तीजको मर्म हराउँदै, भ्युजको दौडमा चेलीबेटीको पर्व

तस्विर एआई

काठमाडौं । तीजको रंग फेरिएको छैन, तर तीजलाई हेर्ने र देखाउने तरिका बदलिएको छ । रातो सारी, चुरा, पोते, दर, नाचगान र मन्दिर दर्शन तीजका प्रमुख पहिचान हुन् । फरक यति हो, हिजो यी दृश्य घर, आँगन, माइती र मन्दिरसम्म सीमित हुन्थे । आज मोबाइलको क्यामेरामार्फत केही सेकेन्डमै हजारौं दर्शकमाझ पुग्छन् । तीजको उत्सवसँगै भिडियो बनाउने, पोस्ट गर्ने र भ्युज गन्ने संस्कृति पनि यसको अभिन्न हिस्सा बन्न थालेको छ ।

कतै गीत बजिरहेको हुन्छ । कतै नृत्य चलिरहेको हुन्छ । कतै त्यही दृश्यलाई सामाजिक सञ्जालका लागि खिच्न मोबाइल वा ट्राइपोड तयार अवस्थामा हुन्छन् । दर खाने कार्यक्रमसँगै टिकटक र फेसबुक रिल्सका लागि सामग्री तयार गर्ने क्रम पनि चलिरहेको हुन्छ । मन्दिर दर्शनदेखि दर खाने कार्यक्रमसम्म, नयाँ पहिरनदेखि सामूहिक नृत्यसम्म तीजका अधिकांश गतिविधि सामाजिक सञ्जालमा देखिन्छन् ।

समाजसास्त्री नारायण ज्ञवाली तीजलाई केवल धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा होइन, डिजिटल प्रदर्शनको अवसरका रूपमा समेत स्थापित गरिरहेको बताउँछन् । तीज र टिकटक स्वभावतः फरक विषय भएपनि एक अर्काका परीपुरक भएको ज्ञवालीको बुझाइ छ । तीज नेपाली समाजको धार्मिक, सांस्कृतिक र सामाजिक परम्परासँग जोडिएको पर्व हो भने टिकटक छोटो भिडियो निर्माण र साझेदारी गर्ने डिजिटल माध्यम । तर पछिल्ला वर्षमा यी दुईबीचको सम्बन्ध यति नजिकिएको छ कि तीजका गीत, नृत्य, पहिरन र उत्सवको लोकप्रियता सामाजिक सञ्जालमा कति पुगे भन्ने आधारमा समेत मापन हुन थालेको छ ।

गीतको भावनादेखि भ्युजसम्म

एक समय तीज गीत महिलाहरूका अनुभव र आवाज अभिव्यक्त गर्ने सांस्कृतिक माध्यम थिए । वर्षभरिका पीडा, दुःख, पारिवारिक विछोड, सामाजिक विभेद र माइतीप्रतिको भावनालाई गीतमार्फत सार्वजनिक गरिन्थ्यो । त्यसैले तीज गीत मनोरञ्जनको साधन मात्र थिएनन् । ती त महिलाको सामाजिक जीवन र मनोविज्ञान बुझ्ने सांस्कृतिक दस्तावेजसमेत थिए । अहिले पनि तीज गीतको बजार उत्तिकै सक्रिय छ ।

तर गीतको चर्चा अब त्यसले बोकेको विषयवस्तुमा मात्र सीमित छैन । गीत कति छिटो भाइरल भयो ? टिकटकमा कति भिडियो बने ? युट्युबमा कति भ्युज पुगे ? र सामाजिक सञ्जालमा कति चर्चा भयो ? भन्ने पक्ष पनि उत्तिकै महत्वपूर्ण बन्न थालेको ज्ञवालीको तिज अनुभव रहेको छ ।

यस वर्ष विष्णु माझीको स्वरमा सार्वजनिक मायाको सानो दरबार, यस्तै छ आमै घरबार बोलको गीत यसको एउटा उदाहरण हो । पुतलीको भट्टी भाग-२२ का रूपमा आएको गीतमा सुन्दरमणि अधिकारीको शब्द तथा संगीत र मौसम हिमालीको कोरियोग्राफी रहेको छ । सार्वजनिक भएको केही समयमै गीतका अंश प्रयोग गरेर टिकटकमा भाइरल बन्न थाले । करिब १० दिनमै गीतले युट्युबमा ८० लाखभन्दा बढी भ्युज पाइसकेको थियो भने टिकटकमा लाखौले टिकटक बनाएका छन् ।

त्यस्तै एलिना चौहानको स्वरमा रहेको आज आमैले दिएको नौरती फुली, भोलि मैसँग होला कि नहोला बोलको गीतले पनि यस वर्ष उल्लेख्य चर्चा पायो । दीपक शर्माको शब्द तथा संगीत रहेको उक्त गीत युट्युबमा एक करोडभन्दा बढी पटक हेरिएको छ । यस गीतका अंशमा टिकटक भिडियो बनाउने क्रम पनि व्यापक देखिन्छ ।

