काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउने सहमति गरेको छ ।
भोलिदेखि बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न आइतबार अपराह्न बसेको सचिवालय बैठकले राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउने निर्णय गरेको हो ।
एमाले महासचिव शंकर पोखरेलका अनुसार सचिवालयको १०औँ बैठकले यसअघि कार्यदलले तयार पारेको प्रतिवेदन अनुमोदन गरेको छ ।
उपाध्यक्ष एवं कार्यदलका संयोजक रामबहादुर थापाले पेस गरेको प्रतिवेदनमाथि सचिवालय बैठकले छलफल गरी त्यसलाई अन्तिम रूप दिएको हो ।
कार्यदलका संयोजक थापा र महासचिव पोखरेलले तयार पारेका प्रतिवेदनलाई संयोजन गरी एकीकृत प्रतिवेदन तयार पारिएको थियो ।
सोही प्रतिवेदनलाई सचिवालय बैठकले अनुमोदन गरेको हो ।
यसअघि अध्यक्ष केपी शर्मा ओलीको निर्देशनअनुसार पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले प्रतिवेदनको पुनर्लेखन तथा सम्पादन गरेका थिए ।
पछिल्लो प्रतिवेदनमा देशभरबाट प्राप्त सुझावलाई अनुसूचीका रूपमा समावेश गरिएको छ।
यस क्रममा ‘ओलीको तत्काल राजीनामा (पुनर्गठन)’ भन्ने शब्दावली भने हटाइएको छ ।
कार्यदल र सचिवालय बैठकबाट प्रतिवेदनलाई अन्तिम रूप दिएसँगै भोलिदेखि बस्ने केन्द्रीय कमिटी बैठकका लागि आवश्यक सबै एजेन्डा तय भएको एमालेले जनाएको छ ।