनेछ भन्ने हाम्रो योजना र विश्वास छ । यद्यपि, तत्कालका लागि सेयर मूल्य कता जान्छ भन्ने कुरा सेयर बजारले नै तय गर्नेछ ।

आयोजना एक वर्ष बन्द हुने भएपछि चिलिमेका हजारौं सेयरधनीहरूलाई लाभांश दिन सक्ने क्षमता अब कस्तो रहन्छ, के आगामी दिनमा लगानीकर्ताले लाभांश पाउँछन् ? 

यस विषयमा हामीले व्यवस्थापन र सञ्चालक समितिमा अलि गम्भीर रूपमा ठोस योजना नै गर्नुपर्ने हुन्छ । जहाँसम्म अहिलेको लाभांशको कुरा छ, त्यो त गत आर्थिक वर्षको नाफाबाट दिइने हो । गत आर्थिक वर्षमा हामीलाई क्षति भएको थिएन, त्यसैले त्यो बेलाको लाभांश वितरणमा खासै समस्या नहोला ।

तर, यो आर्थिक वर्षदेखि आयोजना बन्द भएको कारणले गर्दा आगामी वर्षहरूमा लाभांश वा बोनस सेयर के दिने, कति दिने भन्ने कुरा निकै चुनौतीपूर्ण छ । आम्दानी नै नभएपछि लाभांश वितरण क्षमतामा प्रत्यक्ष असर पर्छ नै । यसबारे हामीले गहन छलफल गरेर मात्र निर्णय लिनेछौं । 

आम लगानीकर्ताहरूलाई कम्पनीको अहिलेको वित्तीय अवस्थाबारे कुन-कुन कुरा प्रस्ट पार्न चाहनुहुन्छ ?

लगानीकर्ताहरूले मुख्यतया दुईवटा कुरामा ध्यान दिनुपर्ने हुन्छ र यसले नै उहाँहरूलाई तत्काल असर पार्नेछ । पहिलो, हाम्रो स्थिर सम्पत्ति/भौतिक संरचनामा पुगेको क्षतिको विवरण । दोस्रो, विद्युत् उत्पादन बन्द हुँदा हाम्रो आम्दानीमा भएको लस । तत्कालका लागि लगानीकर्तालाई पर्ने प्रभाव यिनै दुई कुरा हुन् । तर, चिलिमेसँग लामो समयको अनुभव र बलियो व्यवस्थापन भएकाले हामी यो सङ्कटबाट पार पाउने छौं भन्ने विश्वास दिलाउन चाहन्छु । 

१२ वटा जलविद्युत आयोजनाहरूमा क्षति पुगेको  छ । अन्य आयोजनाको तुलनामा चिलिमेको अवस्थालाई कति नम्बरमा राख्न सकिन्छ ? के यो पूर्ण रूपमै ध्वस्त भएको हो ? 

यो कोरिडोरमा धेरै आयोजनाहरू ध्वस्त भएका छन् । तर ती ध्वस्त भएका आयोजनाहरूको तुलनामा चिलिमेलाई सबभन्दा कम क्षति भएको आयोजना मान्न सकिन्छ । यसको मुख्य कारण के हो भने हाम्रो आयोजनाको बाँध भोटेकोशी नदीमा नभएर चिलिमे खोला (जुन छुट्टै खोला हो) मा रहेको छ । 

त्यसैले हाम्रो हेडवर्क्स पूर्ण रूपमा सुरक्षित छ । हाम्रो क्षति भएको भनेको पावरहाउस मात्र हो, जुन भोटेकोशी नदीको किनारमा अवस्थित भएकाले बाढीको चपेटामा परेको हो । अन्य धेरै आयोजनाहरूको त बाँध सुरुङदेखि पावरहाउससम्म सबै ध्वस्त भएका छन् । त्यसैले यो कोरिडोरमा बिग्रिएका आयोजनाहरूमध्ये चिलिमे सबैभन्दा कम बिग्रिएको वा क्षति भएको आयोजना हो भन्न सकिन्छ ।

अन्त्यमा, अब चिलिमे कसरी उठ्छ, यस सङ्कटबाट पार पाउन आगामी दिनका लागि कस्तो रणनीति बनाइएको छ ? 

अहिले हाम्रो पहिलो र अन्तिम प्राथमिकता भनेको बेपत्ता हुनुभएका हाम्रा ६ जना कर्मचारी साथीहरूको खोजी र उद्धार गर्नु नै हो । यो रेस्क्युको काम सकिएपछि र अवस्था अलिकति सामान्य भएपछि हामी तुरुन्तै पुन:निर्माणको चरणमा प्रवेश गर्नेछौं ।

क्षतिको विस्तृत प्राविधिक मूल्याङ्कन गरेर बीमा दाबीको प्रक्रियालाई तीव्रता दिँदै जतिसक्दो छिटो आयोजनालाई पुन:निर्माण गरेर विद्युत् उत्पादन सुचारु गर्ने नै हाम्रो एक मात्र रणनीति हो । विगतमा पनि चिलिमेले धेरै आरोह-अवरोह पार गरेको छ, यसपटक पनि हामी सम्पूर्ण सरोकारवालाहरूको साथ र सहयोगमा यो विपत्तिबाट सफलतापूर्वक माथि उठ्नेछौं ।

Share News