काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलबीच दूरी बढेको संकेत देखिएको छ । बैठक सञ्चालनको प्रक्रिया, एजेण्डा तय गर्ने शैली र नेताहरूमाथि प्रस्तावित कारबाहीका विषयमा असन्तुष्टि जनाउँदै पोखरेलले ओलीलाई पार्टीको स्थापित विधि मिचेर अघि बढे आफूहरूले प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
सोमबार ललितपुरमा सुरु भएको केन्द्रीय कमिटी बैठकको उद्घाटन सत्र सकिएपछि महासचिव पोखरेल ओलीसँग छलफल गर्न भक्तपुरको गुण्डुस्थित निवास पुगेका थिए । साँझ करिब ७ बजे गुण्डु पुगेका पोखरेल राति १०ः३० बजे त्यहाँबाट फर्किएका थिए ।
ओलीको सचिवालयका अनुसार भेटवार्ता अधिकांश समय अध्यक्ष र महासचिवबीच मात्रै भएको थियो । बीचमा सुदूरपश्चिमका केही नेतासँग करिब १५ मिनेट छलफल भए पनि बाँकी समय ओली र पोखरेलबीचै कुराकानी भएको सचिवालयका एक सदस्यले बताए ।
पोखरेलनिकट एक पदाधिकारीका अनुसार महासचिवले बैठकलाई एकलौटी ढंगले सञ्चालन गर्ने प्रयास दोहोरिए त्यसको प्रतिवाद हुने स्पष्ट संकेत ओलीलाई दिएका छन् । सोमबारको बैठकमा प्रस्तुत प्रस्ताव र एजेण्डाबारे पर्याप्त छलफल तथा सरसल्लाह नभएको भन्दै पोखरेलले असन्तुष्टि जनाएका थिए ।
बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेका प्रस्तावलाई तत्काल अनुमोदन गराउने र त्यसपछि बैठक टुंग्याउने तयारी भएको सूचना पाएपछि पोखरेल छलफलका लागि गुण्डु पुगेको स्रोतको दाबी छ । पोखरेलले बैठक सञ्चालनको स्थापित विधि र पार्टीभित्रको संस्थागत प्रक्रियालाई बेवास्ता गरेर अघि नबढ्न ओलीलाई आग्रह गरेको बताइएको छ ।
यसैबीच, उपमहासचिव योगेश भट्टराई, पूर्वपोलिट्ब्यूरो सदस्य कर्ण थापालगायत नेतामाथि ‘पार्टी अनुशासन उल्लंघन’ को आरोपमा कारबाही प्रक्रिया अघि बढाउने तयारी भएको चर्चाले पनि एमालेभित्र असन्तुष्टि बढाएको छ। यही विषयमा समेत पोखरेलले ओलीसँग चासो राखेको उनीनिकट नेताहरूको भनाइ छ ।
यसअघि भानुभक्त ढकाल र विशाल भट्टराई पनि गुण्डु पुगेका थिए । उनीहरूसहित केहीबेर छलफल भएपछि ओली र पोखरेलबीच छुट्टै भेटवार्ता भएको थियो ।
एमाले केन्द्रीय कमिटीको बैठकमा मंगलबार महासचिव पोखरेलको सांगठनिक प्रतिवेदन तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदलको प्रतिवेदन पेश गर्नुपर्ने माग केही केन्द्रीय सदस्यहरूले उठाउने तयारी गरेका छन् । बैठकमा यी प्रतिवेदन प्रस्तुत हुने वा अध्यक्ष ओलीले अघि सारेका प्रस्तावकै आधारमा छलफल अगाडि बढ्ने भन्ने विषयले आजको बैठकमा थप तनाव सिर्जना गर्न सक्ने देखिएको छ ।