दरबन्दी एकातिर, वरिष्ठ सहसचिवहरू जगेडामा अर्कोतिर

आठ सहसचिव सामान्य प्रशासनको अतिरिक्त समूहमा, दुईले जागिर नै छाडे

काठमाडौं । सरकारी निकायमा सहसचिवको दरबन्दी रिक्त रहेका बेला भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने आठ सहसचिवलाई जिम्मेवारीविहीन बनाएर अतिरिक्त समूह जगेडामा थन्क्याएको छ । 

जिम्मेवारीविहीन बनाइएका दुई सहसचिवले त सेवा अवधि बाँकी छँदै राजीनामा दिएर सरकारी जागिर छाडिसकेका छन् ।

सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका आठमध्ये चार सहसचिव तीन महिनाभित्रै अनिवार्य अवकाशमा जाँदैछन् । 

तुलसीनाथ गौतम र जयकुमार घिमिरेको त तीन साताभन्दा पनि कम सेवा अवधि बाँकी रहेको निजामती किताव खानाको तथ्यांकले देखाएको छ । गौतम असोज १३ गते र घिमिरे असोज १४ गते ५८ वर्ष पूरा गरी अनिवार्य अवकाशमा जाँदैछन् ।

बागमती प्रदेश लोक सेवा आयोगको सचिवबाट सामान्य प्रशासनको अतिरिक्त समूहमा तानिएका गौतम र मधेस प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको सचिवबाट जगेडामा ल्याइएका घिमिरेलाई अवकाशको मुखमा जिम्मेवारीविहीन बनाइएको हो ।

अब केही सातामै अवकाशमा जाने अधिकारीलाई नयाँ जिम्मेवारी दिन कठिन हुने भए पनि उनीहरूलाई प्रदेशबाट फिर्ता गरेर जगेडामा राखिएकोमा उच्च प्रशासकहरूले असन्तुष्टि जनाएका छन् ।

त्यस्तै, थारू आयोगबाट सामान्य प्रशासन मन्त्रालयमा तानिएका रूद्रप्रसाद लामिछाने कार्तिक १८ गते ५८ वर्ष पूरा गर्दैछन् । उनको करिब डेढ महिना मात्रै सेवा अवधि बाँकी छ । 

सुशील ढकालको पनि मंसिर ११ गते अनिवार्य अवकाश हुने भएकाले करिब साढे दुई महिनामात्र जागिर बाँकी छ । स्वास्थ्यमा समस्या रहेका ढकालसमेत अतिरिक्त समूहमा छन् ।

जगेडामा रहेका वेदप्रसाद खरेल र कृष्णबहादुर शाहीको भने आगामी वैशाखसम्म सेवा अवधि छ । खरेल वैशाख ७ गते र शाही वैशाख २० गते ५८ वर्ष पूरा गरी अवकाशमा जाँदैछन् । उनीहरूको सेवा अवधि अझै छ महिनाभन्दा बढी रहेकाले रिक्त दरबन्दीमा व्यवस्थापन गर्न सकिने अवस्था भए पनि दुवैलाई जगेडामै राखिएको छ ।

मन्त्रालयका एक उच्च अधिकारी वरिष्ठ सहसचिवहरूलाई यसरी जगेडामा राख्दा अरू कर्मचारीको पनि मनोबल खस्किने बताउँछन् ।

सहसचिवहरू शंकरहरि आचार्य र युगराज पाण्डेको अवस्था झन् फरक रहेको ति अधिकारीले दाबी गरे । आचार्यको २०८४ कार्त्तिकसम्म सेवा अवधि बाँकी रहेका आचार्यलाई कार्यस्थलवाट तानेर जगेडामा राख्नु निजामती सेवाको अपमान भएको मन्त्रालयका ती उच्च अधिकारी बताउँछन् । पाण्डेको अझै पाँच वर्षभन्दा बढी सरकारी सेवा बाँकी छ ।

तर, भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा रहेका पाण्डेलाई तत्काल जिम्मेवारी दिन सकिने अवस्था छैन ।

‘उच्च प्रशासनिक तहका अधिकारीलाई जिम्मेवारीविहीन बनाउने क्रमकै बीच दुई सहसचिवले जागिर छाड्नुले कर्मचारी व्यवस्थापनको वर्तमान अभ्यासमाथि थप प्रश्न उठाएको छ,’ मन्त्रालयका ती अधिकारीले दाबी गरे ।

जगेडामा पुगेका सहसचिव विनोद लामिछाने र चन्द्रबहादुर शिवाकोटीले भने राजीनामा दिएर सेवा छाडिसकेका छन् ।

यसबीच नेपाल प्रशासन सेवाका सहसचिव ओमबहादुर खड्का दुई सातापछि, सन्तोषकुमार दाहाल तीन सातापछि र हरिशरण पुडासैनी पाँच सातापछि अनिवार्य अवकाशमा जाँदैछन् । यसले आगामी दिनमा पनि सहसचिव व्यवस्थापनमा थप दबाब पर्ने देखिएको छ ।

सरकारको प्रशासन व्यवस्थापन, दरबन्दी र जनशक्ति व्यवस्थापनबीच तालमेल हुन नसक्दा एकातिर निकायहरूमा उच्च तहका पद रिक्त हुने र अर्कोतिर अनुभवी सहसचिवलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राख्ने अवस्था देखिएको छ ।

Share News