कलेजो प्रत्यारोपणका नयाँ उपचार विधिबारे काठमाडौंमा डा. अभिदीप चौधरीको अन्तरक्रिया

काठमाडौं । कलेजो रोग तथा कलेजो प्रत्यारोपणका क्षेत्रमा विकसित हुँदै आएका नयाँ उपचार विधि, शल्यक्रिया प्रविधि तथा चिकित्सकीय अनुभव आदान-प्रदान गर्ने उद्देश्यले काठमाडौंमा कलेजो प्रत्यारोपणसम्बन्धी विशेष चिकित्सकीय सम्मेलन सम्पन्न भएको छ ।

म्याक्स हेल्थकेयरको आयोजनामा दरबारमार्गस्थित होटल याक एन्ड यतिमा सम्पन्न सम्मेलनमा नेपालका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत वरिष्ठ चिकित्सकहरूको सहभागिता रहेको थियो । 

सम्मेलनमा भारतको नयाँ दिल्लीस्थित बीएलके-म्याक्स सुपर स्पेसियलिटी अस्पतालका कलेजो तथा कलेजो प्रत्यारोपण विभागका अध्यक्ष तथा प्रमुख डा. अभिदीप चौधरी प्रमुख वक्ताका रूपमा सहभागी भएको थिए ।

सम्मेलनमा डा. चौधरीले कलेजो प्रत्यारोपणका क्रममा गरिने जटिल शल्यक्रिया तथा कलेजोसम्बन्धी रोगको आधुनिक उपचार पद्धतिबारे चिकित्सकहरूसँग आफ्नो लामो अनुभव र विशेषज्ञता साझा गरे ।

उनले कलेजो प्रत्यारोपणका लागि बिरामी छनोट, शल्यक्रियाअघि गरिने तयारी, प्रत्यारोपणका क्रममा अपनाइने आधुनिक प्रविधि, जटिल अवस्थाको व्यवस्थापन तथा प्रत्यारोपणपछि बिरामीको हेरचाहलगायत विषयमा विस्तृत प्रस्तुति दिए । 

उनले कलेजोसम्बन्धी रोगको समयमै पहिचान, सही उपचार योजना तथा विभिन्न विधाका विशेषज्ञ चिकित्सकबीचको समन्वय उपचारको महत्वपूर्ण पक्ष रहेको बताए । डा. अभिदीप चौधरीसँग १८ वर्षभन्दा बढीको चिकित्सकीय अनुभव रहेको छ । 

उनले हालसम्म २ हजारभन्दा बढी कलेजो तथा कलेजोसम्बन्धी जटिल शल्यक्रिया र कलेजो प्रत्यारोपण गरिसकेका थिए । 

उनी हाल नयाँ दिल्लीस्थित बीएलके-म्याक्स सुपर स्पेसियलिटी अस्पतालमा कलेजो तथा कलेजो प्रत्यारोपण विभागका अध्यक्ष तथा प्रमुखका रूपमा कार्यरत छन् ।

डा. चौधरीले संयुक्त राज्य अमेरिकाको पिट्सबर्गस्थित थोमस स्टार्जल प्रत्यारोपण संस्थान तथा पिट्सबर्ग विश्वविद्यालय चिकित्सा केन्द्रमा प्रत्यारोपण शल्यक्रियासम्बन्धी विशेष प्रशिक्षण तथा व्यावसायिक अनुभवसमेत हासिल गरेसकेका छन् । 


सम्मेलनमा सहभागी चिकित्सकहरूले कलेजो प्रत्यारोपण तथा कलेजोसम्बन्धी जटिल रोगको उपचारमा विकसित भइरहेका नयाँ प्रविधि र उपचार विधिबारे डा. चौधरीसँग प्रत्यक्ष छलफल गरेका थिए । 


कार्यक्रममा चिकित्सकहरूले आफ्ना अनुभव तथा जटिल उपचारका क्रममा देखिने चुनौतीहरूबारे समेत विचार आदान-प्रदान गरेका थिए । सम्मेलनले नेपाल र भारतका चिकित्सकबीचको चिकित्सकीय सहकार्य तथा विशेषज्ञ ज्ञान आदान-प्रदानलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

नेपालमा कलेजोसम्बन्धी जटिल रोगको उपचार तथा कलेजो प्रत्यारोपणका क्षेत्रमा कार्यरत चिकित्सकलाई अन्तर्राष्ट्रिय स्तरमा विकसित उपचार विधि र विशेषज्ञ अनुभवसँग जोड्ने अवसरका रूपमा सम्मेलनलाई लिइएको थियो ।

म्याक्स हेल्थकेयरले नेपालमा यस्ता चिकित्सकीय तथा शैक्षिक कार्यक्रमलाई निरन्तरता दिँदै नेपाली चिकित्सकसँग सहकार्य विस्तार गर्ने, विशेषज्ञ ज्ञान आदान-प्रदान गर्ने तथा जटिल रोगको उपचारमा नयाँ प्रविधि र उपचार पद्धतिबारे जानकारी उपलब्ध गराउने उद्देश्य राखेको जनाएको छ ।

कार्यक्रममा बोल्दै म्याक्स हेल्थकेयरका नेपालका लागि वरिष्ठ प्रबन्धक सबिन कार्कीले नेपालप्रति संस्थाको दीर्घकालीन प्रतिबद्धता दोहोर्याए । उनले भविष्यमा पनि यस्ता शैक्षिक तथा चिकित्सकीय कार्यक्रमलाई निरन्तरता दिँदै नेपाली चिकित्सकसँग सहकार्य विस्तार गर्ने, कलेजो तथा प्रत्यारोपणसम्बन्धी विशेषज्ञ ज्ञान आदान-प्रदानलाई थप सुदृढ बनाउने र जटिल रोगका बिरामीलाई आवश्यक विशेषज्ञ सेवा तथा उपचारको पहुँच सहज बनाउने उद्देश्य रहेको बताए ।

यस्ता कार्यक्रमले नेपाली चिकित्सकलाई अनुभवी विशेषज्ञसँग प्रत्यक्ष ज्ञान तथा अनुभव आदान-प्रदान गर्ने अवसर प्रदान गर्नुका साथै बिरामीको उपचारमा आधुनिक तथा प्रभावकारी उपचार विधिबारे जानकारी विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

सम्मेलनको समापन चिकित्सकहरूबीच आपसी परिचय, अनुभव आदान-प्रदान तथा आगामी दिनमा चिकित्सकीय सहकार्य विस्तारका सम्भावनाबारे छलफलसहित गरिएको थियो ।

Share News