गुल्मी कांग्रेसमा इतर पक्षले छुट्टै जिल्ला समिति बनाउँदै

वेद थापा मगर र रविन्द्र घिमिरे ।

काठमाडौं । नेपाली कांग्रेस गुल्मीमा संस्थापन र इतर पक्षबीचको विवाद संगठनात्मक विभाजनतर्फ उन्मुख भएको छ । 

विशेष महाधिवेशन पक्षधरको क्षेत्रीय अधिवेशन चलिरहेका बेला इतर पक्षले छुट्टै जिल्ला समिति घोषणा गर्ने तयारी गरेको हो ।

इतर पक्षले कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेद थापा मगरको संयोजकत्वमा २३ सदस्यीय जिल्ला समिति घोषणा गर्न लागेको हो । 

पहिलो चरणमा संयोजक, सचिव, दुई संघीय निर्वाचन क्षेत्रका संयोजक, चार प्रदेशसभा क्षेत्रका संयोजकसहित केही जिल्ला सदस्य घोषणा गर्ने तयारी रहेको थापाले जानकारी दिए ।

प्रस्तावित समितिको सचिवमा रविन्द्र घिमिरे रहने थापाले बताए । संयोजक थापाका अनुसार संघीय निर्वाचन क्षेत्र नम्बर १ को संयोजकमा मार्कण्डेय भण्डारी र क्षेत्र नम्बर २ को संयोजकमा विष्णु अर्याल रहने छन् ।

जिल्ला सदस्यमा कांग्रेसका पुराना नेता तथा पूर्व सांसद झकबहादुर पुन र लुम्विनी प्रदेश योजना आयोगका पूर्व सदस्य डा. दामोदर भुसाललगायतलाई समेटिएको छ । सदस्यमा मौसम भण्डारी रहेका छन् ।

थापाका अनुसार तत्काल घोषणा गरिने समिति प्रारम्भिक संरचना हो । विशेष महाधिवेशन पक्षमा रहेका केही नेता–कार्यकर्ता समेत आफूहरूसँग जोडिने तयारीमा रहेकाले उनीहरूलाई समेटेर समितिलाई पूर्णता दिइनेछ । 

थापाका अनुसार १७ गते जिल्ला समिति घोषणाको तयारी रहेको छ ।

पार्टीको जिल्ला अधिवेशन तथा संगठनात्मक संरचनालाई लिएर गुल्मी कांग्रेसमा लामो समयदेखि संस्थापन र इतर पक्षबीच मतभेद रहँदै आएको छ । 

पछिल्लो समय विशेष महाधिवेशनको प्रक्रियालाई लिएर विवाद चर्किएपछि दुवै पक्षले छुट्टाछुट्टै संगठनात्मक गतिविधि अघि बढाएका छन् ।

क्षेत्रीय अधिवेशनको प्रक्रिया अघि बढिरहेका बेला इतर पक्षले जिल्ला तहकै छुट्टै संरचना घोषणा गर्न लागेपछि गुल्मी कांग्रेसको विवाद अब नेतृत्वको असहमतिको सीमाबाट संगठन सञ्चालनकै प्रश्नमा पुगेको देखिएको छ ।

इतर पक्षले घोषणा गर्न लागेको समितिले जिल्लाका दुई संघीय निर्वाचन क्षेत्र र चार प्रदेशसभा क्षेत्रमा समेत समानान्तर संगठनात्मक संरचना निर्माण गरिरहेको छ ।

गुल्मी कांग्रेसमा सभापतिको दौड सुरु, पन्थीलाई चुनौती दिँदै तीन आकांक्षी
 

Share News