भदौरे मैना, मन ठाउँमा छैन, तीजको रन्को रननन बोलको गीतले भने युवापुस्तामा फरक किसिमको आकर्षण सिर्जना गरेको छ । परम्परागत तीज गीतमा देखिने विरह र वेदनाभन्दा फरक यसमा आधुनिक महिलाको आत्मविश्वास, सक्रियता र उत्साहलाई नृत्यात्मक शैलीमा प्रस्तुत गरिएको छ । गीतका लयात्मक अंश र नृत्य गर्न सहज हुने संरचनाले सामाजिक सञ्जालमा यसको प्रयोगलाई थप सहज बनाएको देखिन्छ ।

सेलिब्रेटीको तीज, दर्शकको ट्रेन्ड

तीज गीतसँगै चर्चित महिला व्यक्तित्वका सामाजिक सञ्जाल गतिविधि पनि पर्वकै चर्चाको हिस्सा बन्न थालेका छन् । अभिनेत्री प्रियंका कार्की, गायिका एलिना चौहान, समीक्षा अधिकारी, रचना रिमालदेखि नेतृ रामकुमारी झाँक्रीसम्मले तीजसँग सम्बन्धित भिडियो, नाचगान र शुभकामना सन्देश सार्वजनिक गर्ने गरेका छन् ।

यसले तीजको सांस्कृतिक अभ्यासमा अर्को परिवर्तन ल्याएको छ । पहिले समाजमा प्रभाव पार्ने व्यक्तिहरूको पहिरन, नृत्य वा उत्सव स्थानीय समुदायभित्र सीमित हुन्थ्यो । अहिले सामाजिक सञ्जालका कारण त्यस्ता गतिविधि केही क्षणमै ठूलो दर्शकसमूहमाझ पुग्छन् । चर्चित व्यक्तिले प्रयोग गरेको गीत, पहिरन वा नृत्य शैली सर्वसाधारणले पछ्याउने क्रम पनि बढेको छ । यसरी सामाजिक सञ्जालले तीजलाई केवल अभिव्यक्तिको माध्यम बनाएको छैन, ट्रेन्ड निर्माण गर्ने माध्यमसमेत बनाएको छ ।

संस्कृति कि प्रदर्शन ?

समाजशास्त्री सविता प्रसाईं भने तीज र सामाजिक सञ्जालबीचको यो सम्बन्धलाई सकारात्मक र नकारात्मक दुवै कोणबाट हेर्छिन् । उनका अनुसार सामाजिक सञ्जालका कारण नेपाली संस्कृति र चाडपर्वको पहुँच भूगोलको सीमाभन्दा बाहिर पुगेको छ । विदेशमा रहेका नेपालीले पनि सामाजिक सञ्जालमार्फत तीजका गतिविधि हेर्न र सहभागी भएको अनुभूति गर्न पाएका छन् । सकारात्मक पक्ष के हो भने सामाजिक सञ्जालका कारण नेपालीहरूको चाडपर्व र त्यसको महत्व विश्वभर प्रचार-प्रसार भइरहेको छ, प्रसाईं भन्छिन् ।

तर यसको अर्को पाटो पनि रहेको उनको भनाइ छ । सामाजिक सञ्जालमा लोकप्रिय हुने प्रतिस्पर्धाले तीजको मौलिक अर्थ र सांस्कृतिक सन्देशलाई ओझेलमा पार्न सक्ने जोखिम बढेको उनी बताउँछिन् ।

उनका अनुसार तीज मूलतः चेली–माइतीको सम्बन्ध, भेटघाट र भावनात्मक आदानप्रदानसँग जोडिएको पर्व हो । विगतमा यातायात र सञ्चारका साधन सीमित थिए । माइती र चेलीको भेट आफैंमा महत्वपूर्ण अवसर हुन्थ्यो । त्यसैले तीजका गीतमा माइतीको सम्झना, भेटको खुसी, विछोडको पीडा र महिलाका सामाजिक अनुभव बढी अभिव्यक्त हुन्थे ।

तर अहिले तीजको सांस्कृतिक पक्षसँगै फेसन, मनोरञ्जन र प्रदर्शनको पक्ष बलियो हुँदै गएको प्रसाईं बताउँछिन् ।

दरको संस्कृतिमा आएको परिवर्तन

तीजसँग जोडिएको दर खाने परम्परामा पनि समयसँगै परिवर्तन आएको उनको बुझाइ छ । ज्ञवालीका अनुसार पहिले विशेष अवसरमा मात्र मीठो तथा पौष्टिक खाना खाने चलन थियो । माइती पुगेकी चेलीलाई खुसीयालीका रूपमा विशेष परिकार खुवाइन्थ्यो । भोलिपल्ट व्रत बस्नुपर्ने भएकाले अघिल्लो रात पर्याप्त भोजन गर्ने अभ्यास पनि त्यसैसँग जोडिएको ज्ञवालीले बताए ।

