पाल्पामा १६१ मिलिमिटर वर्षा, देशभर बाढी-पहिरोको जोखिम

विभिन्न विपद्का २६ घटना दर्ता

फाइल तस्बिर ।

काठमाडौं । देशभर बिहीबार (आज) बिहानदेखि निरन्तर वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ । भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव र भू-क्षयको जोखिम बढेपछि सरकारले विभिन्न निकायमार्फत सूचना प्रवाह, माइकिङ तथा सचेतनामूलक गतिविधि तीव्र बनाएको छ ।

विभागका अनुसार बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय क्षेत्र भारतको विशाखापट्टनम र गोपालपुरबीचको क्षेत्र हुँदै उत्तरपश्चिमतर्फ सर्दैछ ।

आगामी २४ घण्टामा उक्त प्रणाली उत्तर–उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार बिहीबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार पाल्पाको बल्ड्याङगढीमा सबैभन्दा धेरै १६१ मिलिमिटर वर्षा मापन भएको छ ।

देशभर वर्षा भइरहे पनि अहिलेसम्म ठूलो खालको बाढी तथा पहिरोबाट जनधनको क्षति भएको जानकारी नआएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार केही स्थानमा पहिरोका कारण सडक अवरुद्ध भएको जानकारी आएको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै वर्षा भएको विभागले जनाएको छ । मधेशका केही स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा हावाहुरी चलेको छ ।

कस्तो छ आगामी ३ दिनको मौसम ?

शुक्रबार पनि देशभर अधिकांश भू–भागमा बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने विभागले जनाएको छ । शुक्रबार रातिसमेत विभिन्न भू–भागमा वर्षाको सम्भावना कायमै रहनेछ ।

शनिबार र आइतबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकीका तराई भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुनसक्ने विभागको पूर्वानुमान छ ।

एकैदिन विपद्का २६ घटना 

प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा २३ जिल्लामा विभिन्न विपद्का २६ घटना दर्ता भएका छन् । ती घटनामा परी एक जनाको मृत्यु र १५ जना घाइते भएका छन् । दुई स्थानमा सडक अवरोध भएको छ । उद्धार तथा व्यवस्थापनका लागि ११३ जना प्रहरी परिचालन गरिएको प्राधिकरणले जनाएको छ । 

भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात र उद्धार तथा राहत कार्यसमेत प्रभावित हुनसक्ने विभागको चेतावनी छ ।

सम्भावित विपद्का घटनालाई ध्यानमा राख्दै उद्धार तथा राहतका लागि प्रतिकार्य टोली तयारी अवस्थामा राखिएको सम्बन्धित निकायले जनाएको छ ।

Share News