१ अर्ब बढीको हुण्डी कारोबारमा धरानका शाही पक्राउ

काठमाडौं । प्रहरीले १ अर्ब ३ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको आरोपमा सुनसरीबाट एक जनालाई पक्राउ गरेको छ ।

सुनसरीको धरान उपमहानगरपालिका- १३ निवासी ज्योति शाही पक्राउ परेका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गोप्य सूचना प्राप्त भएपछि शाहीमाथि अनुसन्धान तथा विश्लेषण गरेकाे थियाे ।

प्रहरीका अनुसार शाहीले घरेलु तथा साना उद्योग कार्यालय, इटहरीमा २०६८ भदौ १६ गते दर्ता भएको ‘शाही मनि ट्रान्सफर’ को नामबाट कृषि विकास बैंक, सेन्चुरी कमर्सियल बैंक, ग्लोबल आइएमई बैंकलगायत ५२ वटा बैंक तथा वित्तीय संस्थामा खाता खोली तथा सञ्चालन गरेका थिए ।

ती खाताहरूको प्रयोग गरी विभिन्न असम्बन्धित व्यक्तिले विदेशमा आर्जन गरेको रकम अनौपचारिक माध्यमबाट नेपालमा भित्र्याइएको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

उनले विदेशबाट आएको रकमलाई स-साना भागमा विभाजन गरी कनेक्ट आईपीएसलगायत विद्युतीय डिजिटल माध्यममार्फत असम्बन्धित व्यक्तिहरूको बैंक खातामा रकम पठाउँदै आएका थिए ।

करिब १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८४५ रुपैयाँ हुण्डीमार्फत कारोबार भएको प्रहरीको दाबी छ ।

सीआईबी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले शाहीलाई बिहीबार (आज) करिब पौने ५ बजे धरान उपमहानगरपालिका–५ खैरेनीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका शाहीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share News