विपद्का घटनामा २१ जनाको मृत्यु, ५ जना बेपत्ता

काठमाडौं । पछिल्लो समय देशका विभिन्न भागमा आएको बाढी, पहिरो, चट्याङ र अविरल वर्षाका कारण २१ जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् । 

प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार साँझ सामाजिक सञ्जालमार्फत असोज ८ गतेदेखि हालसम्म भएका मनसुनजन्य विपद्का घटनामा ठूलो मानवीय तथा भौतिक क्षति भएको जानकारी दिएका हुन् । 

प्रधानमन्त्री शाहका अनुसार म्याग्दी, डोल्पा, धनुषा, पाल्पा, बाग्लुङ, लमजुङ, रुकुम पश्चिम, काभ्रे, धादिङ, मकवानपुर र सुर्खेत लगायतका जिल्लामा गरी २१ जनाको ज्यान गएको छ । 

उनले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइएको र बेपत्ताहरूको खोजी जारी रहेको बताएका छन् । 

देशभर ४३९ वटा मनसुनजन्य घटना दर्ता भएका छन् । विपद्का कारण गाउँ तथा सहरहरू डुबानमा परेका छन् भने सडक, पुल, खानेपानी र जलविद्युत् आयोजना जस्ता पूर्वाधारमा गम्भीर क्षति पुगेको छ ।

बाढीका कारण नारायणी नदीमा क्रुजसिप बगेर पुलमा अड्किएपछि पूर्व-पश्चिम राजमार्ग बन्द गरिएको छ ।पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कान्ति लोकमार्ग लगायत काठमाडौं उपत्यका जोड्ने मुख्य सडकहरू प्रभावित भएका छन् । 

कालीगण्डकीको पक्की पुल बगेको छ भने मर्मत गरिएका भोटेकोशी-त्रिशूली नदी तटीय सडकमा पुनः क्षति पुगेको छ । महाकाली नदीमा जलसतह बढेकाले कञ्चनपुरको गड्डाचौकी सीमाबाट हुने आवागमन रोकिएको छ ।

बाढी-पहिरोका कारण राष्ट्रिय प्रसारण लाइनबाट १ हजार १३.२ मेगावाट विद्युत् आपूर्ति ठप्प भएको छ ।

प्रसारण टावर ढलेका कारण ३१८ मेगावाटका आयोजना बन्द भएका छन् भने सम्भावित जोखिम टार्न ६९५.२ मेगावाटका आयोजना स्वयं बन्द गराइएको छ ।

हावाहुरी र वर्षाले किसानको धान तथा तरकारी बालीमा ठूलो क्षति पुर्याएको छ । प्रधानमन्त्री शाहले विपद्को समयमा नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो कर्तव्य भएको दोहोर्याउँदै प्रभावितहरूका लागि अस्थायी बसोबास र उद्धारको काम निरन्तर भइरहेको बताए ।

जोखिम अझै कायम रहेकाले तटीय तथा पहाडी क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन र अत्यावश्यक कामबाहेक यात्रा नगर्न उनले आग्रह गरेका छन् । 

कुनै पनि संकट परेमा निःशुल्क नम्बर १२३४ मा सम्पर्क गर्न आग्रह गर्दै प्रधानमन्त्रीले संकटको बेला भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने वा कालोबजारी गर्नेहरूमाथि सरकारले कडा निगरानी राखिरहेको चेतावनीसमेत दिएका छन् । 

Share News