तर अहिले दर खाने कार्यक्रम स्वयं एउटा सार्वजनिक सामाजिक गतिविधि बनेको प्रसाईको अनुभव रहेको छ । ठूला समूहमा आयोजना हुने कार्यक्रम, विशेष पहिरन, सजावट, नृत्य र त्यसको भिडियो सार्वजनिक गर्ने प्रवृत्तिले दरको सांस्कृतिक पक्षभन्दा प्रदर्शन पक्षलाई बलियो बनाउँदै लगेको प्रसाईंको विश्लेषण छ ।

गीत–संगीतमा पनि यस्तै परिवर्तन देखिएको उनी बताउँछिन् । पहिले तीज गीतमा चेलीबेटीका पीडा, संघर्ष र भावनाहरू प्रमुख विषय हुन्थे । अहिले धेरै गीत भाइरल हुने, भ्युज बढाउने र व्यावसायिक सफलता हासिल गर्ने उद्देश्यमा केन्द्रित देखिन्छन् उनी भन्छिन् । उनका अनुसार कतिपय नयाँ तीज गीतमा तीजको मौलिक सामाजिक र सांस्कृतिक विषयवस्तुसँगको सम्बन्धसमेत कमजोर देखिन थालेको छ ।

प्रविधिसँगै बदलिँदो संस्कृति

यद्यपि प्रविधिका कारण संस्कृति परिवर्तन हुनु आफैंमा अस्वाभाविक भने होइन । समाज परिवर्तनशील भएकाले चाडपर्व मनाउने शैली पनि समयअनुसार बदलिन्छ । सामाजिक सञ्जालले नेपाली संस्कृति नयाँ पुस्ता र विश्व समुदायसम्म पुर्याउने नयाँ अवसर सिर्जना गरेको समाजसास्त्री ज्ञवालीको तर्क रहेको छ ।

समस्या प्रविधिको प्रयोगमा भन्दा त्यसको उद्देश्य र प्रयोग गर्ने तरिकामा रहेको अर्का समाजसास्त्री प्रसाईंको बुझाइ छ । उनका अनुसार आधुनिक माध्यमलाई अस्वीकार गर्नेभन्दा त्यसको सकारात्मक प्रयोग गर्दै सांस्कृतिक मर्म जोगाउनु आवश्यक छ ।

नयाँ कुरा अन्धाधुन्ध अपनाउनेभन्दा आफ्नो संस्कृति, मूल्य र परम्पराको मर्म बुझेर आधुनिकतासँग सन्तुलन कायम गर्नुपर्छ, उनी भन्छिन् ।

वास्तवमा तीजमा परम्परा र प्रविधि एकअर्काका परीपुरक होइनन् । तर सँगसँगै हिँडिरहेका छन् । प्रश्न केवल टिकटकले तीजलाई बदल्यो कि तीजले टिकटकलाई सामग्री दियो भन्ने मात्र होइन । प्रश्न डिजिटल लोकप्रियताको प्रतिस्पर्धामा तीजको मौलिक अर्थ र सांस्कृतिक स्मृति कति सुरक्षित रहन्छन् भन्ने रहेको ज्ञवाली बताउँछन् ।

गायीका तथा अधिवक्ता शितल पाण्डेका अनुसार मोबाइलको क्यामेराले तीजलाई संसारभर पुर्याउन सक्छ । सामाजिक सञ्जालले नयाँ पुस्तालाई तीजसँग जोड्न सक्छ । गायिका पाण्डे भ्युज र भाइरल हुने प्रतिस्पर्धाले पर्वको मूल भावनालाई नै विस्थापित गर्यो भने प्रविधिले संस्कृति विस्तार गरेको होइन, संस्कृतिको स्वरूप नै परिवर्तन गरेको ठहरिन सक्ने बताउँछिन् ।

त्यसैले आजको तीजलाई न त केवल परम्पराको निरन्तरता भनेर बुझ्न सकिन्छ, न त सामाजिक सञ्जालको प्रदर्शन मात्र । यो परम्परा, प्रविधि र प्रदर्शन संस्कृतिको संगम भएको गायिका पाण्डेको बुझाई रहेको छ । उनका अनुसार अहिले तीजको मौलिकता र डिजिटल युगको आकर्षणबीच नयाँ सन्तुलन खोजिँदैछ । पाण्डे भन्छिन् सायद यही कारणले आजको तीजमा दरसँगै मोबाइल छ, नाचसँगै क्यामेरा छ र गीतसँगै भ्युज पनि छ । उनका अनुसार प्रश्न यति मात्र हो, तीज भाइरल हुँदै गर्दा तीजको मर्म पनि भाइरल हुँदैछ कि छैन ? 

Share News